अहिले केही दिनदेखि नेपालमा सामाजिक सञ्जाल बन्द जस्तै अवस्थामा रहेको छ । सरकारले सामाजिक सञ्जालहरु नेपालमा सूचीकरण नभएको भन्दै निष्कृय गरेको हो । यो विषयको अहिले चौतर्फि रुपमा विरोध भइरहेको छ । सामाकि सञ्जाल बन्द गर्दा नेपालको सूचना प्रविधिको क्षेत्रमा कस्तो असर पर्छ । यसै विषयको पेरिफेरिमा रहेर अर्थसंसारकर्मी महेन्द्र शाहीले कम्प्युटर एसोसिएसन नेपाल महासंघका उपाध्यक्ष चिरञ्जिवी अधिकारीसँग गरेको कुराकानीको सम्पादित अंश :
फेसबुक लगायत सामाजिक सञ्जाल बन्द गर्दा समाजमा पर्ने तत्कालिन नकारात्मक असर के हो ?
सामाजिक सञ्जाल बन्द गर्ने भन्दा पनि नियमन गर्नु पर्ने आवश्यकता हो । तर सरकारले कानुनमा नआएको बहानामा सञ्जाल बन्द गर्नु निकै दुखको कुरा हो । हिजो टिकटक पनि बन्द भएको थियो । आज फेसबुक लगायत सामाजिक सञ्जाल बन्द गरियो । टिकटक मनोरञ्जनको मात्रै साधन थियो । तर अहिले बन्द गरिएका सामाजिक सञ्जालहरु आम्दानीका स्रोत पनि थिए । अझ भन्यौ फेसबुक नेपालीहरुको अति नै आवश्यक भइसकेको अवस्था छ ।
फेसबुक सन्देश आदानप्रदानको महत्वपूर्ण माध्यम हो । गाउँमा भएका आमा बुबाले सहरमा वा विदेशमा रहेका छोराछोरीसँग सम्पर्क गर्नका लागि पनि यो निकै महत्वपूर्ण माध्यम हो । बन्द हुँदा उनीहरु सन्देस प्रवाहबाट समेत बञ्चित भएको अवस्था छ । अहिले सामाजिक सञ्जालक बन्द हुँदा धेरै परिवारसँगको सम्पर्क टुटेको छ ।
यो समस्या सरकारले छिटो भन्दा छिटो समाधान गर्नु पर्छ । कानुनको अधिनमा ल्याउने बहानामा विकल्प बिनै बन्द गर्नु हुँदैन । फेसबुक लगायत साधन बन्द हुँदा समाजमा कुनै पनि सकारात्मक प्रभाव पर्ने देखिदैन । जति हुन्छ सबै नकारात्मक नै प्रभाव पर्ने हो ।
कुनै क्षेत्रमा समस्या आयो भने समाधान खोज्नु भन्दा बन्द गर्ने सरकारको निर्णयलाई कसरी लिनु भएको छ ?
यो सरकारले गलत निर्णय गरेको छ । नयाँ पुस्तालाई निराश बनाउने यो निर्णय तत्काल फिर्ता लिनु पर्छ भन्ने हो । धेरै युवाहरुले सामाजिक सञ्जाललाई स्वरोजगारको माध्यमसमेत बनाएका थिए । बन्द हुँदा उनीहरुको आर्थिक अवस्थामा समेत यसले प्रत्यक्ष असर गर्छ । डिजिटल प्रविधिका क्षेत्रमा नै यसले नकारात्मक असर गर्छ ।
स्वदेशमा नै केही गरिरहेका युवाहरुलाई विदेश पलायन हुने अवस्था समेत यस्ता गतिविधिले सिर्जना गर्छ । यसले देशको अर्थतन्त्र लगायत क्षेत्रलाई ओरालो यात्रामा लैजान्छ । नेपालमा धेरैले फेसबुक र युटुबबाट राम्रो आम्दानी गरिरहेका छन् । उनीहरुको विषयमा राज्यले केही पनि नसोचेर यस्तो निर्णय गरिदियो ।
सूचना प्रविधिको क्षेत्रमा यस्ता गतिविधिले कस्तो असर गर्छ ?
सरकारले आफैले डिजिट नेपाल अभियानको घोषणा गरेको छ । प्रविधिको विकास गर्ने भनेर राज्यले अभियान घोषणा गर्ने र अर्को तर्फ आफैले सामाजिक सञ्जालहरु बन्द गर्दा यसले डिजिटल नेपाल निर्माणमा पनि असर पुग्छ । आइटी दशक मनाउने कुरा पनि छ । तर काम एका तिर र व्यवहार अर्को तिर भइरहेको छ ।
आइटीका उत्पादनहरुका लागि पनि विभिन्न प्लटफर्महरु आवश्यक पर्छ । तर, राज्यले कुनै विकल्प बिनानै अहिले भइरहेका प्लटफर्महरु बन्द गर्दा यसमा ठूलो धक्का पुग्छ ।
फेसबुक लगायत सामाजिक सञ्जालबाट राम्रो आम्दानी गरिरहेकाहरुलाई त निकै समस्या पर्ने भयो नि है ?
अहिले धेरै मानिसहरु सामाजिक सञ्जाल प्रयोग गरेर राम्रो आम्दानी गरिरहेका छन् । फेसबुकमा वा युटुवमा भिडियो राखेर पनि राम्रो आम्दानी गर्नेहरुको रोजिरोटि गुमेको छ । राज्यले आफैले रोजगारी दिन नसके पनि आफैले काम गरेर कमाउँछु भन्दा पनि त्यसका लागि आवश्यक स्थानहरु नै बन्द गरेको अवस्थामा उनीहरुमा थप निराशा पैदा हुन्छ । यसले मानसिक र आर्थिक रुपमा नै व्यक्तिलाई ठूलो आघात पुग्छ ।
सरकारले बन्द गरिसकेको अवस्था छ । अब यो समस्यालाई समाधान गर्नका लागि के गर्नु पर्ला ?
यो समस्या समाधान गर्नका लागि सबै भन्दा पहिला यो निर्णयबाट सरकार पछि हट्नु पर्छ । यो निर्णय फिर्ता लिनु पर्छ । त्यस पछि सरकराले यो विषयमा अध्ययन गर्नका लागि समिति बनाउनु पर्छ । जसले अहिलेको समस्या समाधान गर्न सकोस । सरकारलाई मेरो अनुरोध के हो भने जेन्जी पुस्तालाई ध्यान दिएर अघि समस्या समाधान गर्नु पर्छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस