नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भदौ २३ र २४ गते भएका घटनाहरू सामान्य आन्दोलन वा क्रान्ति नभई तत्कालीन सरकारलाई विस्थापित गर्ने उद्देश्यले रचिएको पूर्वनियोजित षड्यन्त्र भएको बताएका छन्। एमालेको सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा कार्यशालालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदनको सारांश उद्धृत गर्दै ती घटनाहरू प्रायोजित तथा आपराधिक गतिविधिको हिस्सा रहेको दाबी गरे।
उनले संवैधानिक तथा लोकतान्त्रिक प्रक्रियामार्फत बहुमतप्राप्त सरकारलाई हटाउन नसकेपछि अवैधानिक र आपराधिक उपायहरू अपनाइएको आरोप लगाए। ती घटनाका लागि लामो समयदेखि योजनाबद्ध तयारी गरिएको उनको भनाइ थियो।
ओलीका अनुसार आगजनी गर्ने तरिका, पेट्रोल बम निर्माण तथा प्रज्वलनशील पदार्थलाई थप घातक बनाउने सम्बन्धी तालिम र तयारी पहिलेदेखि नै गरिएको थियो। त्यसैले उक्त घटनालाई आकस्मिक नभई सुनियोजित रूपमा सञ्चालन गरिएको गतिविधिका रूपमा हेर्नुपर्ने उनको तर्क थियो।
उनले लोकप्रिय नेताहरूलाई बदनाम गर्न तथा उनीहरूविरुद्ध झुटा र बनावटी आरोपहरू सिर्जना गर्ने प्रयास समेत सोही योजनाको अंग रहेको जिकिर गरे।
उनले भने, ‘गत भाद्र २३ र २४ गतेको घटनालाई कसैले आन्दोलन भन्छन्, कसैले क्रान्ति । गर्नेहरूले त क्रान्ति भन्ने नै भए । युवाहरू तथा नवयुवाहरूको हत्याको प्रपञ्च गराउने क्रियाकलापलाई पनि उनीहरूले क्रान्ति भन्ने नै भए । आपराधिक क्रियाकलापको आयोजना आफैँ गर्ने, काँक्रो खाइसकेपछि बियाँ अर्काको गालामा टाँसेर आरोप लगाउने काम उनीहरूले त गर्ने नै भए । तर त्यो एउटा षड्यन्त्रपूर्ण, पूर्वनियोजित घटना थियो । यो मेरो भनाइ होइन । राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदनको सारसंक्षेपमा भाद्र २३ र २४ गतेको घटना पूर्वनियोजित, पहिल्यै षड्यन्त्र गरिएको तथा प्रायोजित घटना थियो भन्ने कुरा उल्लेख गरिएको छ । त्यो यथार्थ हो ।’
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस