Like us!
Follow us!
Connect us!
Watch us!

"सेयरधनीहरूलाई घाटा हुन्छ भनेर नै एनटीसीको बोनसकाे विरोध गरेका हौँ"

अर्थ संसार

विहीबार, १० चैत्र २०७८, १४ : ०१ मा प्रकाशित

नेपाल दुरसञ्चार कम्पनी (नेपाल टेलिकम) ले इतिहासमै पहिलो चोटी बोनससहित लाभांश घोषणा गरेपछि यतिबेला टेलिकमको बोनस चौतर्फी चर्चाको विषय बनेको छ । 

टेलिकमको फागुन ३० गते बसेको सञ्चालक समितिको बैठकले आफ्ना सेयरधनीहरुलाई आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि २० प्रतिशत नगद गरी कुल ४० प्रतिशत लाभांश दिने प्रस्ताव गर्दै साधारण सभा आह्वान गर्यो । बजार घट्दा पनि केही दिन अघिबाटै एनटीसीको मूल्य बढ्नु र इतिहासमै पहिलो चोटी एनटीसीले बोनस घोषणा गर्नु बाघ कराउनु र बाख्रा हराउनु जस्तै भएको लगानीकर्ताहरूको भनाई छ । अहिले लगानीकर्ताहरूले एनटीसीमा इन्साइडर ट्रेडिङ्ग भएको भन्दै छानबिन हुनुपर्ने माग गरिरहेका छन् ।

लगानीकर्ताहरूलाई मात्र नभएर टेलिकमका कर्मचारीहरूलाई पनि कम्पनीले घोषणा गरेको बोनसप्रति गुनासो छ । नेपाल दुरसञ्चार राष्ट्रिय कर्मचारी संगठनले टेलिकमको सञ्चालक समितीले प्रस्ताव गरेको बोनस सेयर वितरण गर्ने निर्णय सच्याउन माग गरेका छन् । पूँजी वृद्धि सम्बन्धमा कुनै नियामकीय बाध्यता नभएको, कम्पनीसँग लगानीयोग्य रकम पर्याप्त रहेको, कम्पनीका यसअघिका १३ वटै साधारण सभाबाट नगद लाभाशं मात्रै वितरण हुँदै आएको तथा पूँजी संरचना र यसको समुचित प्रयोग सम्बन्धमा कुनै अध्ययन नै नगरी एकाएक पूँजी वृद्धि योजना सार्वजनिक गरिनु खेदजनक रहेको संगठनको दावी छ ।

टेलिकमको बोनस रद्द गर्न कर्मचारी संगठनको माग ‘ठूला व्यावसायीको प्रवेशलाई संयोग मात्र मान्न सकिन्न’

एनटीसी विगतदेखि नै लगानीकर्ताहरूलाई सुनको अण्डा दिने कुखुरा जस्तो रहेको र अहिले भने एकैचोटी सबै अण्डा खाउँ भनेर कुखुरा काट्न लागेको जस्तो देखिएको नेपाल दुरसञ्चार राष्ट्रिय कर्मचारी संगठनका केन्द्रिय अध्यक्ष यादव पनेरूले बताएका छन् । 

अर्थ संसारको कार्यक्रम अर्थ संसार विशेषमा कुराकानी गर्दै उनले भने, "एनटीसी विगतदेखि नै लगानीकर्ताहरूलाई सुनको अण्डा दिने कुखुरा जस्तो थियो । अहिले भने एकैचोटी सबै अण्डा खाउँ भनेर कुखुरा काट्न लागेको जस्तो देखिएको छ । भन्न खोजेको अब हामी बोनसको परम्परामा गयौँ । बोनसको परम्परामा गइसकेपछि त्यसलाई निरन्तरता दिनुपर्छ । निरन्तरता दिँदा भोलि हाम्रो आम्दानी कस्तो रहन्छ, ईपीएस हामी कायम राख्न सक्छौँ की सक्दैनौँ र हामीले बोनसबाट पुँजी वृद्धि गरेको जुन रकम छ त्यसलाई हामीले संरक्षित योजना बनाएर कहाँ गएर लगानी गर्ने त्यसको प्रतिफल कस्तो ल्याउने केही पनि प्लान छैन । बीना प्लान कतिसम्म हाम्रो लगानी बनाउने यो एकाएक आयो ।"

२०७२ सालतिर १७ अर्बमा रहेको खुद नाफा अहिले साढे ७ अर्बमा आएको उदाहरण दिँदै उनले अहिले एनटीसीको रेभिन्यूहरू घटिरहेको बताए । १७ अर्ब हुँदा बोनस सेयरको चर्चा नगरिएको र नठानिएकोमा आज साढे ७ अर्बमा हुँदाखेरी बोनस सेयर दिनु उचित नदेखिएको उनको तर्क छ । एनटीसीसँग लगानीयोग्य रकम यथेष्ट भएरै टेलिकमको सबै प्राजेक्टमा लगानी गरिसकेर पनि अपर तामाकोशी, त्रिसुली ट्रीबी, एचआईडिसीएल, नागरिक स्टक डिलर जस्ता परियोजनाहरूमा लगानी गरिएकोे उनले बताए । लगानीयोग्य रकमको अभाव नहुँदा बोनस सेयरको घोषणा हुनु भनेको सेयरधनीहरूलाई मात्रै घाटा हुने उनी बताउँछन् ।

विगत १५ वर्षदेखि टेलिकमसँग जोडिएर बसेका सेयरधनीहरूको आगामी वर्षका रकमको सुनिश्चिता गर्न कमर्चारी संगठनले बोनसको विषयमा आवाज उठाएको उनले जानकारी दिए । कम्पनी रेभिन्यूमा घट्दो ट्रेन्डमा गएको अवस्थामा बोनस भनेर क्यापिटल इन्क्रिजमेन्टको प्लान लेराइएको र त्यो क्यापिटल कहाँ प्रयोग गर्ने कुनै योजना नरहेको हुनाले आज हुने लगानीकर्ताहरूलाई मात्रै तत्कालिन फाइदा हुने देखिएको र भोलि टेलिकममा अन्य लगानीकर्ताहरूको आकर्षण नहुने उनी बताउँछन् । 

२० प्रतिशत बोनस दिँदा अर्को वर्ष २० प्रतिशत नाफा आजर्न गर्नैपर्ने हुँदा रिटर्न घट्ने ग्यारेन्टी रहेको उनले दावी गरे । भोलि रिटर्न घट्ने ग्यारेन्टी देख्दादेख्दै बोनस घोषणा गर्न नहुने उनको तर्क छ । नियामक निकायहरूले टेलिकम अपरेटरहरूको चुक्ता पूँजी न्यूनतम यति हुनुपर्छ भनेर तेक्नुपर्ने उनको राय छ । त्यो भन्ने बित्तीकै अरू पनि त्यसमा जानुपर्ने र नेपाल टेलिकमले हामी पूँजी बढाएर यही चीज गर्छौँ तिमीलाई २० प्रतिशत रिटर्न दिँदा खेरी ४० प्रतिशत कमाउने कार्ययोजना हामीसँग छ भन्न सक्नुपर्ने उनको धारणा छ । त्यो अनुसारको योजना आएमा यसको विरोध गर्न नपर्ने उनले बताए ।फिक्सड डिपोजीटको मोडलमा टेलिकमको सेयर रहेकोमा अहिले भने आजै खाऔँ जस्तो गरिएकोमा उनको गुनासो छ । 

कुराकानी कै क्रममा उनले भने, "लगानीकर्ताको आँखाबाट हेर्दा सामान्य भाषामा भन्नुपर्दा बोनस वितरण गर्ने भनेको पूजीँ वृद्धिको लागि हो । यो पूँजी वृद्धि के का लागि बढाउने हो त्यसमा कुनै प्रष्टता आएन । पूँजी बढाउँदैछौँ भने हामी पहिलोपल्ट क्रम भङ्ग गरेर क्यासको सट्टा बोनस दिँदैछौँ किन दिन नमिल्ने अरू संस्थाहरूले दिरहेका छन् साल्ट ट्रेडिङले दियो नागरिक लगानी कोषले दियो भन्ने मात्र लोजीक आइरहेको छ । उनीहरूले त्यो आवश्यकता देखे हामीले टेलिकमको सम्पूर्ण परियोजनाहरूमा लगानी गरेर ५० करोड रूपैयाँ मुद्दतिमा राखिरहेका छौँ । टेलिकम  जस्तो संस्थाले मुद्दतिमा राख्ने हैन । हामीले त लगानीका विविध क्षेत्रहरू हेरेर लगानी गर्न जाने हो ।"

टेलिकमको सञ्चालक समितिले बोनस दिनुभन्दा अगाडि योजना बनाउनुपर्ने जरूरी रहेको उनले बताए । कार्ययोजना नबनाई अन्धाधुन्ध हिसावले बोनस सेयर प्रस्ताव गरिएको भएर आफूहरू यसको विरोध गर्न बाध्य रहेको उनी बताउँछन् ।

एनटीसीमा खेलाडी खेल्नु स्वभाविक, यो नै बजारको सुन्दरता होः अम्बिका पौडेल

सर्वसाधारण सेयरधनीहरूका तर्फबाट प्रतिनिधित्व गर्ने टेलिकमका सञ्चालकले नै सेयरधनीहरूलाई गरिएको वाचा अनुरूप नै सञ्चालक समितिबाट निर्णय गराएकोमा सर्वसाधारणप्रति उनको जवाफदेहिता देखिएको भन्दै यस विषयमा आफूले अन्यथा नलिएको उनले बताए ।  त्यो सँगसँगै उनले टेलिकमको नाफ बढाउन के गर्ने भन्ने भूमीका निर्वाह गरेको भए अझ बढी सान्दर्भिक हुने उनी बताउँछन् । 

एनटीसीकाे बाेनस घाेषणा, इन्साइडर ट्रेडिङ र कर्मचारीहरूकाे विराेधकाे बारेमा सबै कुरा थाहा पाउन तलकाे भिडियाे हेर्नुहाेस् :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको