नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८१ को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरणअनुसार बैंकले नाफा आर्जनमा सशक्त सुधार देखाए पनि केहि महत्वपूर्ण क्षेत्रहरूमा कमजोरी पनि प्रस्ट देखिएको छ।
चालु आर्थिक वर्षको पहिलो ९ महिनामा बैंकले ४ अर्ब ५४ करोड रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३८.६१ प्रतिशतले बढी हो। अघिल्लो वर्षको सोही अवधिमा बैंकले ३ अर्ब २७ करोड रुपैयाँ मात्र नाफा कमाएको थियो।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ६.५० प्रतिशतले घटेर १० अर्ब ३१ करोड रुपैयाँमा झरेको छ। इम्पेरमेन्ट चार्जमा १ अर्ब ८९ करोड रुपैयाँको गिरावट आएपछि बैंकको नाफा वृद्धि भएको देखिन्छ। अघिल्लो वर्ष ३ अर्ब ४ करोड रुपैयाँ रहेको इम्पेरमेन्ट चार्ज यो वर्ष घटेर १ अर्ब १९ करोडमा सीमित भएको छ।
ब्याज आम्दानी घटेको भए पनि फि तथा कमिशन आम्दानीमा ३३.२४ प्रतिशतले वृद्धि भएको छ, जुन बैंकको आय विविधिकरणतर्फको प्रयासलाई सकारात्मक संकेत दिन्छ।
बैंकको प्रति सेयर आम्दानी (EPS) १७.७४ रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा ४.९४ रुपैयाँले बढी हो। तर, यति ठूलो नाफा आर्जन गरे पनि बैंकको वितरणयोग्य आम्दानी ऋणात्मक १ अर्ब १० करोड रुपैयाँ रहेको छ, जुन सेयरधनीहरूको लागी निराशाजनक पक्ष हो।
Net Interest Income घट्नु बैंकको मुख्य आम्दानी स्रोतमा दबाव आएको स्पष्ट संकेत हो।
वितरणयोग्य आम्दानी ऋणात्मक रहनु भनेको बैंकले बोनस वा नगद लाभांश वितरण गर्न अझै समय लाग्न सक्छ भन्ने बुझिन्छ।
Credit to Deposit Ratio घटेर ७६.७६ प्रतिशत मा सीमित हुनु पनि बैंकको कर्जा विस्तार क्षमतामा कमी आएको देखाउँछ।
Interest Rate Spread घटेर ३.४५ प्रतिशत मात्र रहेको छ, जुन मुनाफाको दायरा संकुचित भएको संकेत हो।
बैंकले ४ खर्ब ५५ अर्ब ८९ करोड रुपैयाँ निक्षेप संकलन गरी ३ खर्ब २७ अर्ब ८२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। यो क्रमशः १३.०१ प्रतिशत र ७.३१ प्रतिशतले अघिल्लो वर्षको तुलनामा वृद्धि भएको हो।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले नाफा आर्जन र EPS मा राम्रो प्रगति गरे पनि वितरणयोग्य आम्दानी ऋणात्मक रहनु र ब्याज आम्दानीमा गिरावट हुनु बैंकको दीर्घकालीन वित्तीय स्थायित्वका लागि चिन्ताको विषय बन्न सक्छ। व्यवस्थापनले अब आम्दानीको स्रोत विविधिकरणसँगै वितरण क्षमतामा पनि सुधार ल्याउन रणनीति तयार गर्न जरुरी देखिन्छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस