Like us!
Follow us!
Connect us!
Watch us!

सेयरबजारका लागि स्वर्णिम वर्ष

कृष्ण भट्टराई

मंगलबार, ३१ चैत्र २०७७, १४ : ३० मा प्रकाशित

सेयरबजारका लागि स्वर्णिम वर्ष

यो बर्ष नेपालको सेयर बजारका लागि स्वर्णिम बर्ष रह्यो । विश्वभरिनै फैलिएको कोरोनाका कारण देशको अर्थतन्त्र तहसनहस अवस्थामा पुग्दा नेपालको सेयर बजारले भने ऐतिहासिक उचाई हासिल गर्न सफल भएको छ । 

यो बर्ष नेप्से परिसूचक सर्वाधिक उच्च विन्दुमा पुगेको छ । यो बर्ष कोरोनाका कारण लगानीका अन्य क्षेत्रहरु खुम्चिँदा सेयर बजारमा भने उभार आएको हो । यस बर्ष नेप्से परिसूचकसंगै आइपिओमा आवेदन दिनेको संख्या, दोस्रो बजार कारोबार गर्ने लगानीकर्ताहरुको संख्याका साथै दैनिक सेयर कारोबार रकममा पनि उछाल आएको छ । 

अघिल्लो बर्षको चैत ११ गते सरकारले कारोनाका कारण लकडाउन घोषणा गरेपछि बन्द भएको नेपालको सेयर बजार ९८ दिनपछि असार १५ गते मात्र खुलेको थियो । अघिल्लो बर्षको अन्तिम दिन चैत्र ८ गते नेप्से परिसूचक १ हजार २ सय ६९.३० को बिन्दुमा पुगेर कारोबार बन्द भएका थियो ।  

यो बर्षको सुरुवातमा कोरोनाका सेयर बजार बन्द रह्यो । असार १५ गतेबाट मात्र दोस्रो बजार कारोबार नियमित भएको हो । असार १५ बाट नियमित कारोबार सुरु भएको नेपालको सेयर बजारले यो बर्षको अन्तिम दिनसम्म आइपुग्दा नयाँ मुकाम हाँसिल गर्न सफल भएको छ । यो एक बर्षमा नेप्से परिसुचक १ हजार ४ सय ४५.४९ अंकले बृद्धि भएर २ हजार ७ सय १४.७९ बिन्दुमा पुगेर यो बर्षलाई बिदाई गरेको छ । 

यो बर्ष नेपालको नेप्से परिसूचकमा लागि मात्र नभएर कारोबार रकमका दृष्टिकोणले पनि सुखद् रह्यो । अघिल्ला बर्षहरुमा दैनिक २ अर्बभन्दा कम रकमको कारोबार हुने गरेकोमा यो बर्ष भने कारोबार रकम बढेर १० अर्बभन्दा माथिसम्म पुगेको थियो । अहिले नेपालको सेयर बजारमा औषतमा ६ अर्बभन्दा माथिको कारोबार हुने गरेको देखिन्छ ।     

त्यस्तै यो बर्ष आईपिओमा आवेदन दिने लगानीकर्ताको संख्यामा भएको बृद्धिका हिसाबले पनि सुखद रह्यो । अघिल्लो बर्ष २०७६ सालको अन्तिममा आवेदन खुल्ला गरेको नेपाल पुनर्बिमा कम्पनीको आईपिओमा जम्मा ३ लाख ९१ हजार ६२६ जनाको आवेदन परेको थियो भने यो बर्ष जारी भएको ज्योति लाईफ इन्स्योरेन्सको आईपिओमा सर्वाधिक १८ लाख ४२ हजार ४८० जनाको आवेदन गरेको थियो ।

यो बर्ष अघिल्लो बर्षको तुलनामा डिम्याट खाता खोल्ने लगानीकर्ताहरुको संख्यामा पनि उल्लेखनीय रुपमा बृद्धि भएको छ । अघिल्लो बर्षको अन्तिमसम्ममा नेपालमा डिम्याट प्रयोगकर्ताहरुको संख्या १० लाखको आसपासमा रहेको यो बर्ष यो संख्या बढेर ३३ लाखभन्दा माथि पुगेको छ । 

यो बर्ष नै नेपालकै इतिहासमा एकै कम्पनीले सर्वाधिक उच्च संख्यामा आईपिओ जारी गरेको छ । यो बर्ष नेपाल पुर्वाधार विकास बैंक (निफ्रा) ले ८ करोड कित्ता सेयर निष्काशन गरेको थियो, जुन नेपालकै इतिहासमा सर्वाधिक हो । 

अघिल्लो बर्षसम्म पनि कतिपय राम्रा राम्रा कम्पनीको आइपिओमा पनि आवेदन नपर्ने अवस्था थियो तर अहिले अनलाईनबाट नै मेरो सेयरमार्फत सेयर आवेदन दिन सकिने प्रणाली विकास भएसंगै अहिले बैकमा धाउनु पर्ने बाध्यता हटेको छ । जसका कारण अहिले आइपिओ खोलेको पहिलो दिनमै मागभन्दा बढी सख्यामा आबेदन पर्ने गरेको छ ।

केहि पहिलेसम्म सेयरको कारोबार कपाल फुलेका बुढापाकाहरुले गर्छन् भन्ने मानसिकता थियो तर अहिले बिस्तारै यो मानसिकता पनि हट्दै गइरहेको छ । सेयर बजारमा युवा पुस्ताहरुको प्रबेशसँगै आगामी बर्ष नेपालको सेयर बजारले नयाँ उचाई चुम्ने अनुमान सहजै गर्न सकिन्छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको