नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नो पार्टीको पूर्ण समर्थन रहेको बताएका छन्। मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित पुस्तक लोकार्पण समारोहमा बोल्दै उनले ओलीसँगको पुरानो सम्बन्ध र मित्रवत् भावना कायम रहेको उल्लेख गरे।
पूर्वउपप्रधानमन्त्री एवं कांग्रेस नेतृ सुजाता कोइरालाद्वारा लिखित 'म र मेरो सानोबुबा' आत्मकथाको विमोचन कार्यक्रममा देउवाले "ओलीजी र हाम्रो पार्टीबीच सहमति भएको छ। उहाँ र म जेलमा सँगै बसेका हौँ, हाम्रो सम्बन्ध सधैं राम्रो रहन्छ। कांग्रेसको पूर्ण समर्थन छ" भन्दै ओलीसँगको सम्बन्ध मजबुत रहेको बताए।
यही कार्यक्रममा प्रधानमन्त्री ओलीले भने देउवाको एउटा निर्णयप्रति असन्तुष्टि जनाए। उनले कुलमान घिसिङलाई दोस्रो कार्यकालका लागि नियुक्त गर्नु गल्ती भएको टिप्पणी गर्दै भने, "हिजो काम गरेको एक जनालाई हटाएर काम नभएको पदमा सरुवा गरियो, अनि रिटायर्डलाई ल्याएर राखियो।"
ओलीले लोडसेडिङ हटाउनका लागि विभिन्न सरकारहरूले गरेको योजनाको प्रभाव रहेको भन्दै "नेपालमा लोडसेडिङ अन्त्य गर्ने जस केवल कुलमान घिसिङलाई मात्र दिनु गलत हुन्छ" भने।
कार्यक्रममा देउवा र ओलीबीच राजनीतिक प्रतिस्पर्धा भए पनि व्यक्तिगत मित्रता कायम रहेको सन्देश दिने प्रयास देखिएको थियो।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस