Like us!
Follow us!
Connect us!
Watch us!

८ आर्थिक समाचार एकै साथ

अर्थ संसार

सोमबार, ०९ फागुन २०७८, ०८ : २३ मा प्रकाशित

आज फागुन ८ गते, आइतबार दिनभरका प्रमुख आर्थिक समाचारहरू तल उल्लेख गरिएकाे छ ।

१. जीवन विकास लघुवित्तकाे बम्पर लाभांश घाेषणा, ७० प्रतिशत बाेनस दिने

जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले बम्पर लाभांश घोषणा गरेको छ  । संस्थाको हिजाे (फागुन ७ गते, शनिबार) बसेकाे सञ्चालक समितिकाे बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको ७० प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि ३.६८ प्रतिशत नगद गरी कुल ७३.६८ प्रतिशत लाभांश वितरण गर्ने घाेषणा गरेकाे हाे । उक्त प्रस्तावित लाभांश राष्ट्र बैंकबाट स्विकृत भई र संस्थाको आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ  ।

२. समृद्धि फाइनान्सकाे हकप्रद आजदेखि खुल्याे, फागुन २९ गतेसम्म भर्न पाइने

समृद्धि फाइनान्स कम्पनी लिमिटेडले आज फागुन ८ गते, आइतबारबाट हकप्रद सेयर निष्कासन तथा  बिक्री खुल्ला गरेको छ । फाइनान्सले २:१ को अनुपातमा अर्थात् हाल कायम २ कित्ता सेयर बराबर नयाँ १ कित्ता सेयरको अनुपातमा १०० रुपैयाँ अंकित दरमा कुल २७ करोड २९ लाख ७० हजार ५ सय रूपैयाँ बराबरको २७ लाख २९ हजार ७ सय ५ कित्ता हकप्रद सेयर निष्कासन गरेकाे हाे । कम्पनीले हकप्रद निष्कासन गर्ने प्रयोजनका लागि पौष ११ गते एक दिन बुकक्लोज गरेको थियो । त्यसैले, पौष ८ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम भएका शेयरधनीहरूले मात्र हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् । कम्पनीको हकप्रदमा फागुन २९ गते बैंकिङ समयसम्म आवेदन दिन सकिनेछ । कम्पनीको उक्त हकप्रद सेयरमा निष्कासन तथा बिक्री प्रबन्धकको काम बीओके क्यापिटल लिमिटेडले गर्नेछ । लगानीकर्ताले बिक्री प्रबन्धक बीओके क्यापिटल क्यापिटल, समृद्धि फाइनान्सका शाखा कार्यालय र नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । मेराे सेयरबाट पनि हकप्रद भर्न सकिन्छ । 

३. लाभांश पारित गर्न हिमालयन जनरल इन्स्योरेन्सले डाक्याे साधारण सभा, फागुन १६ गते बुकक्लाेज

हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेकाे छ । कम्पनीकाे फागुन ६ गते, शुक्रबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार कम्पनीकाे अठ्ठाईसाैँ वार्षिक साधारण सभा फागुन ३० गते, साेमबार कम्पनीकाे केन्द्रिय कार्यालय, थापागाँउ, काठमाडाैँमा बिहान ११ बजेदेखि अनलाइन मार्फत सुरू हुनेछ । सभामा कम्पनीकाे पौष २१ गते, बुधबार बसेको सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कम्पनीको शेयरधनीहरूलाई चुक्ता पुँजीको ६.६५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३५ प्रतिशत नगद गरी कूल ७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि फागुन १६ गते एक दिन बुकक्लाेज गर्ने निर्णय गरेकाे छ । त्यसैले, फागुन १५ गतेसम्म नेप्सेमा काराेबार भई कायम हुने शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

४. माैद्रिक नीतिकाे समिक्षा प्रभाव : दाेहाेराे अंकले घट्याे नेप्से

साताकाे पहिलाे काराेबार दिन आज (आइतबार) सेयर बजारमा गिरावट देखिएकाे छ । नेप्से परिसूचक दाेहाेराे अंकले घट्दा कारोबार रकम भने अघिल्लाे काराेबार दिनकाे तुलनामा बढेकाे छ । गत बिहीबार नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीतिको अर्ध वार्षिक समीक्षा सार्वजनिक गरेको थियाे । त्यसैकाे असर सेयर बजारमा देखिएकाे हाे । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (आइतबार) सेयर कारोबार मापक नेप्से परिसूचक ३९.४० अंकले घटेर २६९३.१० विन्दुमा झरेकाे छ । नेप्से १.४४ प्रतिशतले घटेकाे हो । सेन्सेटिभ परिसूचक पनि ४.९९ अंकले घटेर ५१३.६४ विन्दुमा झरेको छ । कूल २३० वटा कम्पनीकाे ७१ लाख २२ हजार २ सय ९९ कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब ८ करोड ६४ लाख ७४ हजार ८ सय २८ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ । स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज अन्य उपसमूहबाहेक बाँकी सबै उपसमूहकाे सेयर घटेको छ । यस दिन जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सर्वाधिक काराेबार भएकाे छ । संस्थाकाे ५८ कराेड २ लाख रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे । आइतबार युनाइटेड ईदी-मार्दी र आरबी हाइड्रोपावरकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर ७ सय ५९ रुपैयाँ पुगेको छ । आज नारायणी डेभलपमेन्ट बैंक लिमिटेडकाे सेयरमूल्य सबैभन्दा धेरै घटेकाे छ । बैंककाे सेयरमूल्य ४.७४ प्रतिशतले घटेर ५ सय २१ रूपैयाँमा झरेकाे छ ।

५.  नेप्सेमा ३ वाणिज्य बैंकसहित ४ कम्पनीकाे बाेनस सूचिकृत

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (आइतबार) ३ वटा वाणिज्य बैंक र एउटा इन्स्याेरेन्स कम्पनीकाे बाेनस सेयर सूचिकृत भएकाे छ । स्टकका अनुसार सनराइज बैंक लिमिटेडकाे ६.६५ प्रतिशत बोनस बापतको ६३ लाख ९ हजार ४ सय ८३ दशमलव ०९ कित्ता, नेपाल बङ्गलादेश बैंक लिमिटेडकाे १२ प्रतिशत बाेनस बापतकाे एक कराेड ८ लाख ५ हजार ७ सय ८५ दशमलव ४३ कित्ता, लक्ष्मी बैंक लिमिटेडकाे ८ प्रतिशत बाेनस बापतकाे ८५ लाख ५६ हजार ५ सय ५१ दशमलव ८९ कित्ता र गुराँस लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेडको ५.५००४ प्रतिशत बाेनस बापतकाे १० लाख ८६ हजार ६ सय ५४ कित्ता सेयर सूचिकृत भएको हो ।

६. पदभार ग्रहण गर्दै हमालले भने, "साना लगानीकर्तालाई नबचाउने मार्केट कहिल्यै राम्राे हुँदैन"

नियामक निकाय नेपाल धिताेपत्र बाेर्ड (सेबाेन) का नवनियुक्त अध्यक्ष रमेश कुमार हमालले पदभार ग्रहण गरेका छन् । पदभार ग्रहण गर्दै उनले साना लगानीकर्ताहरू मारमा पर्न नहुने बताएका छन् । साना लगानीकर्ताहरूलाई नबचाउने मार्केट कहिल्यै राम्राे नहुने उनकाे तर्क छ । साना लगानीकर्ताहरू मर्कामा पर्दा बजारकाे दिगाे विकास हुन नसक्ने उनी बताउँछन् । आफ्नो अहिलेको मुख्य उद्देश्य भनेको साना लगानीकर्ताहरूलाई कसरी बचाउने भन्ने रहेको उनले बताए । उनले आफू लगायत अन्य सम्बन्धित सबैकाे मुख्य उद्देश्य भनेकाे बजारलाई बलियाे बनाउनु रहेकाे बताएका छन् । नवनियुक्त अध्यक्ष हमालले सेबोन र पुँजी बजारको सुधारका लागि आफ्नो कार्यकुशलता पूर्ण रूपमा प्रयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।

७. चाैतर्फी चर्चामा रहेकाे एमसीसी संसदमा टेबल, संसद बैठक बिहीबारसम्मलाई स्थगित

प्रतिनिधिसभाको बैठक आउँदो बिहीबारसम्मका लागि स्थगित गरिएको छ । आइतबार बसेको प्रतिनिधिसभा बैठकमा सांंसदहरुको विरोधका बीच एमसीसी पेस गरिएको थियाे । प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री जनार्दन शर्माको तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी पेस गरेका हुन्  । उनले एमसीसी पेस गरेलगत्तै सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको अर्काे बैठक २०७८ फागुन १२ गते बिहीबार दिउँसो १ बजे बस्ने बताएका थिए । सत्तारुढ गठबन्धनको आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदमा टेबुल गर्ने निर्णय गर्यो । सत्तारुढ गठबन्धनको बैठकपछि प्रधिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठक बस्यो ।  बैठकले आइतबार बस्ने प्रधिनिधिसभा बैठकमा एमसीसी अनुमोदनको लागि पेश गर्ने निर्णय गर्यो र कार्यसूचीमा राखियो । प्रतिनिधिसभाको आइतबार नै बसेको बैठकमा एमसीसी अनुमोदनका लागि टेबुल गरियो । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद अवरोध गरिरहे पनि एमसीसी टेबुल गरिएको थियो । 

८. एक सयले बढ्याे सुनकाे भाउ, चाँदीकाे मूल्य स्थिर 

आइतबार सुनकाे मूल्य ताेलामा एक सय रूपैयाँले बढेर प्रतिताेला ९६ हजार ६ सय रूपैयाँ कायम भएकाे छ । यस दिन चाँदीकाे मूल्य भने स्थिर रही प्रतिताेला एक हजार ३ सय ५ रूपैयाँमा नै काराेबार भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको