Like us!
Follow us!
Connect us!
Watch us!

जीवन बीमा कम्पनी - साढे ४ प्रतिशतले घट्यो नाफा, कसले कति कमाए ?

अर्थ संसार

विहीबार, २९ माघ २०८२, १५ : ३७ मा प्रकाशित

जीवन बीमा कम्पनी - साढे ४ प्रतिशतले घट्यो नाफा, कसले कति कमाए ?

चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा जीवन बीमा कम्पनीहरुको नाफा साढे ४ प्रतिशतभन्दा बढीले घटेको छ । कम्पनीहरुले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु आर्थिक वर्षको पुस मसान्तसम्मको अवधिमा ४.७३ प्रतिशतले नाफा घटेको हो । 

१४ वटा जीवन बीमा कम्पनीहरुले पुस मसान्तसम्मको अवधिमा ३ अर्ब ३२ करोड ३३ लाख रुपैयाँ नाफा कमाएका छन् । जुन गत आर्थिक वर्षको सोही अवधिको ३ अर्ब ४८ करोड ८२ लाख रुपैयाँ भन्दा ३.७३ प्रतिशतले कम हो । चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा १४ वटा जीवन बीमा कम्पनीहरुमध्ये ९ वटाको नाफा बढेको छ भने ५ वटाको घटेको छ । समीक्षा अवधिमा मुनाफा आर्जनको आधारमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्स र व्यवसाय वृद्धिदरको आधारमा एलआइसी नेपाल शीर्ष स्थानमा रहेका छन् । समीक्षा अवधिमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले ३९ करोड ५८ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । जुन गत आवको सोही अवधिको तुलनामा  १२.९८ प्रतिशत बढी रहेको छ । त्यस्तै धेरै नाफा कमाउने कम्पनीको दोस्रो स्थानमा रहेको नेपाल लाइफ इन्स्योरेन्सको मुनाफा २७.४५ प्रतिशतले घटेको छ । कम्पनीले यस अवधिमा ३३ करोड ९६ लाख रुपैयाँ आर्जन गरेको छ । मुनाफाको आधारमा तेस्रो स्थानमा रहेको नेशनल लाइफ इन्स्योरेन्सको नाफा २.७६ प्रतिशतले बढेर २८ करोड ६८ लाख रुपैयाँ पुगेको छ ।

त्यस्तै चालु आवको पुस मसान्तसम्ममा सन नेपाल लाइफ इन्स्योरेन्सको नाफा १.११ प्रतिशतले बढेर २८ करोड ५४ लाख रुपैयाँ, सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको १९.२१ प्रतिशतले बढेर २७ करोड ६१ लाख रुपैयाँ र आइएमई लाइफको १.०४ प्रतिशतले बढेर २७ करोड ६ लाख रुपैयाँ खुद नाफा पुगेको छ । त्यस्तै यो अवधिमा एशियन लाइफले २६ करोड ३५ लाख रुपैयाँ नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५.३० प्रतिशतले धेरै हो । त्यस्तै सिटिजन लाइफको नाफा ०.२४ प्रतिशतले बढेर २३ करोड १५ लाख रुपैयाँ, एलआइसी नेपालको ५८.३६ प्रतिशतले बढेर २२ करोड ४५ लाख रुपैयाँ पुगेको छ । त्यस्तै यो अवधिमा हिमालयन लाइफ इन्स्योरेन्सको नाफामा गत आर्थिक वर्षको भन्दा ४५.०६ प्रतिशतले गिरावट आएको छ । यो कम्पनीले चालु आर्थिक वर्षको पुस मसान्तसम्मको अवधिमा २० करोड ६७ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । 

समीक्षा अवधिमा मेट लाइफको नाफा ८.५६ प्रतिशतले घटेर २० करोड ३५ लाख रुपैयाँ, सूर्यज्योति लाइफको २.९२ प्रतिशतले बढेर २० करोड १८ लाख रुपैयाँ, प्रभु महालक्ष्मी लाइफको २७.०७ प्रतिशतले घटेर १३ करोड ३१ लाख रुपैयाँ र सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा कम्पनीको नाफा ५२.०३ प्रतिशतले घटेर ३८ लाख रुपैयाँमा पुगेको छ । 

बृद्धिदरको आधारमा एलआईसी अघी 

खुद नाफा आन्तर्गत गत आर्थिक वर्षको तुलनामा एलआइसी नेपालको नाफा सबैभन्दा बढी बृद्धि भएको छ । एलआइसी नेपालले मुनाफा ५८.३६ प्रतिशतले बृद्धि गर्न सफल भएको हो । त्यस्तै, दोस्रो नम्बरमा रहेको सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको खुद नाफा १९.२१ प्रतिशत र तेस्रो नम्बरमा रहेको रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको खुद नाफा १२.९८ प्रतिशतले बृद्धि भएको छ । त्यस्तै एशियन लाइफको नाफामा ५.३० प्रतिशतको वृद्धि देखिएको छ । 

त्यस्तै सूर्यज्योति लाइफको २.९२ प्रतिशत, नेशनल लाइफको २.७६ प्रतिशत, सन नेपाल लाइफको १.११ प्रतिशत, आईएमई लाइफको १.०४ प्रतिशत र सिटिजन्स लाइफको ०.२४ प्रतिशतले बढेको छ । यी बाहेक अन्य कम्पनीहरुको नाफा घटेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको