Like us!
Follow us!
Connect us!
Watch us!

एचआईडिसीएल प्रोमोटर सेयर: किन भएन निर्देशन कार्यान्वयन ? अहिले कसरी खरिद बिक्रि गर्न सकिन्छ HIDCLP?

अर्थ संसार

सोमबार, २० भदौ २०७९, १६ : ५६ मा प्रकाशित

एचआईडिसीएल प्रोमोटर सेयर: किन भएन निर्देशन कार्यान्वयन ? अहिले कसरी खरिद बिक्रि गर्न सकिन्छ HIDCLP?

मिति २०७९/०५/१४ का दिन नेपाल स्टक एक्सचेन्जले हाइड्रोइलेक्ट्रिसिटि इन्भेस्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (HIDCL )को  नाममा लेखेको एक पत्र सार्वजनिक भयो जसमा HIDCL को संस्थापक सेयर HIDCLP दोश्रो बजारमा साधारण सेयरहरु सरह नै कारोबार हुने व्यवस्था मिलाइने कुरा उल्लेख गरिएको थियो। तर आज भाद्र २० भईसक्दा पनि सो व्यवस्था हुन सकेको छैन। अहिले पनि HIDCLP खरिद बिक्रि गर्न ब्रोकरकै भर पर्नुपर्ने अवस्था छ।

एचआईडिसीएलले केहि समय अघि जारी गरेको हकप्रदमा केहि कित्ता सर्वसाधारण सँगै ३ करोड ३० लाख कित्ता संस्थापक सेयर पनि बिक्रि हुन सकेको थिएन। यसअघिको लिलामी मार्फत सर्वसाधारण तर्फको सबै कित्त्ता बिक्रि भएता पनि संस्थापक तर्फको २ करोड ३२ लाख कित्ता सेयर अझै बिक्रि हुन सकेको छैन। कम्पनीले भदौ २० बाट सोहि बाँकी रहेको २ करोड ३२ लाख कित्ता सेयर बिक्रि गर्नका लागि लिलामी बोलपत्र आह्वान गरेको छ। न्यूनतम १०० रुपैयाँलाई आधार मानेर न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि लिलाम बढाबढमा शिलबन्दी बोलपत्र पेश गर्न सकिनेछ। लिलामीमा आवेदन गर्न इच्छुक व्यक्ति, संस्था वा कम्पनीले आवेदन दिन सक्ने व्यवस्था गरिएको छ। 

किन भएन निर्देशन कार्यान्वयन ?

नेप्सेले प्रणाली संचालन शाखालाई १४ गते नै दिएको निर्देशन साता दिन बितिसक्दा पनि कार्यान्वयनमा नआउँदा लगानीकर्ताहरु मर्कामा परेका छन्। बजारमा फ्रिली ट्रेड गर्न मिल्ने भनेर लिलामी बोलपत्र आह्वान गरी सेयर बिक्रि गरिसकेपछि अहिले आएर अन्य साधारण सेयर सरह बिक्रि गर्न नपाइसकेपछि लगानीकर्ताहरु निकै समस्यामा परेका छन्।  

नेप्सेका सीईओ कृष्ण बहादुर कार्की आफूले यो कुरालाई गम्भीरता पूर्वक लिएको बताउँछन्। आफूले आजै मात्र पनि सम्बन्धित कर्मचारीहरुसँग यो विषयमा सोधपुछ गरेको बताउँदै कार्कीले अब २/३ दिन भित्रै सो व्यवस्था कार्यान्वयन गर्न सकिने रिपोर्ट आफूले प्राप्त गरेको बताए। 'केहि प्राविधिक काम हुँदै रहेछ, सम्भवत : २/३ दिन भित्रै एचआईडिसीएलको संस्थापक सेयर अन्य साधारण सेयर सरह टिएमएसबाट सजिलै कारोबार गर्न सकिनेछ। मैले सो व्यवस्था मिलाउन निर्देशन दिईसकेको छु।' उनले थप स्पष्ट पारेका छन्।  

अहिले कसरी खरिद बिक्रि गर्न सकिन्छ HIDCLP?

अहिले पनि HIDCLP  खरिद बिक्रि गर्न खासै गाह्रो भने छैन। आफ्नो ब्रोकरसँग सम्पर्क गरेर टिएमएसबाटै प्रोमोटर सेयर खरिद बिक्रि गर्न मिल्ने बनाउन लगाउन सकिन्छ। ग्राहकले अनुरोध गरेमा केहि मिनेट भित्रै टिएमएसबाटै HIDCLP  खरिद बिक्रि गर्न मिल्ने बनाउन सकिने जानकारी एक ब्रोकर कम्पनीका कर्मचारीले दिए। उनका अनुसार अहिले धेरै ग्राहकहरुले फोन गरेर प्रोमोटर सेयर खरिद बिक्रि गर्न मिल्ने बनाइदिन अनुरोध गर्ने गरेका छन्। 

अहिले नेप्सेमा सुचिकृत १०० रुपैयाँ अंकित मूल्य भएका कम्पनीहरुमध्ये सबैभन्दा सस्तोमा पाइने सेयर हो HIDCLP । आज भदौ २० गते सोमबारका दिन १०५.५० रुपैयाँमा यसको अन्तिम कारोबार भएको छ। सर्वसाधारण समूह अन्तर्गतको HIDCL को आजको अन्तिम कारोबार मूल्य १९३ रुपैयाँ छ। साधारण सेयर सरह नै टिएमएस मार्फत खरिद बिक्रि गर्न सकिने र कम्पनीले दिने लाभांशमा पनि समान अधिकार हुने भएपछी करिब ९० रुपैयाँ महँगोमा HIDCL  किन्नुभन्दा बरु १०५ रुपैयाँतिरै पाइएको HIDCLP किन्नु उचित हुने विश्लेषण प्राय: लगानीकर्ताहरुले गरेको देखिन्छ। त्यसैले HIDCLP मा लगानीकर्ताहरुको आकर्षण पनि बढ्दै गएको देखिन्छ। 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको