Like us!
Follow us!
Connect us!
Watch us!

द्वन्द्वकालमा भएका अमानवीय र जघन्य अपराधलाई माफी दिन सकिँदैन - प्रधानमन्त्री ओली

अर्थ संसार

विहीबार, ०४ बैशाख २०८२, १६ : ०५ मा प्रकाशित

द्वन्द्वकालमा भएका अमानवीय र जघन्य अपराधलाई माफी दिन सकिँदैन - प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले संक्रमणकालीन न्यायलाई अन्तिम टुङ्गोमा पुर्‍याउँदा द्वन्द्वकालमा भएका अमानवीय र जघन्य अपराधलाई माफी दिन नसकिने बताएका छन् ।

बिहीबार नेपाल भूतपूर्व सैनिक तथा प्रहरी संगठनको छैटौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको खोजबिन आयोगबाट पीडितलाई न्याय दिने गरी कार्य सम्पादन हुने बताए । 

उनले ती आयोग गठन प्रक्रियामा अब ढिलाइ नहुने बताउँदै अधिनायकवाद परास्त भई लोकतान्त्रिक प्रणालीमा मुलुक गइसकेकाले अब कुनै बहकावमा लागेर कुनै पनि खालका हत्या, हिंसा, धार्मिक भड्काव र अराजकता स्वीकार्य नहुने स्पष्ट पारे ।

‘अहिले हामी सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा छौँ । यहाँ जनताका बिचमा गएर प्रतिस्पर्धा गर्न पाइन्छ । चुनाव जितेर एमालेले एकल सरकार बनाएर विकास र समृद्धिका लागि अभूतपूर्व कामको थालनी गरेका बेला त्यसबाट त्रसित भएर प्रतिक्रियावादीको उक्साहटमा हामीलाई विस्थापित गरियो । अहिले संयुक्त सरकारका रूपमा हामी सरकारमा छौँ ।’, प्रधानमन्त्री ओलीले भने, ‘हामीसँग राष्ट्र निर्माण र एकताका इतिहास छन् । हामी यो सग्लो नेपाल नयाँ पुस्तालाई हस्तान्तरण गछौँ । हामी सीमाना खुम्चन र राष्ट्रिय स्वाभिमानमा आँच आउन दिनेछैनौँ । हाम्रो सभ्य र सुसंस्कृत समाजलाई कायम राखेर अघि बढ्छौँ ।’

प्रधानमन्त्री ओलीले विविधतायुक्त मुलुकमा सामाजिक सद्भावसहितको राष्ट्रिय एकता आवश्यक भएको र एमालेले त्यस कामको अगुवाइ गरिरहेकाले भूतपूर्व सैनिक तथा प्रहरी सङ्गठनले  देश र पार्टीप्रतिको बफादारितालाई अझ बलियो बनाउनुपर्ने बताए । अध्यक्ष ओलीले यही वैशाख ११ गते लोकतन्त्र दिवसका दिन एमालेले युवाहरूको सम्मेलन गरी जनताको अधिकार र विकासका पक्षमा उत्सव मनाउन आव्हान पनि गरे । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको