Like us!
Follow us!
Connect us!
Watch us!

प्रधानमन्त्री ओली र सभापति देउवाबीच सहमति : आजै राष्ट्र बैंकको नयाँ गभर्नरको नियुक्ति हुँदै

अर्थ संसार

मंगलबार, ०६ जेठ २०८२, १५ : ५७ मा प्रकाशित

प्रधानमन्त्री ओली र सभापति देउवाबीच सहमति : आजै राष्ट्र बैंकको नयाँ गभर्नरको नियुक्ति हुँदै

राष्ट्र बैंकको नयाँ गभर्नर नियुक्तिका लागि आज मंगलबार निर्णायक प्रक्रिया अघि बढ्दैछ। बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको छलफलपछि सत्तारुढ दलका शीर्ष नेताहरूबीच गभर्नर नियुक्तिमा सहमति बनेको हो।

स्रोतका अनुसार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज बिहान प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटमा तीन जनाको नाम गभर्नर पदका लागि सिफारिस गरेका छन्। देउवाले पहिलो प्राथमिकतामा अर्थविद् डा. विश्वनाथ पौडेलको नाम दिएका छन्। दोस्रोमा डा. अंगराज तिमल्सिना र तेस्रोमा नविल बैंकका पूर्व सीईओ ज्ञानेन्द्र ढुंगनाको नाम सिफारिस गरिएको बताइएको छ।

सभापति देउवाले बैठकमा स्पष्ट रूपमा भनेका छन्, "यदि सर्वोच्च अदालतले बाटो खोलिदियो भने डा. विश्वनाथ पौडेललाई नै गभर्नर बनाउनुपर्छ। अन्यथा, विकल्पका रूपमा डा. अंगराज तिमल्सिना उपयुक्त छनोट हुनेछन्।"

यता एमालेले भने राष्ट्र बैंककी बरिष्ठ डेपुटी गभर्नर निलम ढुंगनालाई सिफारिस गर्ने तयारी गरेको छ।

यसैबीच, गभर्नर नियुक्तिका लागि आज दिउँसो ४ बजे अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा रहेको सिफारिस समिति बैठकमा बस्दैछ। समितिमा पूर्व गभर्नर महाप्रसाद अधिकारी र अर्थविद् पोषराज पाण्डे सदस्य छन्।

मन्त्रिपरिषद् बैठकबाट अन्तिम निर्णय

सिफारिस समितिबाट तीन जनाको नाम सिफारिस भएपछि आज साँझ ५ बजे बालुवाटारमा बस्ने मन्त्रिपरिषद्को बैठकले अन्तिम निर्णय गर्नेछ।|

हालसम्मको राजनीतिक सहमति र आन्तरिक तयारी अनुसार डा. विश्वनाथ पौडेललाई गभर्नरमा नियुक्त गर्ने सम्भावना बलियो देखिएको छ।

पौडेल यसअघि गभर्नर सिफारिस समितिका सदस्यसमेत थिए। तर आफूलाई नै गभर्नर बनाउने सहमति बनेपछि उनले समितिबाट राजीनामा दिएका थिए।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको