कम्प्युटर एसोसिएसन नेपाल महासंघका पूर्व अध्यक्ष रन्जित कुमार पोद्दारले समाजिक सञ्जाल माथि लगाएको प्रतिबन्धले नेपाल सरकारको डिजिटल नेपाल अभियानमै असर पुग्ने बताएका छन् । सामाजिक सञ्जालहरु बन्द हुँदा प्रविधिसँगको पहुँज गुम्ने र सिकेका कुरा पनि बिर्सिने सम्भावना रहने भएकाले सरकारको अभियानमा नै असर गर्ने उनले बताएका हुन् ।
विदेशमा रहेकाहरुसँग पनि सामाजिक सञ्जालकै माध्यमबाट कुरा गर्नु पर्ने भएकाले उनीहरुसँगको सम्पक टुट्न लगायत समस्याहरु भोग्नु पर्ने उनको भनाइ छ । नेपालको कानुन मानेर नै नेपालमा व्यापार गर्नु पर्ने भए पनि एकै पटक सबै कुरा बन्द गर्दा समाजमा त्यसले नकारात्मक असर गर्ने बताए । नेपालमा सूचीकरणका लागि पहल भएको भनिएको छ । त्यसमा पहल अलि कम भयो कि भन्ने हो । त्यस तर्फ ध्यान दिनु पर्ने आवश्यकता रहेको उनले सुनाए ।
नेपालबाट पनि सामाजिक सञ्जालले पैसा लगिरहेको अवस्थामा उनीहरु पनि कानुनको दायरामा आउनु पर्ने उनको भनाइ छ । उनले धेरै सामाजिक सञ्जाल एकै पटक बन्द गर्दा अनधिकृत भिपिएनको प्रयोग बढ्ने र यसले थप जोखिम बढाउने सक्ने तर्फ सजक रहन पनि आग्रह गरे । ‘सामाजिक सञ्जाल बन्द हुँदा भिपिएनको प्रयोग गरेर सञ्जाल चलाउने क्रम पनि बढ्छ । यदि त्यस्तो गरेर अनधिकृत भिपिएन प्रयोग गरेर सञ्जाल चलाइयो भने त्यसले अर्को जोखिम बढाउँछ,’ उनले भने ।
अनाधिकृत भिपिएन प्रयोग गरेर सञ्जाल खोल्दा बैंकको खातामा भएको पैसा समेत चोरी हुन सक्ने जोखिम बढ्ने भएकाले त्यस तर्फ पनि सरकारले ध्यान दिनु पर्ने उनको भनाइ छ । ‘अहिले धेरै कुरामा सुरक्षित हुँदा त समस्याहरु आइरहेको सुनिन्छ । अब भिपिएन प्रयोग गरेर एक्सेसनै अर्कोकोमा पुग्यो भने अवस्था कस्तो होला आफै सोच्नुहोस्,’ उनले भने ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस