प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता (आज )आइतबार हुँदै छ । राजनीतिक दल तथा स्वतन्त्रले प्रत्यक्षतर्फको उम्मेदवारी (मनोनयनपत्र) दर्ता गर्न सक्नेछन्।
निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता आइतबार बिहान १० देखि साँझ ५ बजेभित्र गर्नुपर्ने बताएका छन् । राजनीतिक दल र स्वतन्त्र उम्मेदवारले निर्धारित समयमा आवश्यक कागजपत्रसहित उपस्थित भएर उम्मेदवारी मनोनयनपत्र दर्ता गर्न पर्नेछ।
सम्बन्धित उम्मेदवारले मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयमा उपस्थित भएर उम्मेदवारी मनोनयनपत्र दर्ता गर्नुपर्नेछ । उम्मेदवार स्वयं उपस्थित भएर वा उम्मेदवारका प्रतिनिधि र वारेसनामाबाट मनोनयनपत्र दर्ता गर्न सक्नेछन।
निर्वाचन आयोगले बाढी, पहिरो तथा यातायात अवरोधका कारण कुनै समस्या परेमा राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारलाई सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गर्न सहजीकरण भने गरेको छ । प्रत्यक्षतर्फ देशभरिका कुल १६५ प्रतिनिधि सभा र ३३० प्रदेश सभा निर्वाचन क्षेत्रमा उम्मेदवारी मनोनयनपत्र दर्ता गरिनेछ । आगामी निर्वाचनमा भाग लिन ७६ राजनीतिक दलले निर्वाचन आयोगमा निवेदन दिएका थिए । विभिन्न राजनीतिक दलले एउटै चुनाव चिह्न लिएर चुनावमा जाने भएपछि दलहरूका लागि ६८ वटा चिह्न निर्धारण गरिएको छ ।
निर्वाचन आयोगले प्रत्यक्षतर्फ निर्वाचन प्रयोजनका लागि ७७ स्थानमा मुख्य निर्वाचन अधिकृत र ८८ स्थानमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ । यस पटक एक करोड ७९ लाख ८८ हजार ५७० मतदाताको नामावली सङ्कलन गरिएको आयोगले जनाएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस