नेकपा (माओवादी केन्द्र)का सांसद झक्कुप्रसाद सुवेदीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजिट भिसाको आवरणमा भइरहेको कथित मानव तस्करीमा गृहमन्त्री रमेश लेखकको सचिवालयको प्रत्यक्ष संलग्नता रहेको गम्भीर आरोप लगाएका छन्।
बुधबारको राष्ट्रिय सभा बैठकमा बोल्दै सुवेदीले भुटानी शरणार्थी प्रकरणले मुलुकको शिर निहुराएको केही महिना नपुग्दै, भिजिट भिसा सेटिङ प्रकरणले थप लज्जित बनाएको टिप्पणी गरे। “बेरोजगार नागरिक बेचेर पैसा असुल्ने कस्तो देश बनायौं हामीले?” भन्दै उनले आक्रोश पोखे।
उनको भनाइ अनुसार, त्रिभुवन विमानस्थलमा दिनहुँ पचास लाख रुपैयाँसम्म असुली हुने गरेको चर्चा छ, जुन भ्रष्टाचार गृह मन्त्रालयकै उच्च तहको संलग्नतामा भइरहेको हो। सुवेदीले गृहमन्त्री रमेश लेखकको भाषण र आचरणमा फरक रहेको आरोप पनि लगाए।
“गृहमन्त्री आफैं संलग्न भएर पनि कर्मचारीमाथि दोष थोपरेर उम्किन खोज्दैछन्,” उनले भने। सुवेदीले घटनाको निष्पक्ष छानबिन हुनुपर्नेमा जोड दिँदै गृहमन्त्रीको राजीनामा आवश्यक रहेको संकेत गरे।
यता, प्रतिपक्षी दलहरू भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा र संसदीय छानबिन समिति गठनको माग गर्दै प्रतिनिधिसभा बैठक अवरुद्ध गरिरहेकै छन्। घटनाले राजनीतिक र सार्वजनिक वृत्तमा व्यापक आलोचना र चासो उत्पन्न गरेको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस