राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भिजिट भिसा काण्डलाई लिएर सरकारसँग कडा राजनीतिक जवाफ माग्दै संसद् अवरुद्ध गर्ने घोषणा गरेको छ। सोमबार पार्टी केन्द्रीय कार्यालयमा बसेको संसदीय दलको बैठकले गृहमन्त्री रमेश लेखकले तुरुन्त पदबाट राजीनामा दिनुपर्ने अडानसहित संसद् सञ्चालन रोक्ने निर्णय लिएको हो।
बैठकपछि कार्यवाहक प्रवक्ता मनीष झाले पत्रकारहरूसँग प्रतिक्रिया दिँदै भने, "गृह मन्त्रालयमै रहँदा निष्पक्ष छानबिन सम्भव छैन। त्यसैले मन्त्रीज्यूले पद त्यागेर अनुसन्धानलाई सहज बनाउनु जरुरी छ।"
उनले आगामी मंगलबार (जेठ १६) को संसद् बैठकमा पनि अघिल्ला दुई दिन (जेठ १३ र १४) मा देखिएको रास्वपाको अडान कायम रहने स्पष्ट पारे। उनका अनुसार, पार्टीले यस मुद्दामा अन्य प्रतिपक्षी दलहरूसँग समेत सहकार्य गरेर दबाब सिर्जना गर्ने रणनीति बनाएको छ।
झाले गृहमन्त्रीको परिवारसँग जोडिएको आरोपप्रति संकेत गर्दै थपे, "परिवारका सदस्यको क्रियाकलापको नैतिक जिम्मेवारी अभिभावकले लिने हो। यसकारण जवाफ प्रधानमन्त्रीबाट आउनुपर्छ, गृहमन्त्रीबाट होइन।"
रास्वपाको यस्तो अडानसँगै भिजिट भिसा काण्डमा सत्ता पक्षमाथि थप दबाब बढ्ने देखिएको छ। संसद् अब निष्कर्षविहीन रस्साकस्सीमा फस्ने सम्भावना पनि प्रबल बनेको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस