Like us!
Follow us!
Connect us!
Watch us!

लाभांश घोषणा, हकप्रद आउँदै, बोनस सूचिकृत, क्रिप्टो र रेमिट्यान्स +अन्य समाचार

अर्थ संसार

विहीबार, ०५ फागुन २०७८, २१ : ३१ मा प्रकाशित

आज (फागुन ५ गते, बिहीबार) दिनभरका प्रमुख आर्थिक समाचारहरू तल उल्लेख गरिएका छन् ।

१. धितोपत्र बोर्डकाे अध्यक्षमा रमेश कुमार हमाल नियुक्त, काे हुन् हमाल ?

नेपाल धिताेपत्र बाेर्डकाे अध्यक्षमा रमेश हमाल नियुक्त भएका छन् ।  मन्त्रिपरिषद्को बैठकले हमाललाई अध्यक्षमा नियुक्त गरेकाे हाे। यसअघि अर्थ मन्त्रालयले गठन गरेको छनौट तथा सिफारिस समितिले नेपाल धिताेपत्र बाेर्डकाे अध्यक्ष नियुक्तिको लागि ३ जनाको नाम सर्ट लिस्ट गरेको थियाे । डा. गोपाल प्रसाद भट्ट, रमेश कुमार हमाल र कृष्णराज पोखरेल सर्ट लिस्टमा परेका थिए । हमाल प्रधानमन्त्री शेरबहादुर देउवाकाे निकटका व्यक्ति हुन् । हमालसँग विदेशका सेयरबजारको ज्ञान र अनुभव रहेकाे छ । हमाल पुर्व गैरआवासिय नेपाली पनि हुन् उनी एनआरएन थाइल्याण्डका पुर्व अध्यक्ष समेत हुन् ।

२. आइएमई जनरल इन्स्योरेन्सले गर्याे लाभांश घाेषणा, ७ प्रतिशत बाेनस दिने

आइएमई जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ  । कम्पनीको आज (फागुन ५ गते, बिहीबार) बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३७ प्रतिशत नगद गरी कुल ७.३७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । उक्त प्रस्तावित लाभांश बीमा समितिबाट स्विकृत भई र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ  ।

३. आइएमई जनरल इन्स्योरेन्सले फागुन २२ गतेदेखि हकप्रद खुल्ला गर्ने,  माघ २७ गतेसम्म कायम हुनेले भर्न पाउने

आइएमई जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले फागुन २२ गतेबाट हकप्रद सेयर निष्कासन तथा  बिक्री खुल्ला गर्ने भएको छ । कम्पनीले १:०.४० अनुपातमा हकप्रद सेयर निष्कासन गर्न लागेको हो । कम्पनीले चुक्ता पूँजीकाे ४० प्रतिशत अर्थात ४६ करोड ३० लाख ३४ हजार ४०० रुपैयाँ बराबरको ४६ लाख ३० हजार ३ सय ४४ कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ । कम्पनीले हकप्रद निष्कासन गर्ने प्रयोजनका लागि फागुन १ गते, आइतबार एक दिन बुकक्लोज गरेको थियो । त्यसैले, माघ २७ गते, बिहीबारसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम भएका शेयरधनीहरूले मात्र हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् । कम्पनीको हकप्रदमा चैत्र १३ गते बैंकिङ समयसम्म आवेदन दिन सकिनेछ ।कम्पनीको उक्त हकप्रद सेयरमा निष्कासन तथा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटल लिमिटेडले गर्नेछ । लगानीकर्ताले बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड, आइएमई जनरल इन्स्योरेन्सका कार्यालयहरू र नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । मेराे सेयरबाट पनि हकप्रद भर्न सकिन्छ । 

४. आईपीओ ल्याउन लागेको नेष्डो समृद्ध लघुवित्तकाे नाफा घट्याे

नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को दाेश्राे त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ ।उक्त विवरण अनुसार चालु आर्थिक वर्षको दाेश्राे त्रैमाससम्म आइपुग्दा संस्थाकाे नाफा १० करोड ७३ लाख ८६ हजार रुपैयाँमा सीमित भएको छ । यो नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा १८.८७ प्रतिशतले थाेरै हाे । गत वर्षको यसै अवधिमा संस्थाले १३ करोड २३ लाख ७१ हजार रूपैयाँ खुद नाफा आर्जन गरेको थियो। समिक्षा अवधिसम्म संस्थाकाे खुद व्याज आम्दानी पनि १९.०९ प्रतिशतले घटेर १८ करोड ७५ लाख ७८ हजार रूपैयाँमा सिमित छ । गत वर्षको यसै अवधिमा संस्थाकाे खुद व्याज आम्दानी २३ करोड १८ लाख ४४ हजार रूपैयाँ रहेकाे थियाे । दाेश्राे त्रैमाससम्म आइपुग्दा संस्थाको सञ्चालन मुनाफा १८.८७ प्रतिशतले घटेर १७ करोड ४ लाख ५३ हजार रूपैयाँमा सिमित छ । गत वर्ष संस्थाले २१ करोड १ लाख १२ हजार रूपैयाँ सञ्चालन मुनाफा गरेको थियो । त्यस्तै, संस्थाको चुक्ता पुँजी १७ करोड २१ लाख २५ रुपैयाँ र जगेडा कोषमा ५४ करोड ३ लाख ८१ हजार रुपैयाँ सञ्चित रहेको छ । संस्थाले फागुन ११ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ८ करोड २८ लाख ७५ रुपैयाँ बराबरको ८ लाख २८ हजार ७ सय ५० कित्ता आईपीओ निष्कासन गर्दैछ ।

५. नेप्से परिसूचकसँगै घट्यो कारोबार रकम, ट्रनओभरमा जीवन विकास लघुवित्त अब्बल

साताकाे अन्तिम काराेबार दिन आज बिहीबार नेप्से परिसूचकसँगसँगै काराेबार रकम पनि अघिल्लाे दिनकाे तुलनामा घटेकाे छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (बिहीबार) सेयर कारोबार मापक नेप्से परिसूचक १.९३ अंकले घटेर २७३२.५२ विन्दुमा झरेकाे छ । नेप्से ०.०७ प्रतिशतले घटेकाे हो । यस्तै, सेन्सेटिभ परिसूचक भने स्थिर रहेकाे छ । कूल २३३ वटा कम्पनीकाे ४० लाख १७ हजार ४ सय २९ कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब २७ करोड ८१ लाख ७३ हजार रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ । स्टकका अनुसार काराेबार भएका १३ उपसमूहमध्ये ५ वटा उपसमूहकाे सेयर बढेकाे छ भने बाँकी ८ वटा उपसमूहकाे सेयर घटेकाे छ । बिहीबार जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे २२ कराेड ३७ लाख रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे । आज तेह्रथुम पावर कम्पनी लिमिटेडकाे सेयरमूल्य सबैभन्दा धेरै बढेकाे छ । कम्पनीकाे सेयरमूल्य ६.४७ प्रतिशतले बढेर ६ सय २५ रूपैयाँ पुगेकाे छ । यस दिन राष्ट्रिय बीमा कम्पनी लिमिटेडकाे संस्थापक सेयरकाे मूल्य सबैभन्दा धेरै घटेकाे छ । कम्पनीकाे संस्थापक सेयरकाे मूल्य ४.४६ प्रतिशतले घटेर १६ हजार ५१ रूपैयाँमा झरेकाे छ । 

६. नेप्सेमा निफ्रासहित ३ बैंककाे बाेनस सूचिकृत

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बिहीबार ३ बैंककाे बाेनस सूचिकृत भएकाे छ । स्टकका अनुसार नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडकाे ८ प्रतिशत बोनस बापतको एक कराेड ६० लाख कित्ता, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडकाे १०.९३ प्रतिशत बाेनस बापतकाे ३७ लाख २५ हजार ४ सय ५१ दशमलव ०५२५ कित्ता र  सिभिल बैंक लिमिटेडको ५ प्रतिशत बाेनस बापतकाे ४३ लाख २१ हजार ८ सय ३० दशमलव ४२ कित्ता सेयर सूचिकृत भएकाे हाे ।

७. ४ लाख बढी नेपाली क्रिप्टो कारोबारी, क्रिप्टोका कारण देशको रेमिट्यान्समा धक्का !

डिजिटल मुद्रा क्रिप्टो करेन्सीको प्रयोगका कारण बढी मुद्रा विदेशिएको आशंका गर्दै नेपाल राष्ट्र बैंक तथा अर्थ मन्त्रालय आक्रामक रुपमा प्रस्तुत भएका छन् । छोटो समयमानै सरोकारवालाले क्रिप्टो करेन्सी प्रयोगमा रोक लगाउन विभिन्न निर्णय तथा कदम अघि बढाउनाले क्रिप्टोकरेन्सी र ब्लकचेन प्रविधिमा खोज अनुसन्धान गर्दै आएका युवाहरु निरुत्साहित देखिएका छन् । वैदेशिक रोजगारीमा जाने नेपालीहरुको संख्या बढेतापनि रेमिट्यान्समा कमी देखिएको कारण विदेशमा रहेका नेपालीहरुले विदेशमा नै लगानी गरेको हुनसक्ने भन्दै सरकारले यस प्रति विशेष चासो र आशंका राखेको छ । वैदेशिक मुद्रा भित्रिने मुख्य श्रोत नै रेमिट्यान्स भएको हुँदा सरकारले रेमिट्यान्स चुवावटमा विशेष चासो राखेको छ । सिङ्गापुरको क्रिप्टोपेमेन्ट गटेवे ट्रिपल ए को प्रतिवेदन अनुसार नेपालमा ४ लाख २३ हजार ८ सय ४० जना क्रिप्टोकरेन्सी प्रयोगकर्ता रहेका छन् । क्रिप्टोकरेन्सी र व्लकचेनको वित्तीय साक्षरताले भविष्यमा थप लगानीकर्ता बढ्ने आशंकाका साथ सरकारले कडाइ गरेको बुझ्न सकिन्छ।

८. लुम्बिनी विकास बैंकले पठायाे बोनस

लुम्बिनी विकास बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूको हितग्राही खातामा बोनस सेयर जम्मा गरेकाे छ । बैंककाे पाैष ९ गते सम्पन्न भएकाे चाैधाैँ वार्षिक साधारण सभाले पारित गरेकाे १३ प्रतिशत बोनस सेयर बुक क्लाेज हुनुभन्दा अघिल्लाे दिनसम्म सेयर अभौतिकिकरण गराएका शेयरधनीहरुकाे सम्बन्धित हितग्राही खातामा फागुन १ गतेदेखि जम्मा गरिएकाे बैंकले जनाएकाे छ । बैंककाे सेयर रजिष्ट्रार मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । 

९. एक हजारले बढ्याे सुनकाे भाउ, १० रूपैयाँले बढ्याे चाँदी

बिहीबार सुनकाे मूल्य ताेलामा एक हजार रूपैयाँले बढेर प्रतिताेला ९६ हजार एक सय रूपैयाँ कायम भएकाे छ । यस दिन चाँदीकाे मूल्य पनि ताेलामा १० रूपैयाँले बढेर प्रतिताेला एक हजार २ सय ९५ रूपैयाँमा काराेबार भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको