चालू आर्थिक वर्ष (आव) का पहिलो तीन महिनामा जीवन बीमा कम्पनीका अभिकर्ताहरूले कूल ३ अर्ब ५९ करोड १४ लाख रुपैयाँ कमिशन प्राप्त गरेका छन्। गत आवको सोही अवधिमा अभिकर्ताहरूले ३ अर्ब २४ करोड ९६ लाख रुपैयाँ कमिशन पाएका थिए। यसलाई तुलना गर्दा चालू आवमा कमिशन रकम १०.५२ प्रतिशतले वृद्धि भएको देखिन्छ।
बीमा कम्पनीहरूले अभिकर्ताले गरेकाे व्यवसायको आधारमा निश्चित प्रतिशत कमिशन वितरण गर्छन्। अभिकर्ताको व्यवसाय बढेपछि उनीहरूले पाउने कमिशन रकम पनि स्वाभाविक रूपमा बढ्दै जान्छ। बीमा पोलिसी बिक्रीमा पहिलो वर्ष तिर्ने प्रिमियमको २५ प्रतिशत, दोस्रो वर्ष १५ प्रतिशत र त्यसपछि ८ वर्षसम्म ५ प्रतिशत दरले कमिशन प्रदान गरिन्छ।
कुन कम्पनीले कति दिए ?
तथ्याङ्क अनुसार सबैभन्दा धेरै कमिशन वितरण गर्ने जीवन बीमा कम्पनीमा नेपाल लाइफ पहिलो स्थानमा छ। कम्पनीले अभिकर्ताहरूलाई कूल ९६ करोड ४ लाख रुपैयाँ कमिशन प्रदान गरेको छ। दोस्रो स्थानमा नेशनल लाइफ ४७ करोड ७१ लाख रुपैयाँ वितरण गरेको छ। त्यस्तै तेस्रोमा हिमालयन लाइफले ३५ करोड २२ लाख रुपैयाँ, चौथोमा एलआईसी नेपालले २४ करोड ५८ लाख रुपैयाँ र पाँचौँमा सूर्यज्योति लाइफले २१ करोड ८४ लाख रुपैयाँ अभिकर्तालाई कमिशन दिएको छ।
त्यसैगरी एशियन लाइफले १९ करोड २ लाख रुपैयाँ, सानिमा रिलयान्स लाइफले १७ करोड ११ लाख रुपैयाँ, रिलायबल नेपाल लाइफले १३ करोड ७१ लाख रुपैयाँ, मेट लाइफले १३ करोड ६९ लाख रुपैयाँ, आईएमई लाइफले १३ करोड १४ लाख रुपैयाँ, प्रभु महालक्ष्मी लाइफले १२ करोड ७० लाख रुपैयाँ, सन नेपाल लाइफले ९ करोड १३ लाख रुपैयाँ तथा सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा कम्पनीले ४ करोड ९२ लाख रुपैयाँ कमिशन वितरण गरेको छ।
वृद्धिदरको आधारमा
गत आवको असोज मसान्तसम्म वितरण गरिएको अभिकर्ता कमिशनसँग तुलना गर्दा चालू आवको असोज मसान्तसम्म जीवन बीमा कम्पनीहरूले अभिकर्तालाई प्रदान गरेको कमिशनमा उल्लेखनीय परिवर्तन देखिन्छ। सबैभन्दा बढी वृद्धि सिटिजन लाइफले गरेको छ। जसले कमिशन रकम २१.३४ प्रतिशतले बढाएको छ।
दोस्रो स्थानमा आइएमई लाइफ छ । जसले २१.३३ प्रतिशत वृद्धि गरेको छ। तेस्रोमा एलआईसी नेपालले २०.३६ प्रतिशत, चौथोमा मेट लाइफले १४.६४ प्रतिशत र पाँचौँमा सानिमा रिलायन्स लाइफले १४.१२ प्रतिशतले अभिकर्ता कमिशन बढाएका छन्। त्यसैगरी नेशनल लाइफले ११.९८ प्रतिशत, प्रभु महालक्ष्मी लाइफले ११.५१ प्रतिशत, एशियन लाइफले १०.६३ प्रतिशत, नेपाल लाइफले १०.२४ प्रतिशत, रिलायबल नेपालले ९.२७ प्रतिशत, हिमालयन लाइफले २.६३ प्रतिशत, सन नेपाल लाइफले १.५४ प्रतिशत र राष्ट्रिय जीवन बीमा कम्पनीले १.१६ प्रतिशत कमिशन वृद्धि गरेका छन्। यता सूर्यज्योति लाइफ भने कमिशन घटाउने कम्पनीमा परेपछि कमिशन रकम ३.७२ प्रतिशतले घटाएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस