भिजिट भिसा प्रकरणलाई लिएर उत्पन्न राजनीतिक तनावबीच प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र गृहमन्त्री रमेश लेखकबीच बालुवाटारमा महत्वपूर्ण छलफल जारी छ।
प्रधानमन्त्री ओलीसँगको भेटवार्ताका लागि कांग्रेस सभापति देउवा र गृहमन्त्री लेखक मंगलबार साँझ बालुवाटार पुगेका हुन्। भेटको विषय भिजिट भिसा वितरणमा देखिएको अनियमितता र त्यसलाई लिएर प्रतिनिधिसभामा देखिएको अवरोधसँग जोडिएको बताइएको छ।
यसअघि, प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रसहितका दलहरूले गृहमन्त्री लेखकको राजीनामा माग गर्दै मंगलबार प्रतिनिधिसभा बैठकमा अवरोध गरेका थिए। उनीहरूको माग गृहमन्त्रीको तत्काल राजीनामा र उच्चस्तरीय छानबिन आयोग गठनको रहेको छ।
बालुवाटार स्रोतका अनुसार, "प्रधानमन्त्री ओलीज्यूले कांग्रेस सभापति देउवा र गृहमन्त्री लेखकसँग छलफल गरिरहनु भएको छ, भेटवार्ता जारी छ।"
प्रतिनिधिसभाको अर्को बैठक बुधबार बिहान ११ बजेका लागि निर्धारण गरिएको छ। सो बैठकअघि प्रधानमन्त्री ओलीले राजनीतिक सहमति खोज्ने प्रयासस्वरूप यो छलफल थालेका हुन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस