संघीय संसद भवन, नयाँ बानेश्वरमा आज पुनः प्रतिनिधिसभा बैठक बस्ने तय भए पनि संसदको वातावरण अझै अस्थिर छ। बिहान ११ः०० बजे बैठक बोलाइए पनि सत्ता पक्ष र प्रतिपक्षबीच जारी तनावका कारण बैठक सुचारू हुने वा अवरोध कायमै रहने भन्ने अन्योल छ।
संसद सचिवालयका अनुसार आजको बैठकमा अर्थ, गृह, भौतिक पूर्वाधार तथा यातायात, तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसम्बन्धी मौखिक प्रश्नहरूको उत्तर दिन सम्बन्धित मन्त्रीहरू उपस्थित हुने कार्यसूचीमा उल्लेख गरिएको छ। साथै, ‘बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८०’ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिने तय गरिएको छ।
त्यस्तै, पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहले जलस्रोत विधेयक सम्बन्धी समितिको प्रतिवेदन पेश गर्नेछन्, भने उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खडकाले ‘नवीकरणीय उर्जा तथा उर्जा दक्षता सम्बन्धी विधेयक, २०८१’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव संसदमा प्रस्तुत गर्नेछन्।
सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने निर्णय गरेपछि संसद गत बुधवारदेखि अवरुद्ध हुँदै आएको छ। प्रतिपक्षी दलहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसदमा आएर स्पष्टीकरण दिनुपर्ने अडान कायमै राखेका छन्।
तर, प्रधानमन्त्री ओलीले ‘एक जना कर्मचारीको नियुक्तिबारे संसदमा जवाफ दिनु अनावश्यक’ भन्दै स्पष्ट अस्वीकार गरेपछि सत्ता पक्ष र प्रतिपक्षबीच झनै टकराव बढेको छ। संसदमा विपक्षी दलहरूले घिसिङ हटाइएपछि सरकारको नीतिगत असफलता उजागर भएको दाबी गर्दै निरन्तर अवरोध गरिरहेका छन्।
यसैबीच, संसद सञ्चालनमा अवरोध नहोस् भन्ने उद्देश्यले सभामुख देवराज घिमिरेले विभिन्न दलका प्रमुख सचेतकहरूसँग दिनभर छलफल गरे पनि समाधान निकाल्न असफल भए। बुधवार स्थगित भएको संसद बैठक आज पुनः बस्ने भनिए पनि प्रतिपक्षको कडा अडान कायमै रहेकोले फेरि अवरुद्ध हुने सम्भावना उच्च देखिएको छ।
अब प्रतिनिधिसभा बैठक सत्ता पक्ष र प्रतिपक्षको घम्साघम्सीका बीच सञ्चालन हुन्छ वा फेरि स्थगित गरिन्छ? राजनीतिक वृत्तमा चासोको विषय बनेको छ!
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस