Like us!
Follow us!
Connect us!
Watch us!

बुङ्गल हाइड्रोको सेयरमा आजदेखि आवेदन खुला

अर्थ संसार

आइतबार, २९ असार २०८२, ०७ : ४७ मा प्रकाशित

बुङ्गल हाइड्रोको सेयरमा आजदेखि आवेदन खुला

बुङ्गल हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि प्राथमिक सेयर (IPO) आज असार २९ गतेदेखि निष्काशन खुला गरेको छ।

कम्पनीले ८३ करोड रुपैयाँको जारी पूँजीमध्ये ३५ प्रतिशत अर्थात् २९ करोड ५ लाख रुपैयाँ बराबरको सेयर निष्काशन गर्ने अनुमति प्राप्त गरिसकेको छ। यसमध्ये स्थानिय बासिन्दाका लागि ८ लाख ३० हजार ८२४ कित्ता सेयर छुट्याइएको हो, जुन प्रतिकित्ता १०० रुपैयाँ दरमा प्रदान गरिनेछ।

स्थानिय बासिन्दाका लागि छुट्याइएको सेयरमा ६५ प्रतिशत हिस्सा बझाङ जिल्लाको बुङ्गल नगरपालिका वडा नम्बर ६ र ७ अन्तर्गत पर्ने साविक पिपलकोट र कफल्सेरी गाविसका अति प्रभावित क्षेत्रका बासिन्दालाई प्रदान गरिनेछ। बाँकी ३५ प्रतिशत सेयर भने बुङ्गल नगरपालिकाका वडा नम्बर १, २, ३, ४, ५, ८, ९, १० र ११ का सामान्य प्रभावित क्षेत्रका बासिन्दाहरूलाई बाँडफाँट गरिनेछ।

त्यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि २ लाख ७ हजार ५०० कित्ता सेयर छुट्याइएको छ, जसको कुल मूल्य २ करोड ७ लाख ५० हजार रुपैयाँ बराबर हुन्छ। यसमा आवेदन दिन चाहने श्रमिकहरूले नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति लिएको प्रमाण पेश गर्नुपर्नेछ।

आवेदनको न्यूनतम सीमा १० कित्ता रहेको छ भने अधिकतममा २० हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ। स्थानिय बासिन्दाहरूका लागि आवेदन अवधि अनिवार्य रूपमा साउन ११ गतेसम्म खुला हुनेछ। यदि तोकिएको समयभित्र पर्याप्त आवेदन प्राप्त नभएमा यो अवधि साउन २६ गतेसम्म बढ्न सक्छ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि भने साउन ११ गते नै अन्तिम म्याद कायम गरिएको छ।

यस आईपीओका लागि गरिएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई "CARE-NP Single B" इश्युअर रेटिङ दिएको छ, जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्दछ।

बुङ्गल हाइड्रोले सञ्चालन गरिरहेको माथिल्लो सानिगाड जलविद्युत आयोजना १०.७० मेगावाट क्षमताको हो। उक्त आयोजना निर्माणमा कुल ३ अर्ब २ करोड ३६ लाख रुपैयाँभन्दा बढी लागत लागेको छ। प्रति मेगावाट लागत झण्डै २८ करोड २५ लाख रुपैयाँ बराबर रहेको छ। आयोजना सम्पन्न भइसकेपछि विद्युत उत्पादन अनुमतिपत्रमा अझै २६ वर्ष १० महिना बाँकी रहेको बताइएको छ। लगानी फिर्ता हुने सामान्य अवधि ९.८५ वर्ष रहँदा छुट मूल्यमा हिसाब गर्दा लगानी फिर्ता हुन २२.२९ वर्ष लाग्ने प्रक्षेपण गरिएको छ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री व्यवस्थापनको जिम्मा हिमालयन क्यापिटल लिमिटेडले लिएको छ। स्थानिय बासिन्दाहरूले नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (केदारस्युँ–१), कृषि विकास बैंक (बुङ्गल नगरपालिका), ग्लोबल आइएमई बैंक (जयपृथ्वी नगरपालिका) लगायत आयोजनास्थलमा रहेको सम्बन्धित कार्यालयबाट आवेदन फारम संकलन गर्न सक्नेछन्। दरखास्त फारमको शुल्क २ रुपैयाँ तोकिएको छ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले भने नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखाबाट सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro Viber

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको