अर्थ मन्त्रालयले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनका लागि आवश्यक तयारी सुरु गरेको छ। मन्त्रालयमा आयोजित उच्चस्तरीय बैठकमा नीति, कार्यक्रम, बजेट र माइलस्टोनबीच तादात्म्यता मिलाई कार्ययोजना तयार गरी तत्काल कार्यान्वयनमा लैजाने गृहकार्य थालिएको हो।
बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट वक्तव्यमा समेटिएका कार्यक्रम तथा आयोजनाका लागि खरिद प्रक्रिया शीघ्र अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन्। उनका अनुसार बजेट पारित भएलगत्तै सम्झौता गर्न सकिनेगरी पूर्वतयारी गरिएमा काम सुरु गर्न सहज हुनेछ।
मुख्य सचिव एकनारायण अर्यालले बजेटमा उल्लेख भएअनुसार खरिद प्रकृया अघि बढाउन थप ऐन कानून आवश्यक नपर्ने स्पष्ट पारेका छन्। उनले तयारी प्रक्रियामा ढिलाइ नगरी तुरुन्त अघि बढ्न सकिने धारणा व्यक्त गरेका छन्।
बैठकमा चालू आर्थिक वर्षको पूँजीगत खर्च वृद्धिमा विशेष ध्यान दिइने विषयमा समेत छलफल भएको थियो। अर्थ सचिव घनश्याम उपाध्यायले स्रोत सुनिश्चित भइसकेका तथा आवश्यक कागजात पूरा भएका योजना र कार्यक्रमहरूलाई अर्थ मन्त्रालयले रकमान्तर र अन्य प्रक्रियामा सहजीकरण गर्ने जानकारी दिए।
उनले सम्बन्धित मन्त्रालयहरूलाई प्रक्रियागत रुपमा तयार भएका र सम्भव हुने योजना मात्रै पठाउन आग्रह गरे। साथै, आवश्यक परे सार्वजनिक बिदा वा शनिबारको दिन समेत काम गरेर प्रक्रिया अघि बढाइने उल्लेख गरे।
उक्त बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, जल स्रोत तथा सिंचाइ मन्त्रालय, खानेपानी मन्त्रालय लगायतका सचिवहरूको उपस्थिति रहेको थियो।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस