Like us!
Follow us!
Connect us!
Watch us!

आगामी बजेटमा ‘स्मार्ट’ योजना मात्र प्रस्ताव गर्न अर्थमन्त्रीको आग्रह

अर्थ संसार

शुक्रबार, १५ चैत्र २०८१, ११ : ०२ मा प्रकाशित

आगामी बजेटमा ‘स्मार्ट’ योजना मात्र प्रस्ताव गर्न अर्थमन्त्रीको आग्रह

 

आर्थिक वर्ष २०८२/८३ को बजेट निर्माणका लागि अर्थ मन्त्रालयले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँगको बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्मार्ट कार्यक्रम तथा प्रभावकारी योजना प्रस्ताव गर्न सुझाएका छन् ।

छलफलका क्रममा विगतका कार्यक्रम र योजनाको समिक्षा गरी गैर–आवश्यक योजना हटाउन, समायोजन गर्न र बदलिँदो समयअनुसार नागरिकको आवश्यकतालाई सम्बोधन गर्ने स्मार्ट कार्यक्रम र योजनाहरू समावेश गर्न पनि उनले निर्देशन दिएका हुन् ।

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटको मात्रात्मक अंकभन्दा नीतिगत रूपान्तरणलाई प्राथमिकतामा राख्न निर्देशन दिएका छन्। उनले संघीयताको मूल मर्म र भावना अनुसार संघ, प्रदेश र स्थानीय तहको भूमिका स्पष्ट हुनुपर्ने बताए । संघमा रहेका कार्यक्रम तथा आयोजनाहरू आवश्यकताअनुसार प्रदेश र स्थानीय तहमा हस्तान्तरण गर्दै तीन तहका सरकारबीच समन्वय र साझेदारी बलियो बनाउन उनले जोड दिए ।

कार्यक्रम र योजनाको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्न उनले तीन करोड रुपैयाँभन्दा कम लागतका आयोजनाहरू संघीय बजेटमा समावेश नगर्न अनुरोध गरे । साथै, योजनाहरू प्राथमिकता निर्धारण गरी कार्यान्वयन चरणमा लैजानेतर्फ ध्यान दिन उनले सम्बद्ध मन्त्रालयलाई निर्देशन दिए ।

बजेट प्रस्ताव पेश गर्दा अनावश्यक रकमान्तर र शोधान्तर गर्न नपर्ने गरी यथार्थपरक योजना ल्याउन अर्थमन्त्रीले आग्रह गरे । उपलब्ध साधन स्रोतलाई ध्यानमा राखी जनताको आकांक्षा र राष्ट्रको आवश्यकतासँग मेल खाने अनुशासित तथा प्रभावकारी बजेट ल्याउने गरी सरकारको तयारी रहेको उनले बताए ।

यसअघि, अर्थ मन्त्रालयले भौतिक पूर्वाधार, शहरी विकास, सञ्चार, शिक्षा, रक्षा, गृह, खेलकुद, भूमि सुधार, कृषि, खानेपानी, संघीय मामिला, उद्योग, स्वास्थ्य, उर्जा, महिला तथा बालबालिका मन्त्रालयसँग छलफल गरिसकेको छ ।

आगामी दिनमा बाँकी मन्त्रालयहरूसँग समेत छलफल गरी समन्वयात्मक बजेट निर्माण गरिने अर्थ मन्त्रालयले जनाएको छ । अर्थ मन्त्रालयका अनुसार राष्ट्रिय योजना आयोगसहित सम्बन्धित निकायहरूसँग निरन्तर छलफल गरी समावेशी, व्यावहारिक र प्रभावकारी बजेट प्रस्तुत गर्ने लक्ष्य राखिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Laaj sharanam

सम्बन्धित खबर

धेरै पढिएको