Like us!
Follow us!
Connect us!
Watch us!

भाग्यमानी ७७ हजार ४ सयले सेयर पाउने, एकैदिनमा ७ अर्बले बढ्यो निक्षेप

अर्थ संसार

मंगलबार, २४ फागुन २०७८, ०५ : १३ मा प्रकाशित

आज फागुन २३ गते, साेमबार दिनभरका प्रमुख आर्थिक समाचारहरू तल उल्लेख गरिएकाे छ ।

१. हिमालयन रिइन्स्योरेन्सले कमायो १२ करोड ४७ लाख नाफा, २९ करोड ९९ लाख बिमा शुल्क आर्जन  

हिमालयन रिइन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ । यसअवधिमा कम्पनीले १२ करोड ४७ लाख ८८ हजार रुपैयाँ खुद नाफा कमाएकाे छ । अघिल्लो त्रैमाससम्ममा कम्पनीले ४ करोड ७६ लाख ८० हजार रुपैयाँ मात्रै नाफा कमाएको थियो । दाेश्राे त्रैमाससम्म कम्पनीले २९ करोड ९९ लाख ७५ हजार रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको छ । कम्पनीकाे बिमा कोषमा ४८ लाख १९ हजार रुपैयाँ छ । हाल कम्पनीकाे चुक्ता पुँजी ७ अर्ब रुपैयाँ छ भने जगेडा कोषमा १२ करोड ८९ लाख ३५ हजार रुपैयाँ सञ्चित रहेको छ । 

२. नेष्डो समृद्ध लघुवित्तको आईपीओ मंगलबार बाँडफाँड हुँदै, भाग्यमानी ७७ हजार ४ सयले सेयर पाउने

नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले फागुन ११ गते, बुधबारदेखि फागुन १५ गते, आइतबारसम्म सर्वसाधारणका लागि निष्कासन गरेकाे साधारण सेयर (आईपीओ)  बाँडफाँडको समय र स्थान तय भएको छ । उक्त आईपीओकाे बाँडफाँड भाेलि मंगलबार दिउँसाे एक बजेदेखि येलाे पेगाेडा हाेटल, जमल, काठमाडाैँमा हुने निष्कासन तथा बिक्री प्रबन्धक ग्लाेबल आईएमई क्यापिटल लिमिटेडले जनाएको छ । आईपीओको प्रि-अलटमेन्ट  आइतबार सम्पन्न भएकाे थियाे । संस्थाले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ८ करोड २८ लाख ७५ रुपैयाँ बराबरको ८ लाख २८ हजार ७ सय ५० कित्ता आईपीओ निष्कासन गरेकाे थियाे । जसमध्ये जारी पूँजीको ०.५ प्रतिशत अर्थात १२ हजार ७ सय ५० कित्ता सेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात ४१ हजार ४ सय ३७ कित्ता सेयर सामूहिक लगानी कोषका लागि र  ७ लाख ७४ हजार ५ सय ३६ कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको थियाे ।  संस्थाकाे आईपीओमा अन्तिम दिनसम्म २६ लाख १० हजार १ सय २७ जनाले ३ करोड २ लाख २४ हजार २ सय ५० कित्ताका लागि आवेदन दिएका छन् । यो सर्वसाधारणकाे लागि माग गरिएकाे भन्दा झण्डै ४० गुणा धेरै आवेदन हो । मागभन्दा धेरै आवेदन परेकाे हुनाले संस्थाकाे आईपीओ गाेलाप्रथाद्वारा बाँडफाँड गरिनेछ । गाेलाप्रथाबाट बाँडफाँड गर्दा भाग्यमानी ७७ हजार ४ सय ५३ जनाले मात्र सेयर हात पार्नेछन् । बाँकी आवेदकको हात खाली हुनेछ ।

३. नेप्सेमा झिनाे सुधार : सम्हालिने प्रयास गर्दै सेयर बजार

सेयर बजार सम्हालिने प्रयास गर्दैछ । साेमबार नेप्से परिसूचकसँगै सेन्सेटिभ परिसूचक पनि हरियाे भएर बन्द भएकाे छ । पछिल्लाे समय निरन्तर घटिरहेकाे बजारमा हिजाेबाट भने सुधारकाे संकेत देखिएकाे छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (साेमबार) सेयर कारोबार मापक नेप्से परिसूचक १.५४ अंकले बढेर २५४४.९३ विन्दुमा पुगेकाे छ । नेप्से ०.०६ प्रतिशतले बढेकाे हाे ।यस्तै, सेन्सेटिभ परिसूचक पनि २.१४ अंकले घटेर ४९२.२६ विन्दुमा झरेकाे छ । कूल २३० वटा कम्पनीकाे ५३ लाख १५ हजार २ सय ९२ कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब ६० करोड ९ लाख ३० हजार ४ सय ३ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ । स्टकका अनुसार काराेबार भएका १३ उपसमूहमध्ये ५ वटा उपसमूहकाे सेयर बढेकाे छ भने बाँकी ८ वटा उपसमूहकाे सेयर घटेकाे छ । त्यसैगरी, साेमबार पनि काराेबारमा शिवम् सिमेन्ट नै अब्बल रहेकाे छ । कम्पनीकाे २७ कराेड ६९ लाख ३२ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे ।  शिवम् सिमेन्टकाे आयोजना प्रभावित स्थानीयकाे लकिङ अवधि सकिएकाे छ । स्थानीयकाे नाममा रहेकाे सेयर हिजाेदेखि दाेश्राे बजारमा सर्वसाधारणमा खरिद बिक्रीकाे निमित्त परिणत भएकाे छ । साेही कारण कम्पनीकाे सर्वाधिक काराेबार भएकाे हाे । आज बुद्धभूमी नेपाल हाइड्राेपावर कम्पनी लिमिटेड सेयरमूल्य सबैभन्दा धेरै बढेकाे छ । कम्पनीकाे सेयरमूल्य ५.८९ प्रतिशतले बढेर ७ सय ३ रूपैयाँ पुगेकाे छ । यस दिन पाँचथर पावर कम्पनी लिमिटेडकाे सेयरमूल्य सबैभन्दा धेरै घटेकाे छ । कम्पनीकाे सेयरमूल्य ६.९० प्रतिशतले घटेर ४ सय १८ रूपैयाँ कायम भएकाे छ । 

४. बोर्ड अध्यक्ष हमाल भन्छन्, "बैंकलाई ब्रोकर लाइसेन्स दिन माेडालिटी तयार भइरहेकाे छ"

नियामक निकाय नेपाल धिताेपत्र बाेर्ड (सेबाेन) का नवनियुक्त अध्यक्ष रमेश कुमार हमालले बैंकलाई ब्रोकर लाइसेन्स दिने विषयमा अध्ययन भइरहेकाे बताएका छन् । सेबोनद्वारा आयोजित आर्थिक पत्रकारहरूसँगको अन्तरक्रिया कार्यक्रममा कुराकानी गर्दै उनले कुनैपनि उचित निर्णय लिनकाे लागि हतारमा भन्दा पनि राम्ररी अध्ययन गर्नुपर्ने भएकाले आफूहरूलाई थोरै समय दिन आग्रह गरेका छन् । बैंकलाई ब्रोकर लाइसेन्स दिने विषयमा पनि दुई वटा भनाईहरू रहेको उनी बताउँछन् । एउटा पक्षले बैंकलाई ब्रोकर लाइसेन्स दिँदा लगानीकर्ताहरूको राम्रो पहुँच पुग्ने बताइरहँदा अर्को पक्षले सबै काम बैंकहरूले नै गरेमा अन्य संस्थाहरूले के गर्ने भन्ने बहस चलेको उनले बताए । अहिले बैंकलाई ब्रोकर लाइसेन्स दिने विषयमा सबै तहहरूमा छलफल भइरहेकाे र एउटा माेडालिटी बनिरहेकाे जानकारी उनले दिएका छन् । भइरहेका ब्राेकरहरूलाई कसरी क्यापेबल बनाउने र कुन माेडलबाट निर्णय लिँदा सबैलाई समान अवसर हुन्छ त्यही माेडल छनाेट गर्ने बताए । सेयर बजारकाे हितका लागि के गर्दा राम्राे हुन्छ त्यही गर्ने उनले बताए । त्यस्तै, याे निर्णय सेबाेन एक्लैले गरेर नहुने बताउँदै उनले नेप्सेबाट पनि निर्णय लिनुपर्ने बताए ।

५. एकैदिनमा ७ अर्बले बढ्यो निक्षेप, सिडी रेसियोमा सुधार

बैंकहरूकाे निक्षेप संकलन एकदिनमै ७ अर्बले बढेकाे छ । बैंकहरूकाे निक्षेप संकलन बढ्दा सिडी रेसियाेमा पनि सुधार देखिएकाे छ ।  नेपाल राष्ट्र बैंकका अनुसार फागुन २० गते, शुक्रबारसम्म बैंक तथा वित्तीय संस्थाहरूमा कुल ४३ खर्ब २४ अर्ब रुपैयाँ निक्षेप रहेको छ । फागुन १९ गते बैंकहरूकाे निक्षेप ४३ खर्ब १७ अर्ब रूपैयाँ रहेकाे थियाे । एकैदिनमा बैंकहरूकाे निक्षेप ७ अर्बले बढेकाे हाे । यसै अवधिमा कुल निक्षेप पनि ७ अर्बले बढेर ४८ खर्ब ९० अर्ब पुगेकाे छ । बैंक तथा वित्तीय संस्थाहरूको कर्जा लगानी भने घटेकाे छ । बैंकहरूकाे कर्जा लगानी २ अर्बले घटेर ४१ खर्ब ६६ अर्ब पुगेकाे छ । बैंकहरूको औसत कर्जा- निक्षेप अनुपात (सीडी रेसियो) ९०.३९ प्रतिशतबाट घटेर ९०.२६ प्रतिशतमा झरेकाे राष्ट्र बैंकले जनाएको छ । 

६. एक डेढ महिनाभित्रै सबै कम्पनीलाई आईपीओ निष्कासन गर्ने अनुमति दिने बोर्ड अध्यक्ष, हमालकाे दावी

नियामक निकाय नेपाल धिताेपत्र बाेर्ड (सेबाेन) का नवनियुक्त अध्यक्ष रमेश कुमार हमालले एक डेढ महिनाभित्रै सबै कम्पनीलाई साधारण सेयर आईपीओ निष्कासन गर्ने स्विकृती दिने बताएका छन् । सेबोनद्वारा आयोजित आर्थिक पत्रकारहरूसँगको अन्तरक्रिया कार्यक्रममा कुराकानी गर्दै उनले भने, "आईपीओ प्रकृया राेकिँदा कम्पनीलाई पनि घाटा भएको छ । त्यो हामीले बुझेका छौँ । अहिले मेरो टिमले सबै इन्डेक्स हेरिरहेको छ । कुन कम्पनीको प्रकृया कहाँ पुग्यो त्यहाँबाट थाहा हुन्छ । यदि सबै प्रकृया पुरा भएको छ भने त्यसलाई हामी धेरै दिन लगाउदैनौँ दुई तीन दिनभित्रैमा स्विकृती दिन्छौँ । कुनै दोश्रो चरणमा पुगेका छन् भने जस्तो हामीले केही पत्राचार गर्यौँ उताबाट डिटेल आएको छैन भने त्यो चेक गर्न बाँकी छ । त्यसरी अहिले हामीले वर्गिकरण गरिरहेका छौँ ।"सबै पकृया पुरा गरेर अनुमति दिँदा एक डेढ महिना लाग्ने उनले बताए । आईपीओ मात्रै नभएर पाइपलाइनमा रहेका डिबेञ्चर र राइट सेयरहरूकाे पनि प्रकृया चलिरहेकाे उनले जानकारी दिएका छन् ।

७. समता घरेलु लघुवित्तले एफपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धक नियुक्त

समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले फर्दर पब्लिक ईस्यु एफपीओ निष्कासन गर्ने भएकाे छ । साविक समता लघुवित्त वित्तिय संस्था लिमिटेड र साविक घरेलु लघुवित्त वित्तिय संस्था गाभिए पश्चात् संस्थापक हिस्सा ७०% र सर्वसाधारण हिस्सा ३०% कायम गर्न २ लाख ८९ हजार ४ सय ४० कित्ता एफपीओ निष्कासन गर्न लागिएकाे हाे । संस्थाले उक्त प्रयाेजनका लागि  निष्कासन तथा बिक्री प्रबन्धकमा आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडलाई नियुक्त गरेको छ । सो सम्झौतापत्रमा समता घरेलु लघुवित्त वित्तिय संस्था लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत डा. मदन घिमिरे र आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्रि प्रसाद प्याकुरेलले हस्ताक्षर गरेका छन् ।

८. विश्व बजारमा कच्चा तेलको भाउ १४ वर्षयताकै उच्च 

विश्व बजारमा कच्चा तेलको मूल्य पछिल्लो १४ वर्षयताकै उच्च कायम भएको छ । अमेरिकाले रुसबाट हुने इन्धनको आयात रोक्ने सम्बन्धमा छलफल गरिरहेको बताएपछि त्यसको प्रत्यक्ष असर कच्चा तेलको मूल्यमा परेको जनाईएको छ । बीबीसीका अनुसार कच्चा तेलको मूल्य प्रतिब्यारेल १३९ अमेरिकी डलर पुगेर १३० डलरमा आइ स्थिर भएको छ । जुन सन् २००८ जुलाईपछिकै उच्च हो । 

९. सुनकाे उकालाे यात्रामा निरन्तरता, १ लाख ३ हजार पुग्याे भाउ

नेपाली बजारमा सुनकाे मूल्यकाे उकालाे यात्रामा निरन्तरता देखिएकाे छ । साेमबार पनि सुनकाे मूल्य ताेलामा ११ सय रूपैयाँले बढेर प्रतिताेला एक लाख ३ हजार रूपैयाँ पुगेकाे छ । यस दिन चाँदीकाे मूल्य पनि ताेलामा १० रूपैयाँले बढेर प्रतिताेला एक हजार ४ सय २५ रूपैयाँमा काराेबार भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको