आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १५ जेठमा प्रस्तुत गरिन लागिएको बजेटप्रति प्रमुख विपक्षी दलहरू सकारात्मक देखिएका छन्। गृहमन्त्री रमेश लेखकको राजीनामा र भिजिट भिसा प्रकरणमा छानबिनको माग गर्दै प्रतिनिधिसभा बैठक अवरुद्ध गर्दै आएका विपक्षीहरूले बजेट प्रस्तुत गर्दा भने संसद अवरोध नगर्ने निर्णय गरेका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले बजेट ल्याउने प्रक्रियामा सहयोग माग्दै आज बिहान प्रमुख विपक्षी दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई फोन गरेका थिए।
यद्यपि, प्रचण्डले संसदका अन्य नियमित काम अगाडि नबढाउने अडान भने कायमै राखेका छन्। “गृहमन्त्री जोडिएको प्रकरणमा छानबिन हुनुपर्छ, त्यसअघि राजीनामा आउनुपर्छ,” उनले प्रधानमन्त्रीसँगको कुराकानीमा भनेका छन्।
त्यसैगरी, दोस्रो ठूलो विपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पनि बजेट प्रस्तुतिमा अवरोध नगर्ने निर्णय लिएको छ। संसद भवन बाहिर प्रतिक्रिया दिँदै रास्वपाका कार्यबाहक प्रवक्ता मनिष झाले “संवैधानिक प्रक्रिया अनुसार ल्याइने बजेट रोक्दैनौं,” भनेका छन्।
उनले गृहमन्त्रीलाई संसदमा बोल्न नदिने अडान पार्टीको नभएको स्पष्ट पार्दै भने, “गृहमन्त्री अघि बोल्न हामीले पाउनुपर्छ भन्ने हाम्रो माग हो, बोल्नै नदिने भनेका छैनौं।”
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस