Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारले नयाँ अर्थमन्त्रीबाट गरेका अपेक्षा

कृष्ण भट्टराई

शुक्रबार, ०१ साउन २०७८, ०७ : ४४ मा प्रकाशित

सेयर बजारले नयाँ अर्थमन्त्रीबाट गरेका अपेक्षा

कोरोनाको दोस्रो लहर सुरुआतसँगै सरकारले लगाएको निषेधाज्ञा पछि नेपालको पूँजी बजार निरन्तर उकालो लागिरहेको थियो । बैशाख १६ गतेदेखि लागेको निषेधाज्ञा पनि धेरै व्यापार व्यवसायहरु ठप्प हुँदा अधिकांश लगानीकर्ता सेयर बजारमा प्रबेश गरेका हुन् । 

अघिल्लो लकडाउन अबधिमा पनि नेपालको पूँजी बजार निरन्तर उकालो लागिरहेको थियो । यसबीचमा नेप्से परिसूचकसँगै कारोबार रकम पनि ह्वात्तै बढेको थियो । यसै अवधिमा नेपालको पूँजी बजारमा एकै दिन करिब २० अर्ब रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । 

निरन्तर बढिरहेको नेप्से परिसूचक र कारोबार रकममा ब्रेक लगाउने काम धितोपत्र बोर्डको विज्ञप्तिले गरेको कतिपय लगानीकर्ताहरुको आरोप छ । सरकारले कोरोनाको प्रभाव केही कम भएसँगै व्यापार व्यवसाय खुकुलो गर्ने रणनीति अपनाएपछि कतिपय लगानीकर्ता सेयर बजारबाट बाहिरिएकाले बजारमा करेक्सन आएको तर्क गर्नेहरु पनि छन् ।

अहिले सरकार परिवर्तन भएको छ । केपी ओली नेतृत्वको अघिल्लो सरकारले बजेटमार्फत पूँजीगत लाभकरको दायरा बृद्धि गरेको थियो । सरकारले बजेटमार्फत अल्पकालिन लगानीकर्ताहरुका लागि ५ प्रतिशत लाग्दै आएको पूँजीगत लाभ कर बृद्धि गरेर ७।५० प्रतिशत पुर्याएको थियो । दीर्घकालिन अर्थात १ बर्षभन्दा लामो समय होल्ड गरिने सेयरमा भने ५ प्रतिशतमात्र पूँजीगत लाभकर कायम उल्लेख थियो । आगामी आर्थिक बर्षको बजेट कार्न्यान्वयनसँगै नयाँ पूँजीगत लाभकर कार्यन्यन हुनेछ । 

तर अहिले ओली सरकार ढलेर कांग्रेस सभापनत शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार बनिसकेको छ । नयाँ सरकारको अर्थमन्त्रीका रुपमा उर्जामन्त्री रहँदा जनताको धेरै वाहावाही पाएका माओवादी नेता जनार्दन शर्मा आएका छन् । शर्माको आगमनसँगै नेपालको पूँजीबजार पनि विकास हुने अपेक्षा कतिपय लगानीकर्ताहरुले सामाजिक सञ्जालहरुमार्फत व्यक्त गरिरेहका छन् ।

शर्मा उर्जामन्त्री हुँदा नेपालको लोडसेडिङ अन्त्य गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेकाले पनि उनीबाट लगानीकर्ताहरुको अपेक्षा बढेको हुनसक्ने बताउँछन् अनुभवी लगानीकर्ता शिव पौडेल । अहिलेसम्म शर्मा खासै विवादमा नआएको र जनअपेक्षा अनुसार नै विगतमा पनि काम गरेको हुनाले अर्थमन्त्रीका रुपमा उनले लाखौ लगानीकर्ताहरुको भावना बुझ्छन् भन्ने अपेक्षा रहेको पौडेलको तर्क छ । 

अहिले अर्थमन्त्रीले बजारको विकासका लागि धेरै केही गर्नुपर्ने छैन । नियामक निकायको भूमिकालाई प्रभावकारी बनाउन पहल गरेर लगानीकर्ताहरुको मनोवललाई मात्र उच्च गराउने गरी काम गर्न सकेमा बजारले नयाँ उचाई हासिल गर्नसक्ने लगानीकर्ताहरुको तर्क छ । 

लामो समयदेखि लगानीकर्ताहरुले अल्पकालिन र दीर्घकालिन लगानीकर्ताहरुलाई पूँजीगत लाभकरको दरमा परिवर्तन गरिनु पर्ने माग राख्दै आएका थिए । बजारप्रति उदार मानिने निवर्तमान अर्थमन्त्री बिष्णु पौडलले लगानीकर्ताहरुको माग बमोजिम करको दायरा त परिबर्तन गरे तर अल्पकालिन लगानीकर्ताहरुका लागि २.५० प्रतिशतले बृद्धि गरे । अहिले नयाँ सरकारले नयाँ बजेट ल्याउने चर्चा चलिरहेको अवस्थामा लगानीकर्ताहरुमा पूँजीगत लाभकरको दायरालाई परिवर्तन गरोस् भन्ने चाहाना लगानीकर्ताहरुको देखिन्छ ।

अहिले तत्कालका लागि अर्थमन्त्रीले निकट भविश्यमै आउन लागेको मौद्रिक नीतिलाई सेयर बजारलाई प्रभावित नगर्ने गरी जारी गर्न निर्देशन दिनु जरुरी देखिन्छ । नयाँ मन्त्री सेयर बजारमैत्री हुनु सेयर बजारका लागि मात्र नभई सरकारकै राजस्व आम्दानीका लागि पनि लाभदायी हुने लगानीकर्ता डम्बर रावत बताउँछन् । 

अहिले सेयर बजारले महिनामै १ अर्बको हारहारीमा सरकारको राजस्वमा योगदान गरिरहेको छ । यस्तो अवस्थामा सरकारले बजारलाई प्रभावित गरे दीर्घकालिन रुपमा राजस्व प्रभावित हुने उनको तर्क छ । सरकारले बजारलाई नियन्त्रण गर्नेभन्दा नियमन र विकास गर्ने नीति अवलम्बन गर्न सके बजार र सरकार दुवैका लागि लाभदायक हुने उनको बुझाई छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको