Like us!
Follow us!
Connect us!
Watch us!
कम्पनीको आधारभूत र प्राविधिक विश्लेषण

किन बन्दैछ निफ्रा बजारको हट केक ?

अर्थ संसार

मंगलबार, २५ माघ २०७८, १० : ४६ मा प्रकाशित

किन बन्दैछ निफ्रा बजारको हट केक ?

नेपाली बजारमा हालसम्म कै ठूलो आईपीओ निष्कासन गरेर सर्वाधिक चर्चा कमाएको नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएको एक पब्लिक कम्पनी हो ।

बैंककाे परिचय 

पूर्वाधार क्षेत्रमा लगानी जुटाउने मुख्य उद्देश्यका साथ नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड २०७५ साल फागुन २२ गते, बुधबारदेखि सञ्चालनमा आएकाे थियाे । पूर्वाधार विकासमा मात्र केन्द्रीत भई काम गर्ने गरी विद्यमान बैंक तथा वित्तीय संस्थाभन्दा फरक बैंकको रुपमा नेपाल सरकारसहित बैंक, बीमा र अन्य सार्वजनिक तथा निजी क्षेत्रको लगानीमा मुलुकको पहिलो पूर्वाधार विकास बैंकको रुपमा इजाजत प्राप्त गरी अहिले बैंक सञ्चालनको तेस्रो वर्षमा रहेको छ ।

बैंकले सार्वजनिक तथा निजी साझेदारीमार्फत नेपालको पूर्वाधार विकासका लागि यातायात, कृषि, ऊर्जा, पर्यटन, सेज, आधुनिक शहरी पूर्वाधार, सूचना प्रविधीलगायतको क्षेत्रमा काम गर्ने लक्ष्य रहेको छ । 

निफ्राको लगानी पहलमा काभ्रे जिल्लाको पाँचखालमा 'स्मार्ट सिटी' विकास गरिने भएको छ । पाँचखाल नगरपालिकासँगको सहकार्यमा निर्माण गरिने 'स्मार्ट सिटी' को बजार अध्ययन गर्न निफ्राले एक कम्पनीलाई नियुक्त गरिसकेको छ ।  निफ्राले अमेरिकाको जेएलएल नामक संस्थालाई बजार अध्ययन गर्न लगाउने भएको हो । निफ्राले पाँचखाल नगरपालिकासँग गत साउन १२ गते नगरलाई ‘स्मार्ट सिटी’ बनाउने सहकार्यमा सात शर्तसहितको सम्झौता गरेको थियो । करिब ४५ सय रोपनी क्षेत्रफलमा 'स्मार्ट सिटी' विकास गरिनेछ । यसभित्र पूर्वाधार विकासका लागि करिब साढे दुई अर्ब रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान गरिएको छ ।

यसका साथै, निफ्राले पश्चिम नेपालका परियोजनाहरुबाट उत्पादित बिजुली भारत हुँदै बंगलादेशसम्म पुर्‍याउन आवश्यक पूर्वाधार (ट्रान्समिसन लाइन) निर्माण गर्नका लागि भारतको सबैभन्दा ठूलो ऊर्जा कम्पनी अडानी ट्रान्समिसन कम्पनीसँग प्रारम्भिक एमओयु गरिसकेकाे छ । नेपालमा उत्पादन हुने बिजुलीका लागि ट्रान्समिसन लाइन अडानी पावरले बनाउने र खपत बंगलादेशले गर्ने गरी प्रक्रिया अगाडि बढेको हाे । जलविद्युत निर्माणमा बंगलादेशी कम्पनीले लगानी गर्नेछ । यसका लागि निफ्रा र अडानीसँगै बंगलादेशको कम्पनीसँग पनि साझेदारी हुने पक्का भएको छ । तीन देशका ३ वटै कम्पनीले यो परियोजना अगाडि बढाउन सेयर लगानी गरेर संयुक्त कम्पनी खोल्ने छन् । 

बैंककाे सेयर संरचना यस प्रकारकाे छ 

No description available.

बैंककाे लगानीका क्षेत्रहरू

बैंकको लगानीका क्षेत्रहरुमा उर्जा तर्फ (हाइड्रो र सोलार), सडक, सुरुङ, पर्यटन तर्फ (होटेल, केबलकार, एम्युजमेन्ट पार्क र रिक्रियशन सेन्टर), सामाजिक पूर्वाधारहरु (शिक्षा, स्वास्थ्य, एयरपोर्ट, मेडीकल कलेज, अस्पताल), विशेष आर्थिक क्षेत्र, औद्योगिक पूर्वाधारहरु, सिमेन्ट, सहरी विकास, सूचना तथा सञ्चार प्रविधि, वातावरण मैत्री, परियोजनाहरु, ठोस फोहोर मैला व्यवस्थापन, खानेपानी, सिंचाई तथा कृषि पूर्वाधारका परियोजनाहरु लगायतका पूर्वाधारहरु पर्दछन् ।

बैंककाे वित्तीय अवस्था 

बैंकले हालै मात्र चालु आर्थिक वर्ष २०७८/७९ काे दाेश्राे त्रैमासकाे अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेकाे थियाे । उक्त वित्तीय विवरण अनुसार दाेश्राे त्रैमाससम्म आइपुग्दा बैंकले ४४ करोड २६ लाख ४८ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा २५.६६ प्रतिशतले धेरै हाे । गत वर्षको यसै अवधिमा बैंकले ३५ करोड २२ लाख ५५ हजार रूपैयाँ खुद नाफा आर्जन गरेको थियो । समिक्षा अवधिसम्म बैंककाे खुद व्याज आम्दानी पनि ४४.६१ प्रतिशतले बढेर ८२ करोड ३५ लाख ५६ हजार रूपैयाँ पुगेकाे छ । गत वर्षको यसै अवधिमा बैंककाे खुद व्याज आम्दानी ५६ करोड ९४ लाख ८५ हजार रूपैयाँ रहेकाे थियाे । दाेश्राे त्रैमाससम्म आइपुग्दा बैंकको सञ्चालन मुनाफा पनि २५.५७ प्रतिशतले बढेर ६३ करोड २३ लाख २१ हजार रूपैयाँ पुगेकाे छ । गत वर्ष बैंकले ५० करोड ३५ लाख ७६ हजार रूपैयाँ सञ्चालन मुनाफा गरेको थियो । यसै अवधिसम्म बैंककाे वितरणयोग्य मुनाफा ३४ करोड ८६ लाख ४४ हजार रुपैयाँ रहेको छ । बैंकको चुक्ता पुँजी २० अर्ब रुपैयाँ र जगेडा कोषमा २ अर्ब ८४ कराेड ४४ लाख ६ हजार रुपैयाँ सञ्चित रहेको छ । बैंककाे प्रतिसेयर आम्दानी ( ईपीएस) ४ रुपैयाँ ४३ पैसा, प्रतिसेयर नेटवर्थ ११४ रुपैयाँ २२ पैसा र मूल्य आम्दानी अनुपात ८८.७६ गुणा रहेकाे छ ।

सेयर बजारमा निफ्राकाे स्थान :

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले गत माघ २ गते, शुक्रबारदेखि गत माघ ६ गते, मंगलबारसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ८ अर्ब रूपैयाँ बराबरकाे ८ करोड कित्ता साधारण सेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गरेकाे थियाे । बैंककाे २० करोड कित्ता साधारण सेयर (आइपिओ) गत माघ २९ गते, बिहीबार धिताेपत्र सूचीकरण विनियमावली, २०७५ बमाेजिम नेप्सेमा काराेबार हुन सक्ने गरी सूचीकृत भएको थियाे ।

सेयर बजारमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडलाई नियाल्दा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बैंककाे २१ कराेड ६० लाख कित्ता सेयर सूचिकृत छ । हाल नेप्सेमा यस बैंकको सेयरमूल्य ४ सय १२ रूपैयाँ रहेकाे छ । बैंकको सेयर एक वर्षयता अधिकतम ७ सय २६ रूपैयाँ र न्युनतम २ सय ६८ रूपैयाँ ५० पैसामा कारोबार भएको छ । 

कम्पनीको पछिल्लो १२० दिनको औषत मूल्य ३ सय ६४ रूपैयाँ २६ पैसा रहेको छ । कम्पनीको मूल्यलाई एकैछिन नियालौं । कम्पनीको औषत मूल्यलाई आधार मानेर हेर्दा कम्पनीको सेयर मूल्य बढेको छ । कम्पनीको सर्वाधिक मूल्य हेर्ने हाे भने अहिले यसकाे मूल्य केही घटेकाे छ । कम्पनीकाे एक वर्षकाे सर्वाधिक मूल्य ७ सय २६ रूपैयाँ रहेकोमा अहिले यसको मूल्य ४ सय १२ रूपैयाँ रहेकाे छ ।

बैंककाे लाभांश ईतिहास

बैंककाे आईपीओ दोश्रो बजारमा सूचिकृत भएको एक वर्ष हुँदैछ । पहिलो वर्ष अर्थात् आर्थिक वर्ष २०७७र७८ को मुनाफाबाट बैंकले आफ्ना सेयरधनीहरूलाई ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४२ प्रतिशत नगद गरी कुल ८.४२ प्रतिशत लाभांश वितरण गरेकाे छ ।

यो पनि पढ्नुहोस् : नेपाल इन्फ्रास्ट्रक्चर बैंकले गर्यो लाभांश घोषणा

बैंककाे व्यवस्थापन 

कम्पनीकाे हरेक अवस्थाहरूमा व्यवस्थापन पक्षकाे ठूलाे भुमिका हुने गर्दछ । कम्पनीकाे नाफा/घाटा, राम्राे/नराम्राे यस्ता सबै कुराहरू व्यवस्थापन पक्षसँग जाेडेर हेरिने भएकाले आफूले लगानी गर्ने कम्पनीकाे व्यवस्थापनकाे बारेमा पनि जान्नु जरूरी हुन्छ ।

हाल बैंककाे अध्यक्षमा अनुज अग्रवाल रहेका छन् । उनी नेपालमा वैचारिक चिन्तन भएको गतिशील उद्यमीको रुपमा परिचित छन् । अग्रवालले आफ्ना व्यवसायिक जीवनको दौरान विभिन्न क्षेत्रका उद्यमहरु जस्तैः पूर्वाधार, उद्योग, उर्जा, शिक्षा, रिटेल लगायतका उद्योग एवं कम्पनीहरू स्थापना र सोको सञ्चालनमा सक्रिय भूमिका खेलेका छन् । नेपालको सामाजिक एवं आर्थिक सम्भावनाहरुप्रति अत्यन्त जिज्ञासु अग्रवालले दशकौँदेखी विभिन्न संघ संस्थाहरुमा फरक-फरक क्षमतामा संलग्न भई कार्य गरेका छन् । उनी हाल नेपाल उद्योग परिसंघ (CNI) को पूर्व उपाध्यक्ष हुनुका साथै EO, YPO जस्ता प्रतिष्ठित संस्थाहरुको संस्थापक सदस्य समेत रहेका छन् । उनले विषय विज्ञको रुपमा नेपाल सरकार, गैह्र सरकारी संस्था, द्विपक्षीय र अन्य फ्रेमवर्कहरुमा संलग्न भई कार्य गरी सकेका छन् । अग्रवालले Vanderbilt University बाट सन् १९९६ मा MBA डिग्री हासिल गरेका थिए ।

यो पनि पढ्नुहोस् : भारत र बङ्गलादेशका व्यापारीहरुको लगानी भित्र्याउने निफ्राको फाइल ऊर्जा मन्त्रालयमा

बैंककाे सञ्चालकमा केदारनाथ शर्मा, चन्द्र ढकाल, लालमणी जाेशी, शंकर प्रसाद अधिकारी, सुमन पाेखरेल र लिमा अधिकारी रहेका छन् ।

बैंककाे प्रमुख कार्यकारी अधिकृतमा रामकृष्ण खतिवडा रहेका छन् । उनीसँग परियोजना, पूर्वाधार तथा उर्जा लगानी, परियोजना विकास तथा व्यवस्थापन लगायत इन्भेष्टमेन्ट तथा ट्रेजरीका क्षेत्रमा १९ वर्ष भन्दा बढी कार्य गरेको अनुभव रहेको छ । उनले एनआईबिएल क्यापिटल मार्केट, हाइड्रोईलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड, लगानी बोर्ड, विद्युत नियमन आयोग लगायतका उच्च तथा नेतृत्वदायी तहमा रहेर कार्य गरेको अनुभव छ । उनले एम. बि. एस. को उच्च शिक्षा हासिल गरी हाल इनफ्रास्ट्रक्चर फाईनान्समा पिएचडी गरिरहेका छन् । उनी चाटर्ड फाइनान्स एनलिष्ट, चार्टर्ड इकोनोमिष्ट, सर्टिफाइड पब्लिक प्राईभेट पार्टनरसीप प्रोफेसनल (सीपि ३ फाउण्डेसन) समेत छन् ।

प्राविधिक रुपमा हेर्दा कस्तो देखिन्छ निफ्राको अवस्था ?

यसअघि निफ्राको सेयर मूल्य ७२६ रुपैयाँसम्म पुगेको थियो।  आइपिओ लिस्टिङ्ग भएपछी भएको कारोबारमा लगातार सर्किट लाग्दै ७२६ रुपैयाँ सम्म पुगेको सेयरमूल्य त्यसपछि लगातार घट्दै २६८ को बिन्दुसम्म आइपुगेको थियो। ७२६ बाट घट्दै गर्दा बनेको डाउन ट्रेन्डलाइ ब्रेक गर्ने प्रयास धेरै पटक गरेतापनि त्यो ट्रेन्डलाइन ब्रेक हुन सकेको थिएन।  तर २६८ को न्युनतम बिन्दुसम्म आइपुगेर बढ्दै  मूल्य ३१० भन्दा माथि लाग्दै गर्दा ७२६ को बिन्दुबाट तल झर्दै गर्दा बनेको बलियो डाउन ट्रेन्डलाइन ब्रेक भएको थियो। यसरी बलियो डाउन ट्रेन्डलाइन ब्रेक भैसकेपछि बजार अलिकति ठुलो रेसियोमै बढ्ने गर्दछ।  ३१० को ट्रेन्डलाइन ब्रेक भएर मूल्य माथि बढ्दै यसअघि मूल्य ४१६ सम्म पुगेर एउटा करेक्सन आयो।  ४१६ बाट झर्दै ३३६ को बिन्दुसम्म आइपुगेर अहिले फेरी निफ्राको मूल्य बढ्दै ४१० को बिन्दुमा पुगेको छ।  

इन्डिकेटरहरुले के भन्दैछन ? 

भोलुम 
सेयरमूल्य उच्च रुपमा बढ्दै गर्दा सो कम्पनीको सेयर उच्च भोलुममा कारोबार हुन्छ भने त्यो कम्पनीको सेयरमा ठुला लगानीकर्ताहरुको प्रवेश भएको संकेत गर्दछ जसले सेयरमूल्य अझै बढेर जाने संकेत गर्दछ। सोमबार निफ्राको सेयर मूल्य उच्च रुपमा बढ्दै गर्दा निकै ठुलो भोलुममा कारोबार भएको हुँदा यसले आगामी दिनमा निफ्राको सेयर मूल्य बढेर जाने स्पष्ट संकेत गरेको छ।  

RSI
निफ्राको डेली चार्टमा RSI ७१.५९ को लेभलमा छ। RSI ७० भन्दा माथि रहनुले कम्पनी ट्रेडिङ्ग जोनमा रहेको संकेत गर्दछ। RSI ७० भन्दा माथि पुग्दै गर्दा ओभरबाउट जोनमा  पुगेको मानिन्छ र थप खरिद भन्दा पनि बिक्रि गर्नु उचित मानिन्छ तर बजार बुलिश ट्रेन्डमा रहँदै गर्दा ८० भन्दा माथिको RSI लाइ मात्रै ओभरबाउट जोन मानिने हुँदा मूल्य अझै बढेर माथि नै जान सक्ने सम्भावना देखिन्छ। यसअघि मूल्य ४१६ को बिन्दुमा पुग्दै गर्दा पनि ८० को लेभलको RSI बाट बजार घट्न थालेको थियो।  यसपटक पनि मूल्य बढ्दै जाँदा RSI ८० को लेभलमा पुग्दै गर्दा बजारले कसरी रियाक्ट गर्छ भन्ने कुरालाई विशेष महत्व दिएर हेर्नुपर्ने देखिन्छ।  

MACD
यसअघि निफ्राको सेयर मूल्य २९० भन्दा माथि लाग्दै गर्दा MACD लाइनले सिग्नल लाइनलाइ तलबाट माथितिर क्रस गर्दै बुलिश क्रसओभर दिएको थियो। त्यसपछि यसको सेयर मूल्य बढ्दै ४१६ को बिन्दुसम्म पुगेको थियो।  ४१६ को बिन्दुबाट मूल्य घटेर ३५० को बिन्दुमा आइपुग्दै गर्दा MACD ले वियरिस क्रसओभर दिएको थियो। तर अहिले फेरी MACD ले बुलिश क्रसओभर दिइसकेको छ।  MACD ले बुलिश क्रसओभर दिइसकेपछी मूल्य बढेर नै जाने गर्दछ।  यसले निफ्राको सेयर मूल्य बढ्ने संकेत गरेको छ। 

DMI
DMI लाइ निकै विश्वसनीय इण्डिकेटरको रुपमा लिइन्छ। निफ्राको सेयर मूल्य ३०० बाट माथि लाग्दै गर्दा नै +DI लाइनले -DI लाइनलाइ काटेर + DI लाइन तलबाट माथि गएको थियो जसले सेयर मूल्य बढ्दो ट्रेन्डमा जाने देखाईसकेको थियो। अहिले पनि त्यो ट्रेन्ड कायम छ र झन् बलियो भएर गएको छ। डेली चार्टमा +DI लाइन ४१.८७ को लेभलमा पुगेको छ जसले निफ्राको अपट्रेन्ड निकै बलियो अवस्थामा रहेको देखाएको छ भने ADX ३४.२४ को लेभलमा रहँदै गर्दा यसले मूल्य अझै बढेर जान सक्ने देखाएको छ।  

अबको टार्गेट कति ?
निफ्राको सेयर मूल्य ७२६ बाट घटेर २६८ को न्युनतम बिन्दुसम्म आएको थियो।  उच्चतम बिन्दु ७२६ र न्युनतम बिन्दु २६८ लाइ आधार मानी फ़िबोनासि लगाएर हेर्दा ३८.२ पर्सेन्टको लेभल ४४४ को बिन्दुमा छ।  बजारमूल्य बढेर ४४४ को बिन्दुमा पुग्दा एउटा रेसिस्टेन्स फेस गर्न सक्ने देखिएको छ भने यदि सो बिन्दुलाई पनि भोलुमसहित क्रस गर्छ भने निफ्राको अर्को टार्गेट ५२० को बिन्दु हुनेछ।  

No description available.

बैंकमा लगानी कति सुरक्षित ?

बैंककाे मूल्य आम्दानी अनुपात (पिई रेसियो) १००.०२ गुणा रहेकाे छ । सामान्यत पिई रेसियो १५ भन्दा कम भएको कम्पनी लगानीका लागि आकर्षक मानिन्छ । पिई रेसियो २० गुणालाई पनि लगानीका लागि खासै जोखिम नभएको ठानिन्छ । पिई रेसियोलाई मात्र आधार बनाएर हेर्ने हो भने अहिले यो बैंकमा गरिने लगानी केहि जोखिमपुर्ण देखिन्छ तर लगानी गर्दा लगानीकर्ताहरूले पिई रेसियो मात्र नभएर कम्पनीका विभिन्न पक्षहरूलाई राम्ररी केलाएर मात्र लगानी गर्नुपर्दछ ।

दिर्घकालिन रूपमा बैंकमा लगानी गर्नु एकदमै सुरक्षित मान्न सकिन्छ । बैंकका लगानीका क्षेत्रहरू बहुआयामिक छन् । बैंककाे वित्तीय अवस्था तथा व्यवस्थापकिय पक्ष पनि बलियाे छ । बैंकका भावी याेजनाहरू पनि स्पष्ट छन् । 

नोट : हामीले कम्पनीको समग्र अवस्था हेरेर विश्लेषण गर्ने हो यो कम्पनीको सेयरमा लगानी गर्ने वा नगर्ने भन्ने विषयमा नितान्तरुपमा लगानीकर्ताहरुको स्वविवेकमा र्निभर रहन्छ ।

यो पनि हेर्नुहोस् 

अहिलेको बजार Technical Bull, अबको बजार के दिगो होला? Share Analyst Dr. Keshav Shrestha

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको