नेपाल धितोपत्र बोर्ड (सेबोन) ले हाल लगानीकर्ताले उठाएका माग र सुझावका सम्बन्धमा आधिकारिक प्रतिक्रिया सार्वजनिक गरेको छ । आइतबार सेबोनले प्रेस विज्ञप्ति जारी गर्दै लगानीकर्ताका माग र नेपाल सरकारको निर्देशनअनुसारका सुधारका काम कार्यान्वयनको चरणमा पुगेको स्पष्ट गरेको हो ।
विज्ञप्तिमा सेबोनले उल्लेख गरेको छ कि नेपाल सरकार (अर्थमन्त्रीस्तर) को २०८२ असोज ३ गतेको निर्णयअनुसार गठित पुँजी बजार सुधार सुझाव कार्यदलले असोज ९ गते पेश गरेको प्रतिवेदनमा उल्लेख गरिएका सेबोनसँग सम्बन्धित कामहरूमध्ये तत्काल कार्यान्वयन गर्नुपर्ने बुँदाहरूका लागि तीन महिनाको समयसीमा तोकी कार्ययोजना तयार भइसकेको छ ।
सेबोनले भनेको छ, “उक्त कार्ययोजना बमोजिम काम अघि बढाइएको छ र तोकिएको समयसीमाभित्र सबै कार्य सम्पन्न गरिनेछ।” बोर्डले लगानीकर्ताले हाल बोर्डमा पेश गरेका सुझाव र उठान गरिएका विभिन्न विषयमा पनि आवश्यक प्रक्रिया अघि बढाउने प्रतिबद्धता जनाएको छ।
नेपाल धितोपत्र बोर्ड सेबोनमा पुगेका लगानीकर्ताहरुले ११ बुँदे माग प्रस्तुत गर्दै माग पुरा नहुनेजलेसम्म घर नफर्किने अडान लिएका छन् । आइतबार सेयर बजार सुधार गर्नु पर्ने विभिन्न ११ वटा माग राखेर लगानीकर्ताहरुले बोर्ड घेराउन गरिरहेका छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस