Like us!
Follow us!
Connect us!
Watch us!

‘बजार सधै बढ्ने भन्ने हुँदैन, भालिदेखि बजारमा हरियाली कायम हुन्छ’

अर्थ संसार

आइतबार, १८ साउन २०८२, १७ : २१ मा प्रकाशित

‘बजार सधै बढ्ने भन्ने हुँदैन, भालिदेखि बजारमा हरियाली कायम हुन्छ’

पछिल्ला तीन कारोबार दिनमा सेयर बजार घटेर कारोबार बन्द भयो । ३ हजार विन्दु माथि पुगेको बजार तीन दिनको अन्तरमा घटेर साढे २८ सयको विन्दुमा पुग्यो । बजारका लागि आवश्यक पर्ने सबै सूचक सकारात्मक हुँदा पनि बजार घट्नुलाई लगानीकर्ताहरुले नाफा बुक गरेको रुपमा हेरेका छन् । 

सेयर बजारमा सधै बढ्ने भन्ने कुरा सम्भब नहुने लगानीकर्ताहरुको भनाइ छ । अहिले लगानीकर्ताहरुले नाफा सुरक्षित गर्न खोज्दा बजारमा केही मात्रामा गिरावट आएको उनीहरु बताउँछन् । अहिले बजार कसैले घटाउँछु भनेर चाहेर मात्रै घट्ने अवस्था नरहेको जानकारहरुको भनाइ छ । 

बजारमा किन्ने मात्रै भन्दा पनि बिक्री गरेर नाफा पनि गर्नु पर्ने भएकाले अहिलेको घटाइलाई स्वाभिविक रुपमा लिनु पर्ने नेपाल सेयर बजार लगानीकर्ता संघका महासचिव रविन कँडेलको भनाइ छ । ‘लगातार रुपमा बजार बढीरहने मात्रै हुँदैन । एउटा ठाउँमा पुगेर करेक्सन पनि हुन्छ,’ उनले भने । केहीले नाफा निश्चित गरेकाले बजार घटेको उनको भनाइ छ । अहिले मौद्रिक नीति, तरलताको अवस्था लगायत सेयर बजारका लागि आवश्यक पर्ने सबै सूचकहरु सकारात्मक रहेकाले बजार बढ्ने कँडेलको भनाइ छ । ५–७ प्रतिशत घट्दैमा बजार घटेको भन्न नमिल्ने उनले बताए । बजार १५ प्रतिशतभन्दा बढी घट्यो भने मात्रै त्यो घटेको मान्न सकिने उनी बताउँछन् । 

अघिल्ला दुई कारोबार भन्दा आजको घटाइ अलि अप्रत्यासित रहेको अर्का लगानीकर्ता गोपाल स्वामीको भनाइ छ । २७ सयदेखि ३०० अंकले बढेको बजार अहिले केही मात्रामा करेक्सन भएको उनले बताए । घटबढ्न नै बजारको सुन्दरता भएको भन्दै अहिले नै बजार घट्यो भनेर आत्तिनु पर्ने अवस्था नरहेको स्वामीको भनाइ छ । बजारका लागि आवश्यक पर्ने सबै सूचक हेर्दा बजार भोलिदेखि हरियालीमा फर्किने उनले बताए ।  

केही सेयर बजारका जानकारहरुले भने बजार फण्डामेन्टल सुधारका कारण भन्दा पनि हल्लाका भरमा बढेकाले अवस्था यस्तै रहने बताएका छन् । बजारमा हुने करेक्सनबाट आत्तिने भन्दा पनि धर्यता राख्नु पर्ने उनीहरुको भनाइ छ । बजार सकारात्मक हुनका लागि आवश्यक पर्ने सबै सूचक सकारात्म भए पनि बजार पछिल्लो तीन कारोबार दिनमा १४३ अंकले घटेको छ । 

आइतबार मात्रै नेप्से परिसूचक ६३.७३ अंक घटेर २८५८.९० विन्दुमा झरेको छ । गत मंगलबार सेयर बजार परिसूचक ३००२ विन्दुमा बन्द भएको थियो । पछिल्लो समय परिसूचकसँगै कारोबार रकममा पनि गिरावट आएको छ । गत मंगलबार २६ अर्ब माथिको कारोबार भएको बजारमा आज भने १३ अर्बको मात्रै कारोबार भएको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको