पेट्रलियम व्यबसायीबीच व्यबसायीले उठाएका मागका विषयमा सहमति कायम भएको छ । सोही सहमति अनुसार पेट्रोलियम ढुवानी व्यबसायी महासंघले सार्वजनिक गरेका सबै विरोधका कार्यक्रम फिर्ता लिएको छ ।
उनीहरुले ढुवानीको कमिशनका विषयमा उठाएको विषयमा सात दिन भित्र निश्कर्षमा पुग्ने सहमति भएसँगै सबै विरोधका कार्यक्रम फिर्ता लिइएको र भोलिबाट पेट्रोलियम विक्री वितरण सहज हुने भएको छ ।
यस्ता छन् सहमतीका बुँदाहरुः
१. आज मिति २०७८/१२/१९ गते शनिवार निगमको केन्द्रीय कार्यालय, टेकुमा राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिले मिति २०७८/११/२३ मा निगम समक्ष पेस गरेको मागहरूका सम्बन्धमा निगम व्यवस्थापन र समन्वय समितिका पदाधिकारीहरू बिच भएको वार्ता तथा छलफलमा भएको सहमति बमोजिम पेश गरिएका मागहरू मध्ये बँदा नं. ५ मा रहेको पेट्रोलियम विक्रेता कमिशन सम्बन्धी र बुंदा नं. ६ को एल.पी. ग्यासको ढुवानी भाडा समायोजन सम्बन्धी मागको सम्बन्धमा ७ (सात) दिन भित्र उचित निष्कर्ष निकाल्ने तथा अन्य पेट्रोलियम कारोबारसँग सम्बन्धित मागको सम्बन्धमा जेष्ठ १५ (पन्ध्र) सम्ममा सक्ने गरी आवश्यक कार्य गर्ने सहमति भयो ।
२. आन्दोलनरत नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएशन, नेपाल एल.पी.ग्यास उद्योग संघ र नेपाल पेट्रोलियमढ़वानी व्यवसायी महासंघले सार्वजनिक गरेका सबै विरोधका कार्यक्रमहरू आजैको मितिदेखि स्थगन गरी पेट्रोलियम पदार्थ तथा एल.पी. ग्यासको ढुवानी तथा बिक्री वितरणको कार्यलाई यथावत् रूपमा सञ्चालन गर्ने सहमति भयो ।
३. पेट्रोलियम पदार्थका उपभोक्ताहरूलाई सहज र सरल ढङ्गले पेट्रोलियम पदार्थ उपलब्ध गराउन निगमका सम्पूर्ण डिपो कार्यालयहरू भोलि मिति २०७८/१२/२० गते आइतवार विहान ८:०० बजेबाट नै सञ्चालन गरिने ब्यहोरा जानकारी गराउँदछौं ।
४. हाल गर्मीयाम सुरू भई सकेकोले अत्यन्त प्रज्वलनशील पेट्रोलियम पदार्थ आवश्यक परिमाणमा मात्र
खरीद गर्नुहुन एवं अनावश्यक सञ्चिति नगरिदिनु हुन समेत आम उपभोक्तावर्गमा अनुरोध गर्दछौं ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस