Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा सूचीकृत कम्पनी २९४ पुगे: वित्तीय क्षेत्रकै हिस्सा ५०.२ प्रतिशत, अन्य क्षेत्रको अवस्था कस्तो ?

अर्थ संसार

बुधबार, २७ जेठ २०८३, १५ : ४२ मा प्रकाशित

नेप्सेमा सूचीकृत कम्पनी २९४ पुगे: वित्तीय क्षेत्रकै हिस्सा ५०.२ प्रतिशत, अन्य क्षेत्रको अवस्था कस्तो ?

चालु आर्थिक वर्षको १० महिनाको अवधिमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा १ खर्ब भन्दा बढीको सेयर सूचीकृत भएको छ । चालु आर्थिक वर्ष २०८२/८३ को वैशाख मसान्तसम्ममा नेप्सेमा १ खर्ब ३६ अर्ब ३० करोड रुपैयाँ बराबरको सेयर सूचीकृत भएको हो ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आवको १० महिनामा ४५ अर्ब ५४ करोड रुपैयाँ बराबरको साधारण सेयर (आईपीओ) सूचीकृत भएको छ । यस्तै, नेप्सेमा ४० अर्ब ३३ करोड रुपैयाँ बराबरको बोनस सेयर सूचीकृत भएको छ । त्यस्तै ९ अर्ब ६४ करोड रुपैयाँ बराबरको हकप्रद सेयर, २७ अर्ब ५० करोड रुपैयाँ बराबरको म्युचुअल फन्ड, ३ अर्ब ४५ करोड रुपैयाँ बराबरको डिबेन्चर, ९७ करोड १७ लाख बराबरको एफपीओ र २ करोड २९ लाख रुपैयाँ बराबरको अन्य गरी उक्त रकम बराबरको सेयर नेप्सेमा सूचीकृत भएको हो । 

समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले २७ अर्ब २३ करोड रुपैयाँ बराबरको म्युचुअल फण्ड, ९ अर्ब १२ करोड रुपैयाँ बराबरको साधारण सेयर, ४ अर्ब ९४ करोड रुपैयाँ बराबरको हकप्रद सेयर, २० करोड रुपैयाँको डिबेन्चर र ५ करोड रुपैयाँको एफपीओ गरी कुल ४१ अर्ब ५३ करोड रुपैयाँ बराबरको सेयर निष्काशनका लागि अनुमति दिएको छ । नेपाल स्टक एक्सचेन्जमा वैशाख मसान्तमा सूचीकृत ९ अर्ब ४८ करोड सेयरको चुक्ता मूल्य ९ खर्ब ३४ अर्ब ८ करोड रुपैयाँ रहेको छ । वैशाख मसान्तमा नेप्सेमा सूचीकृत कम्पनीहरूको संख्या २९४ रहेको छ । सूचीकृत कम्पनीहरुमध्ये १३३ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने १०३ जलविद्युत् कम्पनी, २८ उत्पादन तथा प्रशोधन उद्योग, ९ होटल, ७ लगानी कम्पनी, ४ व्यापारिक संस्था र १० अन्य समूहका रहेका छन् । गत वर्षको सोही अवधिमा सूचीकृत कम्पनीहरूको संख्या २७१ रहेको थियो ।

सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ५०.७ प्रतिशत रहेको छ । त्यसैगरी, जलविद्युत् कम्पनीको हिस्सा १७.५ प्रतिशत, लगानी कम्पनीको हिस्सा ६.९ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ८.८ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ४.६ प्रतिशत, होटेलको हिस्सा ३.३ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा ८.३ प्रतिशत रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको