प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तत्कालीन नेकपा एकीकरणको समयमा पार्टीलाई जोगाउन केही अराजनीतिक कदम चाल्नु परेको स्वीकार गरेका छन्। उनले नेकपा (एकीकृत समाजवादी) र नेकपा (माओवादी केन्द्र) का केही नेताहरूलाई पार्टी फुटाउने कार्यमा संलग्न भएको आरोप लगाएका छन्।
ओलीले भने कि एमाले फुटाउन देशभित्र र विदेशबाट विभिन्न शक्तिहरू लागिपरेका थिए। तर उनीहरू असफल भएपछि पार्टीभित्रकै केही नेताहरूले विभाजनलाई सहयोग पुर्याए। उनले तत्कालीन समयमा कुन कदम अराजनीतिक थियो भन्ने कुरा भने स्पष्ट पारेनन्।
प्रधानमन्त्री ओलीले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालप्रति कटाक्ष गर्दै भने, ‘पार्टी फुटाएर गएर एकीकृत बनाउने खेल चलाइयो।’ उनले एकता अभियानका संयोजक वामदेव गौतमलाई पनि दोषी ठहराउँदै भने, ‘पार्टी एकताबारे ठोस कदम नउठाएर, फुस्रो नारा दिँदै विभाजनमा हात हालियो।’
ओलीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई पार्टी फुटाउने मुख्य व्यक्ति भनेका छन्। साथै, तत्कालीन सभामुख अग्नि सापकोटालाई पनि असंवैधानिक कदम चालेको आरोप लगाए।
उनले बताए, “नेकपा एमाले सिध्याउने उद्देश्यले देशी-विदेशी सबैको एउटै चाल थियो। त्यो असफल भएपछि पार्टीभित्रका नेताहरूले विभाजनलाई सहयोग गरे। प्रचण्ड नै पार्टी फुटाउने मुख्य व्यक्ति हुन्। सभामुख अग्नि सापकोटा त असंवैधानिक रूपमा काम गरे।”
प्रधानमन्त्री ओलीले पार्टीको विभाजन समस्या कार्यकर्ता तहबाट नभई शीर्ष नेतृत्वबाट आएको पनि उल्लेख गरे। उनले भने, “यो समस्या तल होइन, नेतृत्व तहबाट आएको हो। अध्यक्ष, पूर्वअध्यक्ष, महासचिव, उपाध्यक्ष र स्थायी कमिटी सदस्यहरू सबैले भूमिका खेलेका छन्।”
त्यसैगरी, उनले कहिलेकाहीं व्यक्तिगत सम्बन्ध, छिमेकी वा साथीभाइको नाताले पनि ‘वचन नटिप्नु’ले अराजनीतिक कदम चालिन सक्ने कुरा स्वीकार गरे।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस