प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै संसद अवरोध गर्नु लोकतान्त्रिक अभ्यासविपरीत भएको टिप्पणी गरेका छन्। उनका अनुसार गृहमन्त्रीमाथि कुनै उजुरी वा छानबिन नभएको अवस्थामा राजीनामा माग गर्नु अनावश्यक र अशोभनीय कदम हो।
सोमबार एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले संसदलाई निरन्तर अवरुद्ध गरिरहनु गैरजिम्मेवार व्यवहार भएको बताए। 'केही विषय नपाएर गृहमन्त्रीको राजीनामा मागिएको छ, तर संसद सधैं यस्ता नचाहिने कुरामा बन्द हुँदैन,' उनले भने। ओलीले संसद सञ्चालनका लागि प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग संवाद गर्न प्रयास गरेको तर उनी जानीजानी सम्पर्कमा नआएको आरोप पनि लगाए। 'संवाद नगर्ने अनि सदन बन्द गर्ने मुडमा उहाँहरू हुनुहुन्छ होला,' उनले भने, 'तर यस्तो व्यवहार सधैं टिक्दैन।'
प्रधानमन्त्री ओलीले सांसदहरूलाई भोलिदेखि संसद सञ्चालन हुने भएकाले तयार रहन आग्रह गरे। 'माननीयज्यूहरू तयार भएर बस्नुस्, भोलिदेखि सदन चल्छ,' उनले स्पष्ट पारे।
उनले सडकमा कोही समूहले माग लिएर बस्दा पनि दौडिएर समर्थन गर्न जानु र सदन पनि अवरुद्ध गर्नु प्रतिगमनलाई मलजल दिने काम भएको टिप्पणी गरे। 'लोकतन्त्रलाई असहयोग हुने यस्ता कार्यले दीर्घकालीन समस्याको समाधान दिंदैन,' उनले भने।
अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा पुगेको, अराजक र असन्तुष्ट प्रवृत्तिहरू सक्रिय भइरहेका बेला बजेट आएको बताउँदै प्रधानमन्त्री ओलीले यस्तो संवेदनशील समयमा सबै दलले जिम्मेवार व्यवहार गर्नुपर्नेमा जोड दिए।
उनले संविधान, कानुन र जनताको भरोसामा आधारित लोकतान्त्रिक व्यवस्थामै देशको भविष्य रहेको उल्लेख गर्दै, 'राजतन्त्र अहिलेको बहसको विषय नै होइन,' भने। साथै, सत्ताबाट बाहिरिएका केही पक्षमा देखिएको बेचैनी र कुण्ठा ‘घण्टाकर्ण प्रवृत्ति’को रूपमा प्रकट भएको टिप्पणी गर्दै उनले सरकारका कामलाई बदनाम गर्ने प्रयास भइरहेको पनि बताए।
।’
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस