नेकपा एमालेका महासचिव शंकर पोखरेलले जेनजी आन्दोलनका घटनाको छानबिन गर्न गठन गरिएको आयोग निष्पक्ष अनुसन्धानका लागि नभएको निष्कर्ष आयोगकै प्रतिवेदनले पुष्टि गरेको बताएका छन्।
उनले सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो धारणा व्यक्त गरेका हुन्। साथै, निर्वाचन र आयोगको प्रतिवेदनपछि नेपाली राजनीति नयाँ मोडतर्फ अघि बढिरहेको उल्लेख गर्दै उनले वर्तमान परिस्थितिमा ‘नयाँ शक्ति’ र ‘नेतृत्व’लाई आफ्नै दृष्टिकोणअनुसार काम गर्ने अवसर दिनु उपयुक्त हुने बताएका छन्। जनतालाई पनि प्रत्यक्ष अनुभवका आधारमा मूल्यांकन गर्ने अवसर दिनु नै विवेकपूर्ण कदम हुन सक्ने उनको भनाइ छ।
उनले लेखेका छन् ,‘कार्की आयोग र आम निर्वाचन ०८२ अल्गोरिदममार्फत नेपाली समाजमा परेको प्रभावलाई राजनीतिक र कानूनी वैधानिकता दिने प्रयास थियो भन्ने कुरा स्पष्ट छ,’ महासचिव पोखरेलले भनेका छन्, ‘सोही अनुसारको निर्वाचनको परिणाम र आयोगको प्रतिवेदन आएको छ ।अल्गोरिदमको प्रयोगबाट लोकप्रियतावाद, अराजकतावाद र अवसरवादको मिश्रणबाट नयाँ शक्तिको उदय भएको छ । अबको बाटो सजिलो नहुन सक्छ– राष्ट्र र लोकतन्त्र दुवैले केही समय चुनौतीको सामना गर्नुपर्ने देखिन्छ। तर पनि सत्य कुरा के हो भने– लोकप्रियतावाद, अराजकतावाद र अवसरवाद आजका चुनौतीहरुको समाधानको बाटो होइन र विचारधारात्मक राजनीतिको दीर्घकालीन विकल्प पनि होइन ।'
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस