बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीहरूबाट हुने सम्भावित बदमासी र अनुचित कार्यलाई नियन्त्रण गर्न नेपाल राष्ट्र बैंकले कठोर नीति लिने भएको छ। केन्द्रीय बैंकले इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरूका लागि 'नमुना कर्मचारी सेवा विनियमावली' मा संशोधन गर्दै केही कडा र कसिलो व्यवस्था थप गर्ने प्रस्ताव अघि बढाएको हो।
बैंक तथा वित्तीय संस्था कर्मचारीले आफ्नो जबाफदेहीताअन्तर्गतका कार्य सम्पादन गर्दा सदैव बैंक तथा वित्तीय संस्थाको भलो चिताई इमान्दारिता तथा बफादारिताका साथ गर्नुपर्ने व्यवस्थालाई प्रभावकारी बनाउन राष्ट्र बैंकले मस्यौदामा केही कडा प्रावधान थप गरेको हो।
मस्यौदामा समेटिएका व्यवस्थाहरू:
- डर-धम्की र किर्ते हस्ताक्षरमा पूर्ण बन्देज: बैंक तथा वित्तीय संस्थाका कर्मचारीले कुनै पनि ग्राहक वा व्यक्तिलाई प्रलोभनमा पार्न, डरत्रास देखाउन वा जबरजस्ती गरेर इच्छाविपरीत काम गराउन पाउने छैनन्। साथै, ग्राहकको जानकारीबिना उनको नाममा नक्कली हस्ताक्षर गरी कुनै पनि पत्र वा कागजात तयार पार्न पाइने छैन।
- कर्जाको दुरुपयोग र व्यक्तिगत लाभ लिन नपाइने: कर्मचारीले आफ्नो पदीय प्रभावको दुरुपयोग गरी ग्राहकलाई ऋण लिन लगाउने र उक्त रकम आफूले चलाउने जस्ता कार्य गर्न पाउने छैनन्। ग्राहकसँग व्यक्तिगत फाइदा जोडिएका कुनै पनि किसिमका आर्थिक कारोबार गर्न पूर्ण रूपमा रोक लगाइनेछ।
- नैतिक आचरण र शिष्ट व्यवहारको अनिवार्य शर्त: ग्राहकलाई सेवा दिँदा कर्मचारी सदैव नैतिक दायरा र इमानदारिताभित्र रहनुपर्नेछ। कर्मचारीको दुर्व्यवहार वा अनैतिक क्रियाकलापका कारण संस्थाको साख र प्रतिष्ठामा आँच आउने वातावरण सिर्जना गर्न पाइने छैन।
- ऋण असुली र लिलामी प्रक्रियामा सहभागी हुन रोक: सम्बन्धित बैंक, वित्तीय संस्था वा ऋण असुली न्यायाधीकरण लगायतका निकायहरूबाट हुने धितो लिलाम बढाबढ र ऋण असुलीसम्बन्धी कुनै पनि प्रक्रियामा बैंकका कर्मचारी प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा संलग्न हुन पाउने छैनन्।
- अनुचित लेनदेनमा प्रतिबन्ध: कर्मचारीले ग्राहकसँग प्रत्यक्ष रूपमा, परिवारका सदस्यमार्फत वा अन्य कुनै पनि माध्यम प्रयोग गरेर गैरकानुनी वा अनुचित लेनदेन गर्न पाउने छैनन्।
उल्लेखित यी नियमहरू उल्लंघन गरेको पाइएमा सम्बन्धित कर्मचारीलाई प्रचलित कानुन तथा नियमअनुसार कडा विभागीय कारबाही गरिने व्यवस्था राष्ट्र बैंकले गरेको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस