Like us!
Follow us!
Connect us!
Watch us!

१० कित्ते नीतिकै कारण बजारमा नयाँ लगानीकर्ताहरु फसेका हुन् त ?

अर्थ संसार

मंगलबार, ०३ साउन २०७९, १५ : ३३ मा प्रकाशित

१० कित्ते नीतिकै कारण बजारमा नयाँ लगानीकर्ताहरु फसेका हुन् त ?

डा. रेवत बहादुर कार्कीको कार्यकालमा धितोपत्र बोर्डले धितोपत्रको प्राथमिक निष्काशन (आईपीओ) मा सर्वसाधारण लगानीकर्ताले १० कित्ताको लागि पनि आवेदन दिन सक्ने नीति ल्यायो। न्युनतम १० कित्ताको लागि पनि आवेदन दिन सकिने व्यवस्थाले सेयर बजारमा आम लगानीकर्ताको आकर्षण बढ्यो र लगानीकर्ताहरुको संख्या पनि व्हात्तै बढ्यो। आईपीओमा १० कित्ते नीति लागू हुनुअघि धेरै कित्ताको लागि आवेदन दिनेले धेरै सेयर पाउँथे। तर १० कित्ते नीति पछि प्रकृया पुर्याएर आवेदन दिने सबैलाई पहिले १० कित्ता बाँडफाँड गर्ने र त्यसपछि बाँकी रहेको कित्तालाई दामासाहीका दरले बाँडफाँड गर्न थालियो। 

धितोपत्र बोर्डले १० कित्ते नीति लिएसंगै प्राय: लगानीकर्ताहरुले सो नीतिको स्वागत गरे।  कतिपयले भने यसले बजारलाई बिगार्ने भन्दै यो नीति खारेज गरिनुपर्ने तर्क अघि सारे। अहिले फेरी आईपीओमा १० कित्ते नीति ठिक हो कि होईन भन्ने बहस छेडिएको छ।  

केहि दिनअघि बजारका ठूला खेलाडी भनेर चिनिने अम्बिका प्रसाद पौडेलले अहिले बजारमा धेरै लगानीकर्ताहरु डुब्नुमा १० कित्ते नीतिको ठूलो भूमिका रहेको बताएसंगै अहिले यो विषय चर्चामा छ। १० कित्ते नीतिले धेरै सर्वसाधारणले आईपीओमा कमाएपछि त्यसको स्वादले दोश्रो बजारमा छिरेको र सेयर बजारको बारेमा राम्ररी बुझ्दै नबुझी दोश्रो बजारमा छिरेको यो भिड नराम्ररी डुबेको भन्दै उनले आईपीओको १० कित्ते नीतिलाई बच्चालाई अभिभावकले चुरोट सल्काएर ल्याउन लगाउँदा लगाउँदै चुरोटको आदत लाग्ने कुरासंग तुलना गरेका थिए। 

स्थानीयलाई हाइड्रोपावरको सेयर बाँड्दा पनि आफूले ती लगानीकर्ताको लगानीको सुरक्षाको व्यवस्था गर्न सुझाव दिएको बताउँदै पौडेलले अहिले रेमिट्यान्स पठाउने नेपालीहरुलाई आईपीओमा कोटा दिने नीतिले थप समस्या निम्त्याउने विचार व्यक्त गरेका हुन्। दुनियाँमा कतै पनि यसरी कोटा छुट्टयाउने चलन नभएको भन्दै उनले सेयर बजार सबैका लागि नभएको पनि बताए। सेयर बजारलाई समावेशी बनाउने कुरा निकै अव्यवहारिक रहेको बताउँदै उनले सेयर बजार भनेको छिर्न सजिलो र नाफा बनाएर निस्किन अत्यन्तै गाह्रो विषय रहेको बताएका थिए। 

यता नेपाल पुँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेल भने यो कुरामा सहमत छैनन। प्राथमिक निष्काशनमा १० कित्ते नीतिले धेरै सर्वसाधारण लाभान्वित भएको बताउँदै उनले आफूहरुले पहिलेदेखि नै यो नीतिको समर्थन गरेको र यो नीतिले पुँजीबजारमा सहभागिता बढाएको विचार व्यक्त गरिन। आईपीओमा कमाएको देखेर धेरै लगानीकर्ता दोश्रो बजारमा लागेको लहै लहैमा दोश्रो बजारमा लाग्नेले ठूलो रकम गुमाएको भन्ने तर्कको खण्डन गर्दै उनी भन्छिन, 'फेल भईन्छ भनेर पढ्दै नपढ्नु र यो तर्क उस्तै हो।'

स्वतन्त्र पुँजीबजार संघका अध्यक्ष रोहन कार्की १० कित्ते नीतिका केहि खराबी भएतापनि यसका धेरै सकारात्मक पक्षहरु रहेको बताउँछन। यो नीतिले के के फाइदा गर्यो र के के बेफाइदा गर्यो भन्ने बहसको विषय बन्न सक्ला तर यहि नीतिकै कारणले धेरै सर्वसाधारणले सेयर बजारबाट थोरै भएपनि कमाएको बताए। 'बजारमा अहिले जुन किसिमको सहभागिता देखिएको छ, त्यो सहभागिता हुनुको पछाडी १० कित्ते नीतिको ठूलो हात छ', कार्की भन्छन।  

त्यस्तै नेपाल इन्भेस्टर्स फोरमकी महासचिव दुर्गा तिवारी आफूहरुले पहिले देखि नै १० कित्ते नीतिको स्वागत गरेको बताउँछन। सो नीतिले सेयर बजार थोरै पैसा भएकाहरुको पनि हो है भन्ने भावनाको विकास गराएको बताउँदै उनले चुरोटको लत र सेयर बजारमा लगानी गर्ने बानी एउटै नभएको बताइन। कम्पनी नै डुब्यो भने अलग्गै कुरा हो तर सेयर बजारमा गरिएको लगानी आज घाटामा गए पनि दिर्घकालमा त्यसमा नाफा नै हुन्छ भन्दै आईपीओमा १० कित्ते नीति राम्रो रहेको र त्यसको निरन्तरता हुनुपर्ने उनी बताउँछिन। आइपीओले सेकेण्डरीमा छिर्न हौस्यायो र सेकेण्डरीले डुबायो भन्ने तर्कप्रति लक्षित गर्दै उनी भन्छिन, 'दुर्घटना हुन सक्छ भन्दैमा गाडी नै नचलाउने कुरा त आउंदैन नि!'

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको