Like us!
Follow us!
Connect us!
Watch us!

ठूलो संख्यामा आईपीओ ल्याउने सम्भावना भएका यी ५ बीमा कम्पनी, कुनको के छ अवस्था ?

अर्थ संसार

विहीबार, १७ चैत्र २०७८, १२ : ०३ मा प्रकाशित

ठूलो संख्यामा आईपीओ ल्याउने सम्भावना भएका यी ५ बीमा कम्पनी, कुनको के छ अवस्था ?

हाल नेपालमा कुल ४१ वटा बीमा कम्पनीहरू सञ्चालनमा छन् । कुल ४१ वटा बीमा कम्पनीमध्ये, १९ वटा लाइफ इन्स्याेरेन्स, २० वटा नन लाइफ इन्स्याेरेन्स र २ वटा रि इन्स्याेरेन्सहरू रहेका छन् । दाेश्राे बजारमा इन्स्याेरेन्सहरूकाे उपस्थितीकाे बारेमा कुरा गर्नुपर्दा हाल नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा १२ वटा लाइफ इन्स्याेरेन्स, १८ वटा नन लाइफ इन्स्याेरेन्स र एउटा रि इन्स्याेरेन्स सूचिकृत छ । 

बीमा समितिकाे चैत्र १० गते, बिहीबार बसेकाे सञ्चालक समितिकाे बैठकले बीमा कम्पनीहरुको चुक्ता पूँजी वृद्धि गरी जीवन बीमा कम्पनीको चुक्ता पूँजी ५ अर्ब र निर्जीवन बीमा कम्पनीको चुक्ता पूँजी २ अर्ब ५० कराेड पुर्याउन निर्देशन दिएकाे छ । यसअघि जीवन बीमा कम्पनीको चुक्ता पूँजी २ अर्ब रुपैयाँ र निर्जीवन बीमा कम्पनीको चुक्ता पूँजी १ अर्ब रुपैयाँ रहेको थियो । बीमा समितिले चुक्ता पूँजी २०७९ साल चैत्र मसान्तसम्ममा ताेकिए अनुसारकाे पूँजी कायम गरिसक्नुपर्ने र निर्धारित पूँजी उपरोक्त समयावधिभित्र पुर्याउन नसक्ने कम्पनीहरुले “बीमक गाभ्ने, गाभिने तथा प्राप्ति गर्ने सम्बन्धी निर्देशिका, २०७६” बमोजिम हुनेगरी पूँजी कायम गर्नुपर्ने निर्देशन दिएकाे छ ।

नेप्सेमा सूचिकृत १२ लाइफ इन्स्याेरेन्स : कुनलाई कति चाहिन्छ थप पूँजी ?

जीवन बीमा कम्पनीहरूकाे कुरा गर्नुपर्दा कुल १९ वटा लाइफ इन्स्याेरेन्समध्ये राष्ट्रिय बीमा संस्थान र सर्वसाधारणलाई आईपीओ निष्कासन गर्न बाँकी रहेका ५ जीवन बीमा कम्पनी बाहेक सबैले अहिले हुनुपर्ने न्युनतम चुक्ता पूँजी २ अर्ब पुर्याइसकेका छन् । मेट लाइफ इन्स्योरेन्सले भने हालसम्म चुक्ता पूँजी खुलाएको छैन । नेप्सेमा सूचिकृत १२ वटा लाइफ इन्स्याेरेन्सहरूमध्ये नेपाल लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे पूँजी बीमा समितिले ताेकेकाे भन्दा धेरै नै छ । त्यसैले, यस कम्पनीकाे पूँजी वृद्धि गर्न जरूरी छैन । बाँकी ११ वटा लाइफ इन्स्याेरेन्समध्ये, सबैभन्दा धेरै पूँजी वृद्धि गर्नुपर्नेमा प्रभु लाइफ इन्स्याेरेन्स र सानिमा लाइफ इन्स्याेरेन्स रहेका छन् । दुवै कम्पनीकाे हालकाे चुक्ता पूँजी २ अर्ब रूपैयाँ रहेकाे छ । सबैभन्दा कम पूँजी वृद्धि गर्नुपर्नेमा नेशनल लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेड रहेकाे छ । कम्पनीकाे हालकाे चुक्ता पूँजी ४ अर्बमाथि छ ।

ठूलो संख्यामा आईपीओ ल्याउने सम्भावना भएका यी ५ जीवन बीमा कम्पनी

५ वटा जीवन बीमा कम्पनीहरूले सर्वसाधारणलाई आईपीओ निष्कासन गर्न बाँकी नै छ । ती हुन् : रिलायबल नेपाल लाइफ इन्स्याेरेन्स, सिटीजन लाइफ इन्स्याेरेन्स, महालक्ष्मी लाइफ इन्स्याेरेन्स, सन नेपाल लाइफ इन्स्याेरेन्स र आइएमई लाइफ इन्स्याेरेन्स । यी ५ वटै कम्पनीले साधारण सभाबाट आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गरिसकेका छन् । 

हाल रिलायबल नेपाल लाइफ इन्स्याेरेन्सकाे चुक्ता पूँजी एक अर्ब ४० कराेड रूपैयाँ रहेकाे छ । रिलायबल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले अंकित मूल्य १०० रूपैयाँमा थप ११२ रूपैयाँ प्रिमियम थपेर प्रतिकित्ता २१२ रुपैयाँ अंकित दरमा ६० लाख कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि साउन १२ सेबाेनमा निवेदन पेश गरिसकेकाे छ । कम्पनीकाे उक्त साधारण सेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम सिभिल क्यापिटल मार्केट लिमिटेडले गर्नेछ । 

यसैगरी, आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडकाे हालकाे चुक्ता पूँजी एक अर्ब ४० कराेड रूपैयाँ रहेकाे छ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रतिकित्ता १०० रुपैयाँका दरले ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता साधारण सेयर (आईपीओ) निष्कासन गर्न जेठ ३१ गते बोर्डमा निवेदन पेश गरिसकेको छ । आईपीओ निष्कासनको लागि कम्पनीकाे बिक्री प्रबन्धकमा सिभिल क्यापिटल रहेको छ ।

सिटीजन लाइफ इन्स्याेरेन्सकाे अहिलेकाे चुक्ता पूँजी एक अर्ब ७५ कराेड रूपैयाँ रहेकाे छ । कम्पनीले साधारण सभाबाट आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गरिसकेकाे छ तर सेबाेनमा भने निवेदन दिइसकेकाे छैन ।

महालक्ष्मी लाइफ इन्स्याेरेन्स र सन नेपाल लाइफ इन्स्याेरेन्स दुवै कम्पनीकाे हालकाे चुक्ता पूँजी  एक अर्ब ४० कराेड रूपैयाँ रहेकाे छ । 

बीमा समितिले जीवन बीमा कम्पनीहरूकाे चुक्ता पूँजी ५ अर्ब पुर्याउन निर्देशन दिएकाे छ । यस हीसाबमा चुक्ता पूँजी पुर्याउनका लागि यी कम्पनीहरूले ठूलाे संख्यामा आईपीओ ल्याउने सम्भावना रहेकाे छ । 

पूँजी बढाउन हकप्रदको बाटो पनि खुल्ला छ, 'क्यापिटल प्लान' हेरेर निर्णय लिन्छौं : बीमा समिति 

बीमा समितिले बीमा कम्पनीहरूकाे 'क्यापिटल प्लान' हेरेर निर्णय लिने बताएकाे छ । अहिले आईपीओ निष्कासन गर्न बाँकी ५ वटा बीमा कम्पनीहरूले पनि पूँजी वृद्धि गरिसकेर आईपीओ निष्कासन गर्न सक्नेछन् । आईपीओ निष्कासन गर्न बाँकी रहेका बीमा कम्पनीहरूले पनि २०७९ चैत्र मसान्तभित्र ताेकिए अनुसारकाे पूँजी वृद्धि गरिसक्नुपर्ने बीमा समितिकाे निर्देशन छ । त्यसैले अब जति सक्दे छिट्टै यी कम्पनीरूले पूँजी वृद्धिकाे निर्णय लिइसक्नुपर्छ । 

 आईपीओ निष्कासन गर्न बाँकी रहेका बीमा कम्पनीहरूलाई पूँजी वृद्धि गर्न दुई वटा बाटाे खुल्ला छ । एउटा तरिका भनेकाे संस्थापकहरुले पहिला पूँजी थपेर सर्वसाधारणमा पनि पूँजी रकम बढाएर आईपीओ निष्कासन गर्न  र यसाे नभएमा अर्काे विकल्प भनेकाे मर्जर तथा एक्विजीसन हाे । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको