साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले भारतको कोलकत्ता बन्दरगाहमा भर्खरै १५ लाख २३ हजार बोरा रासायनिक मल प्राप्त गरेको जनाएको छ। ती मल नेपाल भित्र्याउने काम तीव्र गतिमा भइरहेको र कर्पोरेशनका विभिन्न गोदाममा पुर्याउने क्रम जारी रहेको छ।
कर्पोरेशनले आयात गरेको मलमध्ये ४ लाख ४० हजार बोरा युरिया र १० लाख ८३ हजार बोरा डिएपी रहेको छ। गोदाममा भण्डारण भइरहेका यी मलहरूको कोटा वितरणका लागि प्रदेश सरकारलाई पत्राचार भइसकेको र प्रदेश सरकारमार्फत पालिकामा कोटा तोकिएको जानकारी कर्पोरेशनले दिएको छ।
शुक्रबार जारी विज्ञप्तिमा कर्पोरेशनले भनेको छ–
“कर्पोरेशनमा दर्ता भएका सम्पूर्ण डिलरहरूले आफ्नो पालिका तथा सम्बन्धित कार्यालयसँग समन्वय गरी कोटाअनुसार मल बिक्री वितरण गर्न आग्रह गरिन्छ।”
हाल बजारमा रासायनिक मलको अभाव भएको समाचार विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा चर्चामा आएपछि कर्पोरेशनले ध्यानाकर्षण भएको जनाएको छ। कर्पोरेशनले पर्याप्त मात्रामा मल भित्र्याइने काम जारी रहेकाले किसानलाई आवश्यकताअनुसार मल उपलब्ध हुने स्पष्ट पारेको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस