Like us!
Follow us!
Connect us!
Watch us!

१ अर्बमा खुम्चिएको बजारमा ३/४ अर्बको कारोबार हुनुको रहस्य यस्तो, असार मसान्तलाई विशेष फोकस !

बसन्त पाण्डे

मंगलबार, २१ असार २०७९, १८ : २३ मा प्रकाशित

१ अर्बमा खुम्चिएको बजारमा ३/४ अर्बको कारोबार हुनुको रहस्य यस्तो, असार मसान्तलाई विशेष फोकस !

धेरैपछि सेयर कारोबार रकममा तेजी आएको छ। यसअघि २७ मार्चमा ४ अर्बभन्दा धेरै रकमको कारोबार भएको थियो। त्यतिबेला नेप्से परिसूचक २६०० को आसपास थियो। करिब ४ महिनापछि हिजो सोमबार  नेप्सेमा ४ अर्ब माथिको कारोबार भयो। त्यस्तै आज पनि ३ अर्ब हाराहारीको कारोबार भएको छ। केहि अघिसम्म १ अर्बको हाराहारीमा खुम्चिएको कारोबार अहिले  ३/४ अर्बको हाराहारीमा हुनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ।  

किन बढ्यो कारोबार रकम ?

करिब २ साताअघि नेप्से परिसूचक १८०७ को बिन्दुसम्म झरेको थियो। गत भदौमा ३२२७ को बिन्दुसम्म पुगेको नेप्से परिसूचक १८०७ सम्म झर्दा १४२० अङ्कको गिरावट आएको हो। करिब १० महिनाको अवधिमै ४४% ले बजार घट्नुलाई निकै घटेको मानिन्छ। यसरी बजार उच्च अङ्कले घट्दा सानामात्र नभएर ठूला तथा संस्थागत लगानीकर्ताहरुलाई पनि निकै ठूलो घाटा छ। कतिपय बैंक/वित्तिय संस्था तथा बिमा कम्पनीहरुले पनि बजार माथितिर हुँदा ठूलो परिमाणमा सेयर खरिद गरेका छन्। २९८३ को बिन्दुबाट बजार घट्दै तलतिर आउँदा २६०० देखि २५०० को बिन्दुमा संस्थागत लगानीकर्ताहरुले पनि ठूलै परिमाणमा खरिद गरेका थिए। स्थानिय तहको निर्वाचन सम्पन्न भईसकेपछि तरलता बढ्ने र रिटेल लगानीकर्ताहरुको मनस्थिति सकारात्मक बन्ने विश्लेषण गर्दै २३०० देखि २३५० को बिन्दुमा अर्को लटको खरिद गरेका बैंक, बिमा कम्पनीहरु तथा म्युचुअल फन्डहरुलाई पनि निकै घाटा छ।  

बजार २१००/२००० भन्दा तल नजाने ठूला लगानीकर्ताहरुको अपेक्षा विपरित १८०० कै बिन्दुमा बजार खसेर सेयरमूल्य निकै सस्तो लेभलमा आयो। लगानीकर्ताहरुले गरेको आन्दोलनको सफलतापुर्वक ल्याण्ड भएको, संसदमा पनि सेयर बजारको बारेमा जोडतोडका साथ कुरा उठेको र राष्ट्र बैंकका पूर्व गभर्नरहरुले पनि सेयर बजार अत्याधिक घटिसकेको हुँदा अब सेयर बजारलाई रेस्क्यु गर्नै पर्ने अवस्था आईसकेको अभिव्यक्ति दिन थालिसकेपछि यतिबेला हामीले किन्यौं भने रिटेल लगानीकर्ताहरुमा पनि सकारात्मक सेन्टिमेन्ट क्रियट गर्न सकिन्छ भन्ने विश्लेषणसहित म्युच्युअल फन्ड र संस्थागत लगानीकर्ताहरुले खरिदको मात्रा बढाए। 

यता ब्रोकरहरु पनि बजारमा फसेका थिए। आफूले खरिद गरेको सेयरको मूल्य घटिरहेको पिडा छँदै थियो, उधारोमा सेयर खरिद गरेका ग्राहकहरुले तिर्नुपर्ने रकम पनि थुप्रै भैसकेको थियो। यो अवस्थाबाट मुक्ति पाउन बजार बढाउनै पर्ने वाध्यता ब्रोकरहरुलाई पनि थियो। 
यो पृष्ठभूमिमा वित्तिय संस्थाहरु, बिमा कम्पनीहरु, म्युच्युअल फन्डहरु, ब्रोकर कम्पनीहरु तथा ठूला लगानीकर्ताहरु सबैले एकैपटक खरिद चाप बढाउँदा १८०० को बिन्दुमा झरेको बजार दुई साताभित्रै १९% ले बढेर २१४७ सम्म पुग्यो। बजार बढ्दै जाँदा रिटेल लगानीकर्ताहरुले पनि सेयर खरिदको क्रम बढाए जसले ४ अर्बको हाराहारीमा कारोबार हुने वातावरण बन्यो।  

आर्थिक वर्षको अन्तिमसम्मको डेटाको आधारमा बैंक,  विकास बैंक, फाइनान्स कम्पनीहरुले महँगो मूल्यमा खरिद गरेको सेयरमा भएको घाटाको शतप्रतिशत प्रोभिजनिंग गर्नुपर्ने हुन्छ। बिमा कम्पनीहरुले पनि सेयरमा घाटा भएको रकम बराबरको पैसा प्रोभिजन गर्नुपर्ने हुन्छ। ठूलो रकम प्रोभिजनिंग गर्नुपर्ने अवस्था आयो भने नाफा घट्छ। ठूलो रकम प्रोभिजनिंग गर्नुपर्ने देखिएपछि बैंक तथा बिमा कम्पनीहरुले एक आपसमा सल्लाह गरेर तल्लो लेभलमा बजार रहँदै गर्दा एभ्रेजिंग गरेर लागत घटाउने र मसान्तसम्ममा बजारलाइ माथि लैजाने रणनीति बनाएको बुझिएको छ। एभ्रेजिंग गरेर कस्ट घटाईसकेपछि बजार माथिल्लो लेभलमा पुग्दा घाटा नै नहुने वा भए पनि निकै कम हुने विश्लेषण संस्थागत लगानीकर्ताहरुले गरेका छन्। यता म्युच्युअल फन्डहरु पनि निकै घाटामा छन्। उनीहरुको नेट एसेट भ्यालु (न्याभ) घटेको छ भने कतिपयको न्याभ त अंकित मूल्यभन्दा पनि तल आईसकेको छ।

१८०० देखि २००० को रेञ्जमा हुँदै गर्दा ठूलो मात्रामा एभ्रेजिंग गरेर लागत घटाएका बैंक वित्तिय संस्थाहरु असार मसान्तमा बजार माथिल्लो लेभलमै पुर्याउन चाहन्छन। बजार १९०० को बिन्दुतिर हुँदा अब बजार कसरी बढाउने भनेर आफूसँग छलफल गर्ने क्रममा एक म्युच्युअल फन्डका सीईओले असार मसान्तसम्ममा नेप्से परिसूचक २४०० माथि लैजानै पर्ने अवस्था रहेकोले सहकार्य गरेर अघि बढ्न प्रस्ताब गरेको कुराको खुलासा एक ठूला लगानीकर्ताले गरे। बैंक र बिमा कम्पनीहरु पनि तयारी अवस्थामा रहेकाले बजारलाई सजिलै माथि लैजान सकिने पनि निज सीईओले बताएको उनले खुलाए। 

४/१२ को लोन सेटल गर्न खासै बाँकी नरहेकाले त्यति ठूलो सेलिङ्ग प्रेसर नआउने विश्लेषण संस्थागत लगानीकर्ताहरुको छ। ऋण तिर्न सेयर बेच्नुपर्नेहरुले पनि २२/२३ गतेसम्ममा सेयर बेचीसक्ने हुँदा २२/२३ गतेसम्म अलिक सेलिङ्ग प्रेसर आउन सक्ला, त्यसलाई थेग्न सकियो भने बजार सजिलै माथि जाने विश्लेषण गर्दै सोहि अनुसारको रणनीति बनाईएको एक ठूलो ब्रोकर हाउसका व्यवस्थापन तहका कर्मचारीले बताए। '२१०० को लेभलबाट सेलिङ्ग प्रेसर आउन सक्छ भन्ने अनुमान पहिल्यै गरिएको थियो, बेच्नुपर्नेहरुले हिजो र आज बेचिसके। अब भोलि पनि केहि सेलिङ्ग प्रेसर आउला तर बजार २००० भन्दा तल जान दिंदैनन। २००० को लेभलबाट उचालेर बजारलाई २४०० माथि लैजाने योजना पहिले देखिकै हो। उनीहरुको मूख्य फोकस असार मसान्तलाई हो। असार मसान्तसम्ममा बजार निकै माथि पुग्नेछ।' ती कर्मचारी विश्वस्त देखिए।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको