पछिल्लो समय बैंक तथा वित्तीय संस्थाले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई धमाधम लाभांश घोषणा गरिरहेका छन् । केही बैंक तथा वित्तीय संस्थाले लाभांश घोषणा गरी वार्षिक साधारणसभाबाट पारित समेत गरिसक्दा केहीको भने घोषणा हुन बाँकी छ । हालसम्म १३ वाणिज्य बैंकले लाभांश घोषणा गरेका छन् ।
लाभांश घोषणा गर्ने वाणिज्य बैंकहरुमा एनएमबि बैंक, लक्ष्मी सनराइज बैंक, कृषि विकास बैंक, नेपाल एसबिआई बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, ग्लोबल आइएमई बैंक, सिद्धार्थ बैंक, सिटिजन्स बैंक, सानिमा बैंक, एभरेष्ट बैंक र माछापुच्छ्रे बैंक र कुमारी बैंक रहेका छन् ।
लाभांश घोषणासँगै केही बैंकले वार्षिक साधारण सभा पनि सम्पन्न गरिसकेका छन् ।
एभरेष्ट बैंकले आफ्ना सेयरधनीका लागि २० प्रतिशत लाभांश घोषणा गरी वार्षिक साधारणसभाबाट पारित पनि गरिसकेको छ । बैंकले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट ६ प्रतिशत बोनस र १४ प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश साधरणसभाबाट पारित गरेको हो । सिद्धार्थ बैंकले सेयरधनीलाई १०.५३ प्रतिशत लाभांश वितरणको घोषणा गरी साधारणसभाबाट पारित गरिसकेको छ । जसमा ५ प्रतिशत बोनस सेयर तथा ५.५३ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि समेत) गरी १०.५३ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरेको छ ।
एनएमबी बैंकले यसवर्ष १० प्रतिशत लाभांश वितरण गर्ने भएको छ । बैंकले ५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश (करसहित) गरी १० प्रतिशत वितरण गर्ने निर्णय गरेको छ । बैंकले वार्षिक साधारण सभाको मिति भने सार्वजनिक गरेको छैन । नेपाल एसबीआई बैंकले पनि आफ्ना सेयरधनीलाई ९ प्रतिशत लाभांश दिने भएको छ । बैंकले ४ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको हो । ग्लोबल आइएमई बैंकले ८ प्रतिशत लाभांश घोषणा गरी वार्षिक साधारण सभाबाट समेत पारित गरिसकेको छ ।
माछापुच्छ्रे बैंकले पनि आफ्ना सेयरधनीलाई ४ प्रतिशत बोनस सेयर र ४ प्रतिशत नगद लाभांश (करसहित) गरी ८ प्रतिशत लाभांश वितरणको प्रस्ताव वार्षिक साधारणसभाबाट पारित गरिसकेको छ ।
त्यसैगरी सिटिजन्स बैंकले इन्टरनेसनलले ५.२३ प्रतिशत लाभांश सेयरधनीलाई वितरण गर्ने निर्णय वार्षिक साधारण सभाबाट पारित गरेको छ । बैंकले ५ प्रतिशत बोनस सेयर र ०.२६ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको थियो ।सानिमा बैंकले ७.३७ प्रतिशत लाभांश वितरणको घोषणा गरी साधारणसभाबाट पारित गरिसकेको छ । स्ट्यान्डर्ड चार्टर्ड बैंकले नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । बैंकले नाफाबाट सेयरधनीलाई १९ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । कम्पनीले साधारण सभाका लागि मंसिर २९ गते बोलाएको छ । लक्ष्मी सनराइज बैंकले १०.५३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ, जसमा १० प्रतिशत बोनस सेयर र ०.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि पुस १ गते बोलाएको छ ।
कृषि विकास बैंकले आफ्ना सेयरधनीलाई १३ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । ३.२५ प्रतिशत बोनस सेयर र ९.७५ प्रतिशत नगद लाभांश गरी १३ प्रतिशत लाभांश वितरण गर्ने भएको हो । साथै बैंकले मंसिर २९ गते साधारण सभाका लागि बोलाएको छ । नेपाल एसबिआई बैंकले कुल ९ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । बैंकले गत आर्थिक वर्षको वितरणयोग्य नाफाबाट ४ प्रतिशत बोनश सेयर र लाभांशमा लाग्ने कर प्रयोजनका लागि समेत गरी ५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो ।
कुमारी बैंकले भने यस बर्ष लाभांश नदिने भएको छ । बैंकको कार्तिक २६ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने घोषणा गरेको थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस