Like us!
Follow us!
Connect us!
Watch us!

मौद्रिक नीतिका लागि तीन लगानीकर्ता संघको संयुक्त सुझावपत्र, पूँजी बजार सुदृढीकरणमा जोड

अर्थ संसार

सोमबार, ०९ असार २०८२, ०९ : ०१ मा प्रकाशित

मौद्रिक नीतिका लागि तीन लगानीकर्ता संघको संयुक्त सुझावपत्र, पूँजी बजार सुदृढीकरणमा जोड

नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि मौद्रिक नीति तर्जुमा गरिरहेको सन्दर्भमा पूँजी बजारसँग सरोकार राख्ने तीन प्रमुख संघ–संस्थाहरूले संयुक्त सुझाव पेश गरेका छन्।

शेयर लगानीकर्ता संघ नेपाल, नेपाल पुँजीबजार लगानीकर्ता संघ, तथा स्वतन्त्र पुँजिबजार लगानीकर्ता संघका तर्फबाट राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागलाई पठाइएको सुझावपत्रमा पूँजी बजारलाई सुदृढ बनाउने उद्देश्यले चार प्रमुख बुँदामा नीति सुधारका प्रस्तावहरू राखिएका छन्।

सुझावपत्रका मुख्य बुँदाहरू:

१. Single Obligator सिमा हटाउन माग
हाल विद्यमान १५ करोडको एकल परिवार (Single Obligator) सीमा खारेज गर्नुपर्ने माग गरिएको छ। यो सीमा हटाउँदा लगानीकर्ताको पहुँच वृद्धि हुने र बजारमा विश्वासको वातावरण बलियो हुने विश्वास व्यक्त गरिएको छ।

२. लघुवित्त संस्थालाई लाभांश वितरणमा स्वतन्त्रता
लघुवित्त संस्थाले १५% भन्दा बढी लाभांश वितरण गर्न नपाउने हालको सीमालाई खुला अर्थनीतिक सिद्धान्त विपरीत भन्दै यसलाई हटाउनुपर्ने सुझाव दिइएको छ। संस्थाहरूलाई कार्यसम्पादन अनुसार लाभांश वितरणमा स्वतन्त्रता दिनुपर्ने भनिएको छ।

३. बैंक तथा वित्तीय संस्थाको लगानी सीमा पुनःनिर्धारण
बैंक तथा वित्तीय संस्थाहरूको प्राथमिक पूँजिकोषको शेयर बजारमा लगानी सीमा पुनः परिमार्जन गरी ‘बैंक तथा वित्तीय संस्था ऐन २०७३’ अनुसारको सीमा कायम गर्न आग्रह गरिएको छ।

४. गैरआवासीय नेपाली (NRN) को लगानी सहज बनाउन
गैरआवासीय नेपालीहरूले नेपालमा लगानी गरेपछि नाफा पुनः विदेश लैजान नसकिने कानुनी जटिलता रहेको उल्लेख गर्दै सो अवस्थालाई संशोधन गरी एनआरएनलाई आकर्षित गर्न अनुकूल वातावरण बनाउन सुझाव दिइएको छ।

"६८ लाख लगानीकर्ता, ४५ खर्बको लगानी, र १५ अर्बभन्दा बढी लाभकर उठेको बजार"

सुझावपत्रमा हाल देशभर करिब ६८ लाख लगानीकर्ताले पूँजी बजारमा संलग्नता जनाएको र हालसम्म ४५ खर्ब रुपैयाँभन्दा बढीको लगानी भइसकेको उल्लेख छ। चालु आर्थिक वर्ष २०८१/८२ को जेठ मसान्तसम्ममा मात्रै १५ अर्ब ३० करोड रूपैयाँभन्दा बढी पूँजिगत लाभकर उठेको तथ्य प्रस्तुत गर्दै, पूँजी बजारको महत्वलाई थप बल दिन आवश्यक भएको बताइएको छ।

संयुक्तरूपमा पठाइएको यो सुझावपत्रमा ताराप्रसाद फुल्लेल (शेयर लगानीकर्ता संघ नेपालका अध्यक्ष कार्यवाहक), एस.पी. चौलागाई (नेपाल पुँजीबजार लगानीकर्ता संघका महासचिव) र डिल्लिश्वर कार्की ‘रोहन’ (स्वतन्त्र पुँजिबजार लगानीकर्ता संघका अध्यक्ष) को हस्ताक्षर रहेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको