संयुक्त जनआन्दोलन समिति र समाजवादी मोर्चाले आयोजना गर्ने विरोध प्रदर्शनलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय, काठमाडौंले आज अपराह्न ४:२५ बजेदेखि राति १०:०० बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरेको छ।
गृह मन्त्रालयको निर्देशनअनुसार प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीद्वारा जारी आदेशमा काठमाडौं महानगरपालिकाभित्र तोकिएका क्षेत्रहरूमा कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ वा आवत-जावत गर्न प्रतिबन्ध लगाइएको छ।
कर्फ्यू आदेश बानेश्वर–तीनकुने क्षेत्रलाई समेट्दै निम्न स्थानहरूमा लागू हुनेछ:
गौशालादेखि एयरपोर्ट, गैरीधारा, तीनकुने हुँदै कोटेश्वरसम्म
कोटेश्वरदेखि जडिबुटी पुल र बालकुमारी पुलसम्म
बानेश्वर चोकदेखि शंखमुल पुलसम्म
गौशाला चोकदेखि पुरानो बानेश्वर हुँदै नयाँ बानेश्वर चोकसम्म
राजधानीको शान्ति सुरक्षालाई मध्यनजर गर्दै प्रशासनले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६क बमोजिम कर्फ्यू आदेश जारी गरेको हो। पछिल्ला केही दिनदेखि काठमाडौंमा राजनीतिक प्रदर्शनहरू बढिरहेका छन्, जसले सम्भावित अशान्तिको जोखिम बढाएको छ।
प्रहरी प्रशासनले कर्फ्यू लागू भएका क्षेत्रमा व्यापक सुरक्षाकर्मी परिचालन गरिसकेको छ। सम्भावित प्रदर्शनलाई नियन्त्रण गर्न सशस्त्र प्रहरी, नेपाल प्रहरी र दंगा नियन्त्रण बलहरू विभिन्न स्थानमा तैनाथ गरिएको छ।
प्रशासनले कर्फ्यू उल्लंघन गर्ने जो कोहीलाई कानूनी कारबाही गरिने चेतावनी दिएको छ। नागरिकलाई अनावश्यक आवतजावत नगर्न र प्रशासनको निर्देशन पालना गर्न आग्रह गरिएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस