चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमाससम्म वाणिज्य बैंकहरूले कर्मचारीको तलब भत्तामा ३० अर्ब रुपैयाँ भन्दा बढी खर्च गरेका छन्। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार २० वटा वाणिज्य बैंकले पुस मसान्तसम्म कुल ३० अर्ब १५ करोड ४६ लाख रुपैयाँ खर्च गरेका हुन्।
अघिल्लो आर्थिक वर्ष २०८१/८२ को यही अवधिमा बैंकहरूले २८ अर्ब ४७ करोड ४३ लाख रुपैयाँ खर्च गरेका थिए। यसरी हेर्दा चालु वर्षमा बैकहरुकाे कर्मचारी खर्च ५.९० प्रतिशतले वृद्धि भएको देखिन्छ। समीक्षा अवधिसम्म सबैभन्दा बढी खर्च गर्ने बैंकमा राष्ट्रिय वाणिज्य बैंक रहेको छ।बैंकले पुससम्म २ अर्ब ३१ करोड ५६ लाख रुपैयाँ कर्मचारी तलब भत्तामा खर्च गरेको छ । अघिल्लो वर्ष यही अवधिमा २ अर्ब ७ करोड ५० लाख रुपैयाँ खर्च गरेको थियो। यस आधारमा बैंकको खर्च ११.५९ प्रतिशतले बढेको छ।
त्यस्तै, दोस्रो धेरै खर्च गर्ने बैंक नबिल बैंक रहेको छ। नबिलले चालु वर्ष पुससम्म २ अर्ब १४ करोड ६ लाख रुपैयाँ खर्च गरेको छ। जुन अघिल्लो वर्षको १ अर्ब ८६ करोड ५६ लाख रुपैयाँको तुलनामा १४.७३ प्रतिशतले बढी हो। तेस्रो स्थानमा ग्लोबल आइएमई बैंक रहेको छ । जसको कर्मचारी खर्च अघिल्लो वर्षको १ अर्ब ८४ करोड ४४ लाख रुपैयाँबाट बढेर चालु वर्ष २ अर्ब ५ करोड ३३ लाख रुपैयाँ पुगेको छ। जुन ११.३२ प्रतिशतले वृद्धि भएको हो।
खर्च वृद्धिदरका आधारमा भने सिटिजन्स बैंक इन्टरनेशनल अग्रस्थानमा रहेको छ। बैंकले अघिल्लो वर्ष पुससम्म ८३ करोड ८९ लाख रुपैयाँ खर्च गरेकोमा चालु वर्ष सोही अवधिमा बढेर १ अर्ब ३ करोड १६ लाख रुपैयाँ खर्च गरेको छ । जुन २२.९७ प्रतिशतको वृद्धि हो। समीक्षा अवधिसम्म सबैभन्दा कम खर्च गर्ने बैंक स्ट्यान्डर्ड चार्टर्ड बैंक रहेको छ। बैंकले ५२ करोड २२ लाख रुपैयाँ खर्च गरेको छ। जुन अघिल्लो वर्षको ५४ करोड ३० लाख रुपैयाँको तुलनामा ३.८३ प्रतिशतले कम हो। स्ट्यान्डर्ड चार्टर्डसँगै एनआईसी एसिया बैंक र प्रभु बैंकको कर्मचारी खर्च घटेको छ भने बाँकी १७ वटा बैंकको खर्च बढेको तथ्यांकले देखाएको छ।
कुन बैंक गरे कति खर्च ?
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस