Like us!
Follow us!
Connect us!
Watch us!

अन्य क्षेत्र बन्द हुँदा सेयरमा ओइरिदै लगानी, दैनिक कारोबार रकम २० अर्ब पुग्नेसक्ने

अर्थ संसार

सोमबार, १० जेठ २०७८, १५ : २५ मा प्रकाशित

अन्य क्षेत्र बन्द हुँदा सेयरमा ओइरिदै लगानी, दैनिक कारोबार रकम २० अर्ब पुग्नेसक्ने

यतिबेला देशका अधिकांश जिल्लामा निषेधाज्ञा जारी छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना संक्रमणलाई न्यूनीकरण गर्न काठमाडौं उपत्यकासहित देशका अधिकांश जिल्लामा निषेधाज्ञा लगाइएको छ ।   त्यसैगरी, देशमा राजनीतिक अस्थिरता छाएको हो ।  पछिल्लो राजनीतिक घट्नाक्रम र अन्योलले सेयर बजार पनि प्रभावित हुन्छ कि भन्नेो आम अनुमान र आशंका थियो। तर बजारले यी कुरालाई वेवास्ता गर्दै आफ्नै गतिमा उकालो लागेको छ । आज पनि सेयर बजारले नयाँ रेकर्ड राखेको छ । सोमबार नेप्से परिसूचक र कारोबार रकम दुवैले नयाँ रेकर्ड राखेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आज सेयर कारोबार मापक नेप्से परिसूचक ३.०७ अंकले बढेर २८२३.०६ बिन्दुमा पुगेको छ । नेप्से परिसूचकको यो बिन्दु बजार बन्द हुँदाको यो बिन्दु नै सर्वाधिक उच्च बिन्दु हो । आज नेप्से परिसूचक ०.११ प्रतिशतले बढेको हो ।  यस्तै सेन्सेटिभ पनि परिसूचक १.३१  अंकले बढेर ५०८.४९ बिन्दुमा पुगेको छ ।

सोमबार कूल २१६ कम्पनीको २ करोड ७१ लाख ४० हजार २०२  कित्ता सेयर खरिदबिक्री हुँदा १३ अर्ब १७ करोड ५३ लाख ५३ हजार १८८  रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार रकमले पनि ऐतिहासिक रेकर्ड राखेको छ ।

अबको सेयर बजार कता जाला भनि नेपाल इन्भेष्टर फोरमका अध्यक्ष छोटेलाल रौनियारसँग अर्थसंसारले गरेको प्रश्नमा रौनियारले अहिले लगानीका अन्य क्षेत्रहरु समेत ठप्प भएको र विदेशमा रहेका नेपालीहरुले समेत सेयरबजारमा सक्रिय लगानी गरिरहेकाले दैनिक कारोबार रकम वृद्धि भएको भन्दै उनले छिट्टै दैनिक कारोबार रकम २० अर्ब पुग्ने दाबी गरे ।

आज कारोबार भएका कूल १३ वटा उपसमूहमध्ये ५ वटा उपसमूहको सेयरमूल्य बढेको छ भने बाँकी ८ वटा उपसमुहको सेयरमूल्य घटेको छ ।

आज निर्जीवन बीमा कम्पनी र इन्भेष्टमेन्ट उपसमूहको सेयरमूल्य सबैभन्दा धेरै बढेको छ । निर्जीवन बीमा समूहको सेयरमूल्य १.३९ प्रतिशतले बढेको छ भने लगानी समूहको सेयरमूल्य १.३७ प्रतिशतले बढेको छ । त्यस्तै, म्युचुअल फण्ड, बैंकिङ्ग र हाइड्रोपावर समूहको सेयरमूल्य बढेको छ ।

आज व्यापार समूहको सेयरमूल्य सबैभन्दा धेरै घटेको छ । यो समूहको सेयरमूल्यमा १.३७ प्रतिशतले गिरावट आएको छ । 

त्यसैगरी, सोमबार बरुण हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक नाफा कमाएका छन् । कम्पनीको सेयरमूल्य ९.९५ प्रतिशतले बढेर ४४२ रुपैयाँ कायम भएको छ । सर्वाधिक नाफा कमाउने अन्य कम्पनीहरुमा युनाइटेड इदी मर्दी एण्ड आरबी हाइड्रोपावर, माउन्टेन हाइड्रो नेपाल, ग्रीन डेभलपमेन्ट बैंक, हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी, अरुण भ्याली हाइड्रोपावर, आईएमई जनरल इन्स्योरेन्स, छ्याङ्दी हाइड्रोपावर पन्चकन्या माइ हाइड्रोपावर र सूर्या लाइफ इन्स्योरेन्स कम्पनी रहेका छन् ।

यता, एक्सेल डेभलपमेन्ट बैंकको सेयरमूल्यमा सबैभन्दा धेरै गिरावट आएको छ । कम्पनीको सेयरमूल्य ४.४७ प्रतिशतले घटेको हो । त्यसैगरी, क्रमशः गुडवील फाइनान्स कम्पनी, सेन्ट्रल फाइनान्स, मिथिला लघुवित्त, सिन्धु विकास बैंक, समृद्धि फाइनान्स, जानकी फाइनान्स, पोखरा फाइनान्स, मल्टीपपर्स फाइनान्स र मितेरी डेभलपमेन्ट बैंकका लगानीकर्ताले पनि सर्वाधिक गुमाएका छन् ।

त्यस्तै, आज हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीले सर्वाधिक कारोबार गरेको छ । कम्पनीले हिजो आइतबार मात्रै १:१ अर्थात् १ बारबार १ को अनुपातमा हकप्रद सेयर निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । हकप्रद निष्काशनको अनुमति पाएसँगै कम्पनीको कारोबारसँगै सेयरमूल्यमा उछाल आएको हो । कम्पनीले एक अर्ब २६ करोड १९ लाख रुपैयाँ बराबरको कारोबार गरेको छ ।

त्यसैगरी, नेको इन्स्योरेन्स, नेपाल पुनर्बीमा कम्पनी आईएमई जनरल इन्स्योरेन्स, सूर्या लाइफ इन्स्योरेन्स, सिभिल बैंक, कुमारी बैंक अरुण भ्याली हाइड्रोपावर, ज्योति विकास बैंक र नेपाल बंगलादेश बैंक लिमिटेडले पनि सर्वाधिक कारोबार गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको