Like us!
Follow us!
Connect us!
Watch us!

बजेटमा संशोधन,होटल बन्द गर्न निर्देशन,लाभांश घाेषणा,सम्पती माथि प्रहार गर्नेलाई ‘ब्यालेट’ बाट जवाफ

अर्थ संसार

विहीबार, २७ माघ २०७८, २३ : ०० मा प्रकाशित

आज माघ २७ गते, बिहीबार दिनभरका प्रमुख आर्थिक समाचारहरू तल उल्लेख गरिएका छन् ।

१. बजेटमा संशोधन, ८६ अर्बले घट्यो आकार

सरकारले बजेटकाे आकार पुन: संशाेधन गरेकाे छ । अर्थमन्त्री जनार्द्धन शर्माले चालु आर्थिक वर्षको बजेटको अर्धवार्षिक समीक्षामार्फत बजेटको आकार ८६ अर्ब रुपैयाँले घटाएका हुन् । याे सँगै चालु आर्थिक वर्षको बजेटको आकार १५ खर्ब ४६ अर्ब रुपैयाँमा झरेको छ । केपी शर्मा ओली नेतृत्वको सरकारले अध्यादेशमार्फत ल्याएको बजेटको आकार १६ खर्ब ४७ अर्ब ५७ करोडलाई घटाएर १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँ कायम गरेका अर्थमन्त्री जनार्दन शर्माले बजेटको आकार फेरी घटाएर १५ खर्ब ४६ अर्ब २८ करोड बनाएका हुन् । 

२. बलेफी हाइड्रोपावरको आईपीओ आजबाट खुल्यो, सिन्धुपाल्चोक जिल्लाका बासिन्दाले भर्न पाउने 

बलेफी हाइड्रोपावर कम्पनी लिमिटेडले आज माघ २७ गते, बिहीबारदेखि आयोजना प्रभावित स्थानिय बासिन्दाहरुकालागि साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गरेकाे छ । कम्पनीको जारी पूँजी १ अर्ब ८२ करोड ७९ लाख को १० प्रतिशतले हुने प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँ बराबरको १८ लाख २७ हजार ९ सय ७० कित्ता सेयर निष्कासन गरेकाे हाे । जसमध्ये सिन्धुपाल्चोक जिल्लाको आयाेजनाबाट प्रभावित क्षेत्रहरू कमशः जुगल गाउँपालिका वडा नं. २,३ र ४ (साविकको गोल्चे गा.वि.स., गुम्बा गा.वि.स. र पाङताङ गा.वि.स.) का लागि ६० प्रतिशत अर्थात १० लाख ९६ हजार ७८२ कित्ता र आयोजनाको १३२ के.भि. प्रशारण लाइनबाट प्रभावित योगय कमशः जुगल गाउँपालिकाको वडा न. ५ र ७, बलेफी गाउँपालिकाको वडा नं १, ३, ६ तथा ७ र सुनकोशी गाउँपालिकाको बडा नं. ७ का लागि ४० प्रतिशत अर्थात ७ लाख ३१ हजार १८८ कित्ता आईपीओ निष्कासन गरिएकाे हाे । आईपीओमा स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतममा १ लाख कित्ताको लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले आईपीओमा छिटोमा फागुन १२ गते र ढिलोमा फागुन २७ गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त साधारण सेयर सर्वसाधारणमा सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम ग्लोबल आईएमई क्यापिटल लिमिटेडले गर्नेछ । लगानीकर्ताहरुले यस आईपीओमा कुमारी बैंक जलबिरे शाखा, एनसीसी बैंक ढाँडे शाखा, ग्लोबल आईएमई बैंक चौतारा शाखा, लक्ष्मी बैंक चौतारा शाखा, लक्ष्मी बैंक खाडिचौर र महालक्ष्मी विकास बैंक खाडिचाैर शाखाबाट  कार्यालयबाट आवेदन दिन सक्नेछन्।

३. होटल याक एण्ड यती बन्द गर्न निर्देशन !

काठमाडौं दरबारमार्गस्थित होटल याक एण्ड यती र त्यसमा रहेको क्यासिनो सञ्चालन नगर्न  पर्यटन विभागले  निर्देशन दिएको छ । होटल र क्यासिनोले बुझाउनुपर्ने रोयल्टी र इजाजतपत्र नवीकरण दस्तुर ४२ करोड २५ लाख ६८ हजार २५३ रुपैयाा ४२ पैसा बुझाउन बाँकी रहेको भन्दै पर्यटन विभागले होटल र क्यासिनो बन्द गर्न निर्देशन दिएको हो । बुझाउन बाँकी रोयल्टी र नवीकरण दस्तुर बुझाउन पटक पटक पत्राचार गरेको र गोरखापत्रमा सार्वजनिक सूचना जारी गर्दा पनि बेवास्ता गरेकाले माघ २५ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले होटलको अचल सम्पत्ति रोक्का राख्ने, बैंक तथा वित्तीय संस्थामा रहेको कारोबार रोक्का राख्ने निर्णय गरेका थिए । मन्त्री आलेले ५ तारेस्तरको होटल वर्गीकरण प्रमाणपत्र पनि रद्ध गर्ने निर्णय गरेको पर्यटन विभागले होटलललाई लेखेको पत्रमा उल्लेख छ ।

४. रोकिएन नेप्सेको ओरालो यात्रा, फागुनकाे दोस्रो साता पछि सकारात्मक माहोल फर्कने अनुमान

साताकाे अन्तिम काराेबार दिन आज (बिहीबार) पनि सेयर बजारमा दाेहाेराे अंककाे गिरावट देखिएकाे छ । अनुभवी एवं सक्रिय लगानीकर्ता गोपाल स्वामीले अहिलेको बजारको करेक्सन नितान्त रुपमा अर्थतन्त्रमा देखिएको तरलता संकटका कारण आएको बताएका छन् । 'अहिले बढ्दो तरलताका कारण बैंकको कर्जाको ब्याजदर पनि बढिरहेको छ बैंकहरु थप कर्जा लगानी गर्ने अवस्थामा छैनन् जसका कारण केही हदसम्म बजारमा करेक्सन आयो निर्वाचनका कारण मास साइकोलोजी केही बलियो भएपनि त्यसले बजारलाई टिकाउन सकेन ठुला ब्रोकरहरुबाट म्यासिभ सेल आउँदा चुनावको समाचारकै कारण पनि बजार धेरै समय बढ्न सकेन' उनले भने 'अहिले नै बजार बियरिस चक्रमा प्रवेश गरेको भने कदापी होईन यो बुल भित्रको करेक्सन हो अब केही दिनसम्म बजार यस्तै अवस्थामा चल्न सक्छ तर फाल्गुनको दोस्रो साता पछि भने बजारमा सकारात्मक माहोल फर्कने मेरो अनुमान हो, अहिले पनि कतिपय कम्पनीहरु राम्रै चलिरहेका पनि छन् त्यस्ता कम्पनी हेरेर लगानी गर्नसके अहिले पनि बजारमा कमाउने अवसर छ ।' नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (बिहीबार) सेयर कारोबार मापक नेप्से परिसूचक ११.९६ अंकले घटेर २८०१.५६ विन्दुमा पुगेकाे छ । नेप्से ०.४३ प्रतिशतले घटेकाे हो । यस्तै, सेन्सेटिभ परिसूचक १.७० अंकले घटेर ५२७.२८ विन्दुमा झरेकाे छ । कूल २२७ वटा कम्पनीकाे ६९ लाख ५० हजार ८ सय ३८ कित्ता सेयर खरिदबिक्री हुँदा ३ अर्ब ८२ करोड ९५ लाख ३३ हजार ३ सय ५० रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ । स्टकका अनुसार काराेबार भएका १३ उपसमूहमध्ये ३ वटा उपसमूहकाे सेयर बढेकाे छ भने बाँकी १० वटा उपसमूहकाे सेयर घटेकाे छ । बिहीबार काराेबारमा नेपाल टेलिकम अब्बल छ । कम्पनीकाे २५ कराेड ४८ लाख रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे । आज एभरेष्ट इन्स्याेरेन्सकाे संस्थापक सेयरकाे मूल्य सबैभन्दा धेरै बढेकाे छ । कम्पनीकाे संस्थापक सेयरकाे मूल्य ५.३३ प्रतिशतले बढेर ४ सय ८९ रूपैयाँ ९० पैसा पुगेकाे छ । यस दिन मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सेयरकाे मूल्य सबैभन्दा धेरै घटेकाे छ । कम्पनीकाे सेयरमूल्य ४ प्रतिशतले घटेर एक हजार ६ सय ५६ रूपैयाँ कायम भएकाे छ । 

५. लुम्बिनी जनरल इन्स्याेरेन्सले गर्याे लाभांश घाेषणा

लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको माघ २६ गते, बुधबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको ९.५२३८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४७६१ प्रतिशत नगद गरी कुल १० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । उक्त प्रस्तावित लाभांश बीमा समितिबाट स्विकृत भई र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ ।

६. कर्पोरेट डेभलपमेन्टको हकप्रद भर्ने म्याद थप, फागुन १३ गतेसम्म आवेदन दिन पाइने

कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडले माघ ७ गतेबाट निष्कासन तथा बिक्री खुल्ला गरेकाे हकप्रद सेयरमा आवेदन दिने म्याद थपिएकाे छ । यसअघि आज माघ २७ गतेसम्म आवेदन दिन पाइने भनिएकाेमा अब उक्त हकप्रद सेयरमा फागुन १३ गते, शुक्रबारसम्म आवेदन दिन सकिनेछ । कम्पनीले १ बराबर १.५ को अनुपातमा  कुल ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता हकप्रद सेयर निष्कासन गरेको हो । कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने प्रयोजनका लागि पुस २६ गते एकदिन बुकक्लोज गरेको थियाे । त्यसैले, पुस २५ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्सें) मा कारोबार भई कायम भएका शेयरधनीहरूले मात्र हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् । कम्पनीको उक्त हकप्रद सेयरमा निष्कासन तथा बिक्री प्रबन्धकको काम  सिभिल क्यापिटल लिमिटेडले गरेकाे छ । लगानीकर्ताले बिक्री  सिभिल क्यापिटल, कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडका शाखा कार्यालयहरू र नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।

७. ६९.३६ प्रतिशतले बढ्यो सानिमा लाइफको नाफा, प्रतिसेयर आम्दानी ९ रुपैयाँ ३९ पैसा

सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको ०७८/०७९ को दाेश्राे त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार समिक्षा अवधीसम्म आइपुग्दा कम्पनीको खुद नाफा ६९.३६ प्रतिशतले बढेर ९ करोड ३९ लाख ७९ हजार रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ५ करोड ५४ लाख ९१ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । पुष मसान्तसम्म कम्पनीको बीमा शुल्क पनि २१.५२ प्रतिशतले बढेर १ अर्ब १६ करोड २१ लाख ७० हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिसम्ममा कम्पनीकाे बीमा शुल्क ९५ करोड ६३ लाख ४३ हजार रुपैयाँ रहेको थियो । हाल कम्पनीकाे चुक्ता पुँजी २ अर्ब रुपैयाँ र जगेडा काेषमा ३३ कराेड २३ लाख ४६ हजार रूपैयाँ सञ्चित रहेको छ । कम्पनीकाे जीवन बीमा काेषको आकार ७३.५२ प्रतिशतले बढेर २ अर्ब ८२ करोड ९५ लाख ५० हजार रुपैयाँ पुगेको छ । त्यसैगरी, कम्पनीको प्रतिसेयर आम्दानी ९ रुपैयाँ ३९ पैसा र कम्पनीकाे प्रतिसेयर नेटवर्थ ११८ रुपैयाँ ३७ पैसा रहेको छ ।

८. नयन बास्ताेला भन्छन्, " ‘नो भोट’ अभियान रोकिएको छैन, हाम्रो सम्पती माथि प्रहार गर्नेलाई ‘ब्यालेट’ बाट जवाफ दिन्छौँ"

लगानीकर्ता दवाव समूहका महासचिव नयन बास्तोलाले लगानीकर्ताहरुको 'नो भोट' अभियान रोकिएको नभइ परिमार्जन भएको बताएका छन् । लगानीकर्ताहरूकाे व्यवसाय र सम्पती माथि प्रहार गर्ने राजनितीक दल र तिनका नेताहरुलाई अब सामाजिक सञ्जालबाट नभई ब्यालेटबाट जवाफ दिने उनको तर्क छ । अर्थ संसार डटकमको कार्यक्रम लगानीकर्ताको आवाजसँगको कुराकानीमा बास्तोलाले भने ‘हिजो नियामकहरुको निरन्तर प्रहारबाट बजार घट्दा लगानीकर्ताहरु प्यानिक भएको अवस्थामा हामीले विभिन्न दवावमूलक कार्यक्रमहरु गरेका थियौँ तर अहिले त्यो बाहिरी रुपमा रोकिएको जस्तो देखिएको छ यसको प्रमुख कारण भनेको अहिले नियामक निकाय नेतृत्व बिहिन हुनु पनि हो तर हामी भित्री रुपमा नियामकहरुलाई दवाव दिइरहेका छौँ ।

९. ५ सयले बढ्याे सुनकाे मूल्य, चाँदीकाे भाउ स्थिर

बिहीबार सुनकाे मूल्य ताेलामा ५ सय रूपैयाँले बढेर ९३ हजार ९ सय रूपैयाँ कायम भएकाे छ । यस दिन चाँदीकाे मूल्य भने स्थिर रही प्रतिताेला एक हजार २ सय ८० रूपैयाँ नै कायम भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको