Like us!
Follow us!
Connect us!
Watch us!

नेपाली मुद्रा इतिहासकै कमजोर, "नोटबन्दी होइन नोट खारेजी गरौँ"

अर्थ संसार

बुधबार, २५ फागुन २०७८, ०५ : ५० मा प्रकाशित

नेपाली मुद्रा इतिहासकै कमजोर, "नोटबन्दी होइन नोट खारेजी गरौँ"

आज (फागुन २४ गते, मंगलबार) दिनभरका प्रमुख आर्थिक समाचारहरू तल उल्लेख गरिएकाे छ । 

१.नेष्डो समृद्ध लघुवित्तकाे आईपीओ बाँडफाँड सम्पन्न, भाग्यमानी ७७ हजार ४ सय ५६ जनाले पाए १० कित्ता सेयर

नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले फागुन ११ गते, बुधबारदेखि फागुन १५ गते, आइतबारसम्म सर्वसाधारणका लागि निष्कासन गरेको साधारण सेयर (आईपीओ) काे बाँडफाँड आज (फागुन २४ गते, मंगलबार) सम्पन्न भएकाे छ । उक्त आईपीओकाे बाँडफाँड येलो पेगोडा होटल, जमल, काठमाडौँमा सम्पन्न भएकाे हाे । मागभन्दा धेरै आवेदन परेकाे हुनाले आईपीओ गाेलाप्रथाद्वारा बाँडफाँड गरिएकाे थियाे । बाँडफाँडका लागि २५ लाख २२ हजार ९ सय ५५ जना आवेदक याेग्य थिए । गाेलाप्रथाबाट बाँडफाँड गर्दा भाग्यमानी ७७ हजार ४ सय ५६ जनाले १० कित्ता सेयर प्राप्त गरेका छन् । ३ कित्ता अल्टर रहेकाे हुनाले २० कित्तामाथिका लागि भर्ने ३ जनाले एक एक कित्ता पाएका छन् । संस्थाले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ८ करोड २८ लाख ७५ रुपैयाँ बराबरको ८ लाख २८ हजार ७ सय ५० कित्ता आईपीओ निष्कासन गरेको थियो । जसमध्ये जारी पूँजीको ०.५ प्रतिशत अर्थात १२ हजार ७ सय ५० कित्ता सेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात ४१ हजार ४ सय ३७ कित्ता सेयर सामूहिक लगानी कोषका लागि र  ७ लाख ७४ हजार ५ सय ६३ कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको थियो । 

२. लाभांश पारित गर्न एनएलजी इन्स्योरेन्सले डाक्याे साधारण सभा, चैत ६ गते बुकक्लाेज

एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो १६ औँ वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार कम्पनीको वार्षिक साधारण सभा चैत्र १७ गते आम्रपाली ब्याङ्केट, बालुवाटार काठमाडौंमा बिहान १०ः३० बजे सुरु हुनेछ ।सभामा कम्पनीले गत आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट शेयरधनीलाई १० प्रतिशत बोनस शेयर र ०.५२ प्रतिशत नगद लाभांश (कर प्रयोजन) वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । लाभांश वितरण तथा साधारणसभा प्रयोजनार्थ कम्पनीले ६ चैत्रमा बुक क्लोज गर्नेछ । यसअनुसार ५ चैत्रसम्म कायम सेयरधनीले मात्रै लाभांश र साधारणसभामा सहभागि हुन पाउनेछन् ।

३. अर्थमन्त्री शर्मासँग कांग्रेस र माओवादी नै बेखुस, मन्त्री परिवर्तनको तयारीमा बालुवाटार !

अर्थमन्त्री जनार्दन शर्माको काम बाट सत्तारुढ दल नेपाली कांग्रेस र उनको आफ्नै दल एकिकृत नेकपा(माओवादी) मा पनि चरम असन्तुष्टि देखिएको छ । देशको अर्थतन्त्र नै दुर्घटनाको डिलमा पुग्दा समेत उक्त संकटसंग जुध्न कुनै योजना ल्याउन नसकेको र मन्त्री शर्माकै अदुरदर्शिताका कारण नै अर्थतन्त्र अहिलेको अवस्थामा पुगेको निष्कर्षमा प्रधानमन्त्री देउवा र उनको दल नेपाली कांग्रेस पुगेको छ । त्यस्तै शर्माले जन अपेक्षा अनुरुप काम गर्न नसकेको हुँदा उनकै दल माओवादी भित्र पनि असन्तुष्टि बढेको छ । यदि समयमा नै अर्थमन्त्रीको विकल्प नखोजिए देशका साथ साथै सत्ताको नेतृत्व गरेको कांग्रेस र स्वयम प्रधानमन्त्रीलाई पनि नराम्रो प्रभाव पर्नसक्ने ठम्याई कांग्रेस नेताहरुको छ । 

४. छ्याङ्दी हाइड्रोपावरको नबिकेकाे हकप्रद चैत १ गतेबाट लिलामीमा आउँदै, चैत ९ गतेसम्म भर्न पाइने

छ्याङ्दी हाइड्रोपावर कम्पनीले चैत्र १ गतेबाट अवितरित हकप्रद सेयर लिलाम बढाबढ गरी बिक्री गर्ने भएको छ । कम्पनीले माघ ११ गतेदेखि फागुन २ गतेसम्म निष्कासन गर्दा बिक्री नभएको सर्वसाधारण समूहको ५९ हजार ८ सय २७ कित्ता हकप्रद सेयर लिलाम बढाबढ गरी बिक्री खुल्ला गर्न लागेकाे हाे ।  उक्त सेयरमा इच्छुक व्यक्ति, कम्पनी तथा संघसस्थाले चैत्र ९ गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् । उक्त सेयरको न्यूनतम मूल्य प्रतिसेयर एक सय रूपैयाँ तोकिएको छ । लगानीकर्ताले सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ ।लगानीकर्ताले न्युनतम १०० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा सम्पूर्ण सेयरका लागि आवेदन दिन सक्नेछन् । उक्त सेयरको बिक्री प्रबन्धकको काम ग्लोबल आईएमई क्यापिटल लिमिटेडले गरेको छ । लगानीकर्ताले ग्लोबल आईएमइ क्यापिटल लिमिटेड, नक्साल–काठमाडौं र ग्लोबल आईएमई बैंकको ताेकिएका शाखा कार्यालयहरुबाट पनि बोलपत्र पेश गर्न सक्नेछन् ।

५. नेपाली मुद्रा इतिहासकै कमजोर

नेपाली मुद्रा इतिहासकै कमजोर बनेकाे छ । रुस र युक्रेन युद्धको असर समेतले गर्दा पछिल्लाे समय लगातार जसाे अमेरिकी डलरको मूल्य बढीरहेकाे छ । अमेरिकी डलरकाे मूल्य वृद्धि हुँदा त्यसकाे असर नेपाली रूपैयाँमा देखिएकाे हाे । नेपाल राष्ट्र बैंकले आज (मंगलबार) अमेरिकी डलरको खरिददर १२२ रुपैयाँ ८४ पैसा र बिक्रीदर १२३ रुपैयाँ ४४ पैसा तोकेको छ । यसकाे मतलव अब एक अमेरिकी डलर खरिद गर्नका लागि १२३ रुपैयाँ ४४ पैसा तिर्नुपर्छ । विश्वव्यापी रूपमा माग बढ्नु र अमेरिकी अर्थतन्त्र बलियो हुनु डलर वृद्धिकाे मुख्य कारण हाे । नेपाली मुद्राको भारतीय रुपैयाँसँग स्थिर विनिमय दर रहने गरेको छ । पछिल्लाे समय डलरको तुलनामा भारु खस्किँदा नेपाली रुपैयाँको मूल्य पनि कमजोर हुने गरेको छ ।अमेरिकी डलरको मूल्य उच्च हुँदा नेपालको अर्थतन्त्रमा केही नकरात्मक असर पर्न सक्ने अर्थविदहरु बताउँछन् । 

६. नेष्डो समृद्धका प्रबन्ध सञ्चालक भन्छन्, "संस्थाले १०० प्रतिशत लाभांश दिनसक्छ"

नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले १०० प्रतिशतसम्म लाभांश दिनसक्ने संस्थाका प्रबन्ध सञ्चालक विश्व प्रकास प्रसाईँले बताएका छन् । मंगलबार आयाेजित सेयर बाँडफाँड तथा सञ्चारकर्मी अन्तरक्रिया कार्यक्रममा बाेल्दै उनले भने, "कति दिन्छाैँ भनेर त म बाेल्न मिल्दैन तर हाम्राे क्षमता यति छ भनेर त भन्न मिल्छ नि । हाम्राे अहिलेकाे वित्तीय अवस्था अनुसार हामीले हाम्रा लगानीकर्ताहरूलाई १०० प्रतिशतसम्म लाभांश दिनसक्ने क्षमता छ ।"

७. केशव कोइराला भन्छन्, "नोटबन्दी होइन नोट खारेजी गरौँ" 

सेयर बजारमा 'काका' का रुपमा परिचित केशब कोइरालाले नोटबन्दी भन्दा नोट खारेजी उपयुक्त हुने धारणा व्यक्त गरेका छन्। नोटबन्दी हुने तयारी हुँदै गरेको भन्ने कुराहरु सामाजिक संजालमा भाइरल हुँदै गर्दा उनको यस्तो धारणा आएको हो।  कालोधन, भ्रष्टाचार र घुषखोरीको प्रमूख आधार १००० र ५०० का नोटहरू भएको भन्दै  १००० र ५०० का नोटहरू खारेजी गरिएमा आधाभन्दा बढी भ्रष्टाचार र घुसखोरी बन्द हुने धारणा राख्दै कोइरालाले ७५३ वटै स्थानिय तहहरुमा वाणिज्य बैंक पुगिसकेको अवस्थामा २/४ महिनाको समय दिएर ज-जसको बैंक खाता छ उनीहरुको साथमा रहेका ५०० र १००० का नोट बैंकमा डिपोजिट गर्न आह्वान गर्ने र खाता नहुनेहरुलाई बैंकमा खाता खोल्न लगाई उनीहरुसँग मौज्दातमा रहेका १००० र ५०० का नोटहरु बैंकमा डिपोजिट गर्न समय दिने र त्यसपछि सरकारले आधिकारीक रुपमा यो मितिदेखि चाहिँ १००० र ५०० का नोटहरू चल्दैनन् है भनेर घोषणा गर्दा सबैभन्दा उपयुक्त हुने उनले बताएका छन् । 

८. सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो

मंगलबार सुनकाे मूल्य १ लाख ३ हजार रूपैयाँमा स्थिर रहँदा चाँदीकाे मूल्य भने ताेलामा १५ रूपैयाँले घटेर प्रतिताेला एक हजार ४ सय १० रूपैयाँमा कराेबार भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

नारी दिवसकाे अवसरमा आजकाे बुलेटिनकाे अन्त्य महिला लगानीकर्ता राधा पाेखरेलकाे यस भनाइबाट

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको