Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारमा जुवा खेल्ने कि मुनाफा कमाउने तपाइँकै हातमा

कृष्ण भट्टराई

बुधबार, २९ बैशाख २०७८, १६ : १७ मा प्रकाशित

सेयर बजारमा जुवा खेल्ने कि मुनाफा कमाउने तपाइँकै हातमा

सेयर बजारमा लगानी गरेर कमाउने सम्भावना जति हुन्छ, गुमाउने सम्भावना पनि त्यतिकै हुन्छ । जसले जोखिम बहन गर्न सक्ने क्षमता राख्नेहरुले  मात्रै सेयर बजारमा कमाउँछन् । सेयर बजार कतिपय मानिसहरुले भने जस्तो जुवाघर भने होईन । 

विश्वमा जुन कुनै व्यवसायमा पनि जोखिम हुन्छ । फरक यति हो कि कुनैमा जोखिम बढी हुन्छ भने कुनैमा कम । यदि कुनै मानिस जोखिम मोल्न चाहँदैन भने उसका लागि व्यवसायभन्दा जागिर सुरक्षित हुन सक्छ । भनिन्छ जहाँ बढी जोखिम त्यहाँ बढी प्रतिफल।

तपाईँ यदि जोखिम बहन गर्न चाँहनुहुन्न भने तपाईंका लागि उत्तम विकल्प भनेकै रोजगारी हुन सक्छ । जहाँ तपाईले आफ्नो श्रम बेच्नुहुन्छ । त्यसबापत नियमित रुपमा पारिश्रमिक प्राप्त गर्नसक्नुहुन्छ । यसमा तपाईँले कुनै प्रकारको जोखिम बहन गर्नुपर्ने हुँदैन ।

के सेयर बजारमा गरिने हरेक लगानीमा जोखिम हुन्छ त ? सेयर बजारमा तपाईँले कति जोखिम बहन गर्ने भन्ने तपाईँ स्वयम्को  हातमा हुन्छ । तपाईँ जोखिम बहन गर्न चाहनु हुन्न भने राम्रो प्रतिफल दिइरहेका कम्पनी हेरेर, कम्पनीको समग्र अबस्थाको अध्ययन गरेर लगानी गर्नु हुन्छ भने तिनले दिने प्रतिफलले तपाइँको जोखिम बहन गर्छ । अहिले पनि नेपालको सेयर बजारमा कतिपय कम्पनीहरुको सेयर मूल्य २०० रुपैयाँको हारहारीमा छ । यस्ता कम्पनीहरुको केही आधारभूत कुराहरुमात्र हेरेर लगानी गर्न सके धेरै नोक्सानी व्यहोर्न पर्दैन । मुनाफा पनि धेरै नहुन सक्छ । 

सामान्यतः कम्पनीहरुले प्राथमिक सेयर (आइपिओ) जारी गर्दा १०० रुपैयाँ प्रतिकित्ता मूल्यमा बिक्रि गर्ने गर्दछन् । त्यही आईपिओका लागि हामी मारामार गर्छौं । ३७ हजार जना आवेदकले पाउने आईपिओमा १८ लाखभन्दा बढीले आवेदन दिएको रेकर्ड छ ।  के हामीले आईपिओमा आवेदन गर्दा कहिल्यै कम्पनीको बित्तीय विवरण हेरेका छौं ? कमैले  हेरेका हौंला । हामीले जस्तो कम्पनीले आईपिओ निष्काशन गरे पनि आवेदन दिने गरेका छौं । 

कतिपय नयाँ लगानीकर्ताहरुले त मेरो सेयरमा देखाउने सबै डिबेन्चर, म्युचुअल फण्डमा नबुँझरै पनि आवेदन गर्ने गरेको देखिन्छ । जसरी हाँमीले १०० रुपैयाँको आईपिओका लागि मारामार गरिरहेका छौं, त्यसरी नै हाँमीले कम्पनीका बारेमा केही अध्ययन गरेर, बुझेर न्यून मूल्य भएका कम्पनीका सेयर दोस्रो बजारबाटै खरिद गर्दा पनि यसले दीर्घकालिन रुपमा राम्रो मुनाफा दिन सक्छ । 

तर यसो भन्दै गर्दा लगानीकर्ताहरुलाई के लाग्न सक्छ भने नयाँ आईपिओ जारी गर्ने कम्पनीहरुको त सेयर मूल्य बढ्छ नै । नयाँ आईपिओ जारी गर्ने जस्तो कम्पनीको पनि सेयर मूल्य अहिलेको बुलिस अवस्थामा कम्तिमा पनि ४०० रुपैयाँ प्रतिकित्ता त पुगेकै छ । तर दास्रो बजारबाट किन्ने कम्पनीको सेयर मूल्य त यसरी बढ्दैन नि। हो स्वभाविक रुपमा अहिले आईपिओ जारी भएका कम्पनीको सेयर मूल्य तुलनात्मक रुपमा पुराना कम्पनीहरुको सेयर मूल्यभन्दा बढी होला तर भोलि यिनै कम्पनीहरु पनि त पुराना होलान् । अहिले तपाईंलाई परेका आईपिओमध्ये कति बेच्नु भयो त ? अवश्य पनि अहिलेसम्म आईपिओ परेका अधिकांशले ती कम्पनीहरुको आईपिओ बेचेको पाइँदैन । अझै आईपिओमा आवेदन दिने व्यक्तिमध्ये २ तिहाई व्यक्तिको पँहुचमा दोस्रो बजार पुगेकै छैन ।  

पूँजीबजारलाई जुवा घर बनाउने वा नबनाउने  हामी आफैंमा  र्निभर हुने गर्छ । हामीले कस्ता कम्पनीको सेयर खरिद गर्छौं त्यहीअनुसार हाम्रो लगानी जुवामा लगाएको दाउ हुने कि नहुने भन्ने कुरा निर्धारण गर्छ । केही साता यता बिशाल बजार कम्पनी, चन्द्रागिरी हिल्स जस्ता कम्पनीको सेयर हल्लाको पछाडि दौडिएर महंगो मूल्य खरिद गर्दा केही लगानीकर्ताले जुवाको खालमा गुमाएजस्तै आफ्नो लगानी गुमाएका छन् । 

केही दिनअघिमात्र ८ हजार २ सय रुपैयाँ प्रतिकित्ता पुगेको बिशाल बजार कम्पनीको मूल्य लगातार सर्किट लाग्दै ४ हजार ६ सयको बिन्दुसम्म झरेको छ । फेरी बुधबार कम्पनीको सेयर मूल्य ९.९९ प्रतिशतले बृद्धि भएको छ । इतिहासलाई हेर्दा यो कम्पनीको सेयरमा तिब्र चलखेल हुने गरेको देखिन्छ । यो कम्पनीको मूल्य जसरी अस्वभाविक रुपमा बढ्छ, त्यसरी नै घट्ने गरेको देखिन्छ । त्यसकारण हौसिएर यस्ता कम्पनीमा लगानी गर्दा केही मान्छेले कमाउँछन् भने धेरैले गुमाउन पुग्छन् । 

त्यसै गरी प्रतिसेयर आम्दानी नकारात्मक भएको चन्द्रागिरी हिल्सको सेयरमा लगानी गर्नेहरुले पनि नोक्सानी व्यहोरेका छन् । २ हजार ८०० सम्म मूल्य पुगेको कम्पनीको सेयर मूल्य अहिले २ हजार भन्दा कम छ । त्यस कारण सुझबुझका साथ कुनै पनि कम्पनीको सेयरमा लगानी गर्न सकेमा अवश्य पनि लगानीकर्ताहरुले सेयर बजारबाट नोक्सानी व्यहोर्नु भने पर्दैन । तर हल्लाको पछि लागेर च्याँखे थाप्ने प्रवृतिले सेयरमा लगानी गर्दा भने क्षणिक रुपमा त्यसबाट केहि कमाइ त होला तर दीर्घकालिन रुपमा भने फाइदा हुँदैन । 

हामीले विभिन्न कम्पनीहरुको लाभांश इतिहासलाई हेर्दा पनि कतिपय कम्पनीहरुका दीर्घकालिन लगानीकर्ताहरुले कम्पनीले विभिन्न समयमा वितरण गरेको लाभांशबाट नै मनग्य आम्दानी गरिरहेको देखिन्छ । अहिले प्रविधिको युगमा हामीले एकै क्लिकमा कुन कम्पनीको वित्तीय अवस्था कस्तो छ ? कुन कम्पनीले कति लाभांश वितरण गरिरहेको छ भन्ने जानकारी प्राप्त गर्न सक्छौं । यस्तो अवस्थामा पनि हामीले नै हल्लाको पछि लागेर फेसबुके बिद्धानहरुको प्रवचन सुनेर सेयरमा लगानी गर्ने अनि सामाजिक सञ्जालमा मलाई फलानो काकाले फलानो मामाले फसायो भनेर रोइलो गर्नुको कुनै तुक हुँदैन । 

सेयर बजारमा तपाईंलाई कोही कसैले फसाउन सक्दैन । हो बजारमा विभिन्न जाल बिच्छ्यायर फसाउने षडयन्त्र अवश्य हुन्छ तर त्यो जाल अदृष्य हुँदैन । जाल प्रष्ट देख्न सकिन्छ । त्यो जालमा फस्ने वा नफस्ने हाम्रो विवेकको कुरा हो । यदि हामी त्यो जालो बुझ्ने, देख्नेसम्मको क्षमता विकास भएको छैन भने सेयरको दोस्रो बजारमा प्रवेश नगरेकै राम्रो । यदि कोही त्यो जाल देख्दादेख्दै हाम फाल्न जान्छ भने उसलाई रामराम भन्न सकिएला तर काँध थाम्न भने सकिँदैन ।

कतिपय मानिसहरुले अहिले सामाजिक सञ्जालमार्फत नयाँ लगानीकर्ताहरुलाई कसरी सेयरमा लगानी गर्ने, कुन कम्पनीमा लगानी गर्ने भन्ने गुरुमन्त्र दिईरहेको देखिन्छ । वास्तवमा लगानीकर्ताहरुले कुन कम्पनीमा भन्दा पनि कस्ता कम्पनीमा लगानी  गर्ने भन्ने कुरा बुझ्नु जरुरी हुुन्छ ।  

सेयरमा लगानी गरेर दीर्घकालिन रुपमा कमाउन सकिने गुरुमन्त्र भनेकै कम्पनीको बारेमा गरिने आधारभूत अध्ययन, विश्लेषण नै हो । विभिन्न समूहहरुमा लागेर सूचना प्राप्त गरेर चलखेल गरेर अल्पकालिन रुपमा केही मुनाफा त होला तर दीर्घकालिन रुपमा तपाईँले राम्रो व्यवस्थापन र वित्तीय अवस्था भएका कम्पनीहरुमा लगानी गर्न सक्नुभयो भने नेपालको नेप्से परिसूचक जतिको बिन्दुमा पुगे पनि तपाईँले भने सेयरमा गरेको लगानीबाट आम्दानी नै प्राप्त गर्नसक्नु हुने छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको