Like us!
Follow us!
Connect us!
Watch us!

होटलमा काम गर्ने मजदुरहरुले सरकारले बढाए अनुसारको पारिश्रमिक प्राप्त गर्ने

अर्थ संसार

मंगलबार, ०६ बैशाख २०७९, १५ : ३७ मा प्रकाशित

होटलमा काम गर्ने मजदुरहरुले सरकारले बढाए अनुसारको पारिश्रमिक प्राप्त गर्ने

होटलमा काम गर्ने मजदुरहरुले नेपाल सरकारले बढाए अनुसारको न्यूनतम पारिश्रमिक प्राप्त गर्ने निश्चित भएको छ । कोरोना महामारीका कारण होटल व्यवसाय नचलेको भन्दै कतिपय होटलमा बढेको न्यूनतम पारिश्रमिक कार्यान्वयनमा आएको थिएन ।

सोमबार होटल संघ नेपाल (हान) र कर्मचारीसँग सम्बन्धित विभिन्न ट्रेड युनियनहरुबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सो सहमति अनुसार नेपाल सरकारले वृद्धि गरेको पारिश्रमिकलाई लागू गरिने भएको हो ।

सोमबार होटल संघ नेपालका अध्यक्ष सृजना राणाको अध्यक्षतामा संघका पदाधिकारी तथा पर्यटन तथा होटलसँग सम्वद्ध तीनवटै क्रियाशील केन्द्रीय स्तरका ट्रेड युनियनका अध्यक्ष र प्रतिनिधिबीचको संयुक्त बैठकपछि सहमति जुटेको हो ।

सम्झौता अनुसार २८ असार २०७७ र १३ माघ २०७७ मा होटल संघ नेपाल र मजदुर युनियनबीच भएको सम्झौता तत्कालीन परिस्थिति र समय अनुसार मनासिव रहेको उल्लेख गरिएको छ । सो सम्झौतामा उल्लेख भएका विषयहरुमा विवाद नगर्ने, विवाद भएमा वा रहेमा सम्झौता बमोजिम हुने गरी सहमति जुटेको छ । 

सञ्चालनमा आएका होटलका लागि ११ चैत २०७६ भन्दा अगाडि श्रमिक तथा कर्मचारीले प्राप्त गरेको तलव भत्ता, सेवासुविधा तथा सामूहिक सम्झौताबाट प्राप्त गरिएका सुविधाहरु उपलब्ध गराउने सहमति जुटेको हो ।

कारोबार सञ्चालनमा नआएका होटल, बन्द तथा पुनर्निर्माणमा रहेका होटल र आंशिक सञ्चालनमा आएका होटल प्रतिष्ठानहरुको हकमा स्थानीय आधिकारीक युनियन वा क्रियाशिल ट्रेड युनियन र व्यवस्थापन बीचमा हुने आपसी सम्झौता बमोजिम हुने समेत सहमति भएको छ ।

होटल प्रतिष्ठान र श्रमिक तथा कर्मचारीहरु बीचमा विगतमा भए गरेका वा भविष्यमा हुने सम्झौताहरुको हकमा कुनै श्रम विवाद उत्पन्न हुन गएमा केन्द्रीय ट्रेड युनियन र होटल संघ नेपाल मार्फत समस्याको समाधान गरिने समेत सम्झौतामा उल्लेख छ । 

भविष्यमा कुनै भवितव्य वा अकल्पनीय घटना वा कावुबाहिरको परिस्थिति सिर्जना हुन गएमा तत्कालै केन्द्रीय ट्रेड युनियन र होटल संघ नेपालको बैठक बसी छलफल र आपसी सहमति मार्फत त्यसबाट उत्पन्न भएका समस्याको समाधान गरिने सम्झौता भएको छ ।

बन्दाबन्दीको अवस्थामा भएका सम्झौताहरु कार्यान्वयन नभएका होटल तथा प्रतिष्ठानहरुले कार्यान्वयन गर्ने र सेवा शुल्क प्रतिष्ठानहरुले काममा बोलाएका वा नबोलाएका सम्पूर्ण श्रमिकहरुलाई दामासायी रुपमा सबैलाई वितरण गर्ने समेत सहमति जुटेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको