ईङवा हाइड्रोपावर लिमिटेडले आगामी पुस १६ गते आफ्नो १६औं वार्षिक साधारणसभा आयोजना गर्ने निर्णय गरेको छ। मंसिर २२ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सभालाई काठमाडौंको गौशालास्थित होटल क्रिष्टल पशुपतिमा बिहान ११ बजे सुरु गर्ने निर्णय गरेको हो।
यस पटक बोलाइएको साधारणसभामा सेयरधनीलाई लाभांश वितरण गर्ने कुनै प्रस्ताव भने समावेश गरिएको छैन। सभामा गत आर्थिक वर्षका लागि तयार पारिएको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणसहितका वित्तीय विवरणहरूमाथि छलफल गरी पारित गर्ने कार्यसूची रहेको छ।
साथै, चालू आर्थिक वर्षका लागि नयाँ लेखापरीक्षक नियुक्त गर्ने र उनको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभामा पेश गरिनेछ। नियमनकारी निकायबाट भविष्यमा प्राप्त हुन सक्ने निर्देशनहरू कार्यान्वयन गर्न सञ्चालक समितिलाई आवश्यक अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव समेत सभाको एजेन्डामा समावेश गरिएको छ।
साधारणसभा प्रयोजनका लागि कम्पनीले पुस ८ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। यस अनुसार नेपाल स्टक एक्सचेन्जमा पुस ७ गतेसम्म सेयरधनी कायम रहेका लगानीकर्तामात्र कम्पनीको १६औं वार्षिक साधारणसभामा सहभागी हुन पाउने छन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस