प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारमा ऊर्जा व्यवस्थापनका कारण प्रभावशाली छवि बनाएका कुलमान घिसिङले हाल तीनवटा मन्त्रालयको जिम्मेवारी पाएका छन्। नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक घिसिङले ऊर्जा, जलस्रोत तथा सिंचाई, भौतिक पूर्वाधार तथा यातायात, र सहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हालेका छन्।
उनले दुईपटक नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकको रुपमा काम गर्ने मौका पाए। पहिलो कार्यकालमा उनले मुलुकभरि १८ घन्टासम्म भइरहेका लोडसेडिङ अन्त्य गर्न महत्वपूर्ण भूमिका खेलेका थिए। तत्कालीन ऊर्जामन्त्री जनार्दन शर्माले २०७३ सालको ३१ भदौमा उनलाई प्राधिकरणको नेतृत्व सुम्पिएका थिए। त्यसपछि उनले तिहारमै काठमाडौं उपत्यकामा लोडसेडिङ नहुन दिने ऐतिहासिक कदम चालेका थिए।
घिसिङले प्राधिकरणको जिम्मेवारी पाउनु अघि चिलिमे जलविद्युत् आयोजनाको समेत नेतृत्व गरेका थिए। विद्युत् वितरण प्रणालीमा सुधार, पारदर्शिता, बिजुली चोरी न्यूनीकरण, ग्रामीण क्षेत्रमा पहुँच विस्तार र संस्थानलाई घाटाबाट नाफामा ल्याउने उनको कार्यले सर्वसाधारणमा उनको लोकप्रियता झनै बढाएको थियो। यसै कारण उनलाई ‘उज्यालो नेपाल’ का प्रतीकका रूपमा लिइन्छ। तर, कार्यकालको अन्त्यतिर केही विवाद पनि आएका थिए। उनले डेडिकेटेड र ट्रंक लाइन प्रयोग गरेर महसुल नतिर्ने उद्योगहरूको छुट बिल काट्दा आलोचना खेप्नुपर्यो।
उनको दोस्रो कार्यकाल २०७८ सालको २७ साउनमा सुरु भएको थियो, तर यसपटक तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारसँग उनको तालमेल खासै देखिएन। अन्ततः ११ चैत २०८१ मा ओली सरकारले उनलाई प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटायो। उनले सर्वोच्च अदालतमा पुनर्बहालीको माग गरेका थिए, तर अदालतबाट पुनःस्थापनाको आदेश भने पाएनन्।
पदबाट मुक्त भएपछि उनले कुनै राजनीतिक दलमा प्रवेश नगरे पनि ‘उज्यालो नेपाल’ नामक अभियानमार्फत स्वतन्त्र राजनीतिक गतिविधि सञ्चालन गरिरहेका छन्। केही समय उनी माओवादी निकट कर्मचारीका रूपमा चिनिए पनि पछिल्लो समय स्वतन्त्र पहिचानमा सक्रिय छन्। उनले जेन–जी आन्दोलनका क्रममा सडकमा आफ्ना समर्थकसहित उपस्थिति जनाएका थिए। रामेछापको बेथानमा जन्मिएका घिसिङले स्कूली शिक्षा काठमाडौंमा प्राप्त गरेका थिए। उनले भारतको एनआईटी जमसेदपुरबाट विद्युत् इन्जिनियरिङमा स्नातक, पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट पावर सिस्टममा स्नातकोत्तर र पोखरा विश्वविद्यालयबाट एमबीए गरेका छन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस