Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारलाई नियन्त्रण गर्न खोज्दा, नेप्सेमा बटम लाग्दै

अर्थ संसार

मंगलबार, १० फागुन २०७८, ०८ : ०६ मा प्रकाशित

आज (फागुन ९ गते, साेमबार) दिनभरका प्रमुख आर्थिक समाचारहरू तल उल्लेख गरिएका छन् ।

१. पूर्व गभर्नर चिरन्जीवी नेपाल भन्छन्, 'सेयर बजारलाई नियन्त्रण गर्न खोज्दा पैसा क्रिप्टोतिर गएको कुरामा केही सत्यता छ'

नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर चिरन्जीवी नेपालले केन्द्रिय बैंकले लिने पोलिसी निकै सेन्सिटिभ हुने भएकाले पोलिसीगत कुरामा गम्भीर हुनुपर्ने बताएका छन् । यसअघि राष्ट्र बैंकले सेयर धितो कर्जामा लगाएको ४/१२ करोडको क्याप अनावश्यक रहेको बताएका डा. नेपालले राष्ट्र बैंकले सेयर बजारलाइ नियन्त्रण गर्न खोज्दा सेयर बजारमा आउने पैसा क्रिप्टोतिर गएको कुरामा केहि हदसम्म सत्यता रहेको बताएका छन।  अहिले सेयर बजार तथा यस प्रकारका कारोबारमा विश्वव्यापी रुपमै आकर्षण बढिरहेको अवस्थामा विदेशमा रहेका नेपालीहरुले नेपालमा पैसा पठाउनुको साटो क्रिप्टोतिर लगानी गरिरहेको बताउँदै उनले यदि नेपालको सेयर बजारमा नीतिगत स्थिरता भएको भए क्रिप्टोमा जाने पैसा सेयर बजारमा आउने सम्भावना बढेर जाने थियो भन्दै उनले घटिरहेको रेमिट्यान्सलाइ बढाउन सरकारले विशेष किसिमका प्याकेजहरु ल्याउनुपर्ने आवश्यकता रहेको विचार व्यक्त गरेका छन् ।

२. सेयर बजारमा लगानीकर्ताको आकर्षण बढ्दै, डिम्याट खोल्नेको संख्या ५० लाख नजिक

पछिल्लाे समय सेयर बजारमा लगानीकर्ताको आकर्षण बढ्दै गइरहेकाे छ । नयाँ लगानीकर्ता थपिने क्रम दिनानुदिन बढ्दै गइरहेकाे छ । आईपीओबाट लगानीकर्ताहरूले राम्रो आम्दानी हुने देखेपछि सेयर बजाप्रति सर्वसाधारणको क्रेज बढेको छ । आजकाल रेष्टुरेन्ट र चिया पसलदेखि स्कुल कलेजका कक्षा कोठासम्म सेयर बजारको चर्चा हुने गरेको देखिन्छ । सेयर बजारमा प्रवेश गर्न लगानीकर्ताहरूलाई आवश्यक पर्ने मुख्य कुरा नै डिम्याट खाता हो । नेपालमा डिम्याट खाता खाेल्ने व्यक्तिहरूकाे कुरा गर्नुपर्दा हालसम्म नेपालमा डिम्याट खाता खाेल्नेकाे संख्या ४९ लाख ७२ हजार ९ सय २ पुगेकाे छ । जसमध्ये, ४० लाख ८२ हजार ६ सय १५ जना आवद्ध छन् । 

३. इमर्जिङ नेपालको सेयर रजिष्ट्रार चयन

इमर्जिङ नेपाल लिमिटेडले सेयर रजिष्ट्रार चयन गरेको छ । कम्पनीको सेयर रजिष्ट्रार एनआईसी एशिया क्यापिटल लिमिटेड नियुक्त भएको छ। कम्पनीले यही फागुन ९ गतेदेखि लागू हुने गरी एनआईसी एशिया क्यापिटललाई सेयर रजिष्ट्रारमा नियुक्त गरेको हो। अब उप्रान्त इमर्जिङ नेपाल लिमिटेडको सेयर रजिष्ट्रार अन्तर्गतका सम्पूर्ण कार्य एनआईसी एशिया क्यापिटल मार्फत  हुनेछ।

४. दाेहाेराे अंकले बढ्याे सेयर बजार, विश्लेषक भन्छन् नेप्सेमा बटम लाग्दै

आज (साेमबार) सेयर बजारमा हरियाली देखिएकाे छ । नेप्से परिसूचक दाेहाेराे अंकले बढ्दा काराेबार हुने १३ वटै उपसमूह उकालाे लागेका छन् । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (साेमबार) सेयर कारोबार मापक नेप्से परिसूचक २५.४१ अंकले बढेर २७१८.५१ विन्दुमा पुगेकाे छ । नेप्से ०.९४ प्रतिशतले बढेकाे हो । सेन्सेटिभ परिसूचक पनि ५.१५ अंकले बढेर ५१८.७९ विन्दुमा झरेको छ । कूल २२४ वटा कम्पनीकाे ४९ लाख ९२ हजार ८ सय ७९ कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब ९९ करोड ७६ लाख ८१ हजार रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै उपसमूहकाे सेयर बढेको छ । साेमबार नेपाल टेलिकमकाे सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे २६ कराेड ५० लाख १३ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे । आज पनि युनाइटेड ईदी मार्दीकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर ८ सय ३४ रुपैयाँ ९० पैसा पुगेको छ । आज नबिल डिबेञ्चर २०८५ काे मूल्य सबैभन्दा धेरै घटेकाे छ । उक्त डिबेञ्चरकाे मूल्य १.९५ प्रतिशतले घटेर ८ सय ५७ रूपैयाँमा झरेकाे छ । प्राविधिक विश्लेषक अजय सिंह थापाले शुक्रबार अर्थ संसारसँगको कुराकानीमा नेप्सेमा बटम लाग्दै गरेकाे बताएका थिए । उनले भनका थिए, "१८ जेनेवरीदेखि १७ फेब्रुअरीसम्म एक महिनाकाे लामाे करेक्सन भइसकेकाे छ । अब करेक्सनकाे लगभग अन्तिम-अन्तिम विन्दुमा आइसकेकाे छ । अब हामीले आगामी हप्तामा के हेर्न सक्छाैँ भने १ दिन अथवा २ दिन मार्केट घटेर जान सक्ने सम्भावना देखिन्छ । आइतबार अलि धेरै घट्ने हाे भने मार्केट साेमबारदेखि नै बाउन्स हुन सक्याे । आइतबार अलि थाेरै घट्याे भने साेमबार मंगलबारदेखि चैँ मार्केट बुलिस जाने देखिन्छ । अब करेक्सनकाे एकदमै बटममा आइसकेकाे छ । करेक्सनकाे अन्तिम क्षणहरूमा छ । अब एकुमुलेट गर्नुपर्ने समय छ ।" यस साताबाट मार्केट बुलिसमा जाने र र्यापिड ग्राेथ आउने आफ्नाे अनुमान रहेकाे उनी बताउँछन् । 

५. सूचीकृत कम्पनीलाई वर्गिकरणका लागि विवरण उपलब्ध गराउन नेप्सेको आग्रह

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सूचीकृत कम्पनीहरूलाई सूचीकृत संगठित संस्थाको वर्गिकरणका लागि आवश्यक विवरण उपलब्ध गराउन आग्रह गरेकाे छ । नेप्सेले धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम ११ बमोजिम सूचीकृत संगठित संस्थाहरुको वर्गिकरण गर्नुपर्ने व्यवस्था भएकोले सो का लागि संलग्न बमोजिमको ढाँचामा फारम भरी मिति २०७८ फागुन २३ गते सम्ममा कार्यालय समय भित्र प्राप्त हुने गरि वा [email protected] मा इमेल मार्फत उपलब्ध गराउन अनुराेध गरेकाे हाे ।

६. नेप्सेमा २ कम्पनीकाे बाेनस सूचिकृत

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (साेमबार) २ वटा कम्पनीकाे बाेनस सेयर सूचिकृत भएकाे छ । स्टकका अनुसार नेपाल बैंक लिमिटेडकाे १४ प्रतिशत बोनस बापतको एक कराेड ७६ लाख ९१ हजार ४ सय ६२ दशमलव ०७ कित्ता र गुडविल फाइनान्स कम्पनी लिमिटेडको ९.१ प्रतिशत बाेनस बापतकाे ७ लाख ८९ हजार एक सय ५२ कित्ता सेयर सूचिकृत भएको हो ।

७. प्रोग्रेशिभ फाइनान्सको लाभांश राष्ट्र बैंकबाट स्विकृत

प्रोग्रेशिभ फाइनान्स लिमिटेडको लाभांश राष्ट्र बैंकबाट स्विकृत भएको छ  । कम्पनीले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको ६ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३१५८ प्रतिशत नगद लाभांश वितरण गर्ने घाेषणा गरेकाे थियाे ।साेही लाभांश राष्ट्र बैंकबाट स्विकृत भएकाे हाे । अब उक्त लाभांश कम्पनीकाे आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ  ।

८. सूर्या लाइफले सेयर संरचना परिमार्जन गर्ने

सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक र साधारण सेयर संरचना परिमार्जन गर्ने भएको छ। कम्पनीले संस्थापक र सर्वसाधारणको सेयर स्वामित्व परिमार्जन गर्दै ५१:४९ कायम गर्ने भएको हो। हाल कम्पनीमा संस्थापक सेयरको हिस्सा ६० प्रतिशत रहेकोमा त्यसलाई ५१ प्रतिशत कायम गर्न लागिएको हो। कम्पनीको पाैष १९ गते सम्पन्न भएकाे तेर्हाैँ वार्षिक साधारण सभाले सेयर स्वामित्व परिमार्जन गर्दै ५१:४९ कायम गर्ने विशेष प्रस्ताव पारित गरेकाे थियो । सर्वसाधारण सेयरमा परिणत गर्न नचाहने र इच्छा नभएका संस्थापक सेयरधनीले साेही अनुसारकाे साेघाेषणा गरी सूचना प्रकाशित भएको ७ दिनभित्र कम्पनीको कर्पोरेट कार्यालयमा आइपुग्ने गरी लिखित जानकारी पठाउन पनि कम्पनीले आग्रह गरेको छ।

९. एक अर्बले बढ्याे निक्षेप संकलन, ४ अर्बले बढ्याे कर्जा लगानी

यस साता वाणिज्य बैंकहरुको निक्षेप संकलन बढेकाे छ । नेपाल बैंकर्स एसोसिएसनले सार्वजनिक गरेकाे तथ्यांक अनुसार बैंकहरूकाे निक्षेप संकलनसँगसँगै कर्जा लगानी पनि बढेको हाे ।
फागुन ६ गतेसम्म वाणिज्य बैंकहरुले ४३ खर्ब १२ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् । याे अघिल्लाे साताकाे तुलनामा एक अर्बले बढेकाे हाे । माघ २९ गतेसम्म वाणिज्य बैंकहरूले ४३ खर्ब ११ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका थिए । वाणिज्य बैंकहरुको कर्जा लगानी पनि बढेको छ ।  बैंकहरुको कर्जा लगानी ४ अर्ब रुपैयाँले बढेर ४१ खर्ब ५९ अर्ब रुपैयाँ पुगेकाे छ । माघ २९ गतेसम्म वाणिज्य बैंकहरूले ४१ खर्ब ५५ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।  

१०. ४ सयले घट्याे सुनकाे भाउ, ५ रूपैयाँले घट्याे चाँदी

साेमबार सुनकाे मूल्य ताेलामा ४ सय रूपैयाँले घटेर प्रतिताेला ९६ हजार २ सय रूपैयाँमा काराेबार भएकाे छ । यस दिन चाँदीकाे मूल्य पनि ताेलामा ५ रूपैयाँले घटेर प्रतिताेला एक हजार ३ सय रूपैयाँमा काराेबार भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको